चितवन- १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको विश्व पौडेललाई समर्थन

चितवन-१ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्।

तस्वीर : राजेन्द्र बुर्लाकोटीको फेसबुक।

काठमाडौँ- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवन-१ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्।

उनले सो क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवार हुने इच्छा व्यक्त गरे पनि पार्टीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।

उनले जीवनभर कांग्रेसप्रति गरेको त्याग, संघर्ष र मिहिनेतका कारण कांग्रेसको उम्मेदवार हुँदाहुँदै स्वतन्त्र उम्मेदवार बनिरहन नसकेको उल्लेख गर्दै पार्टीले आफूलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले चितवन–१ मा रहेको आफ्नो स्वतन्त्र उम्मेदवारी आजकै मितिदेखि निष्क्रिय भएको घोषणा गरेका छन्।

साथै बुर्लाकोटीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन-१ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गरेका छन्। आजका दिनसम्म आफूलाई साथ र सहयोग गर्ने सम्पूर्णलाई आजकै दिनदेखि कांग्रेसका उम्मेदवार पौडेललाई विजयी गराउन सक्रिय हुन पनि उनले अनुरोध गरेका छन्।