यात्रा

लोमान्थाङको बाटोमा मोटर सररर

मलाई लाग्यो, हामी तिब्बतको पठारमा यात्रा गरिरहेका छौँ। तिब्बती सभ्यतासँग नजिक मानिने यहाँको भूगोल, समाज, संस्कृति र इतिहास निकै महत्त्वपूर्ण छ।

अग्रज पत्रकार हरिहर विरहीले प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई सम्झाउँदै भनेको कुरा म सम्झन्छु–ए शिव, यो क्षेत्रमा सबै उस्तैउस्तै ठाउँ देखिन्छ। एक पटक कसैलाई सोध्नु उचित हुन्छ है, हामी ठीक बाटोमा छौँ कि छैनौँ भनेर बुझ्नुपर्‍यो।

शिवको जवाफ सदाबहार शैलीमा आयो—दाइ शंका लागे सोधौँला केरे। अहिलेसम्म त हामी ठीक ठाउँमै छौँजस्तो लागेको छ। हाम्रो यात्रा क्रमशः अगाडि बढिरहेको थियो। नांगा अग्ला पहाडबीच कच्ची (ग्राभेल) सडकमा गाडीको निरन्तर उकालो यात्रा जारी थियो। विरही दाइको भनाइ थियो–एक पटक कसैलाई सोध्दा त के बिग्रन्छ? अब हाम्रासामु प्रश्न उपस्थित थियो–तर सोध्नु कसलाई? यो सानो प्रश्न त्यस क्षेत्रमा मानिसको अनुपस्थितिका कारण क्रमशः विशाल बनिरहेको बोध हामीलाई भइरहेको थियो। हामीले बाटो किनारमा कृषि कर्म भएको पाएका थियौं। नांगा डाँडाँबीच कतैकतै थोरथार हरियाली। शायद आलुको व्यावसायिक खेती (पकेट एरिया) क्षेत्र थियो त्यो।

हामीले निकै बेरपछि अलि टाढा एक जना व्यक्तिलाई देख्यौँ। हाम्रो गाडी भएको ठाउँबाट निकै टाढा थिए उनी। त्यहाँ जान पनि अप्ठ्यारो हुने अनुभव गर्‍यौँ हामीले। गाडीबाट ओर्लेर शिव अलि परसम्म गए र टाढैबाट तिनलाई बोलाउँदै यो कुन ठाउँ हो र लोमान्थाङ जाने बाटो कुन हो भनेर सोधे। ती व्यक्ति एक छिनमा हामीनजिक आए र भने–तपाइहरू गलत बाटोमा हुनुहुन्छ। यो त डोल्पा जाने बाटो हो। सिधै गए उपल्लो डोल्पो क्षेत्रमा पुग्नुहुन्छ।

हामीले सोध्यौँ–अनि लोमान्थाङ नि? उनको उत्तर थियो–जुन बाटो यहाँसम्म आउनुभयो त्यही बाटो फिर्ता जानुस् र पुल तरेपछि आउने पक्की सडकमा बायाँ लाग्नुस्। दायाँ मोडिनुभयो भने फेरि जोमसोम नै पुग्नुहोला नि। हामी उनकै मार्गनिर्देशनमा अगाडी बढ्यौं। त्यो क्षेत्र त पाक्लिङ, धाकारजुङ, फ्ल्याक भन्ने क्षेत्र रहेछ। नेपालीमा एक उखान छ–आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको। विरही दाइको कुरा नसुनेर हामी सोझै अगाडी बढेको भए डोल्पाको बाटोमा हामी कतै समस्यामा पर्थ्यौं होला। जे होस्, अब भने हामी ठीक बाटोमा थियौं। कालीगण्डकी तरेपछि आएको मूल बाटो हुँदै हाम्रो गाडी लोमान्थाङलाई लक्ष्य बनाएर सररर दगुरिरहेको थियो।

वास्तवमा हाम्रो गाडीमा भएका चालकसहित हामी सबै अर्थात् हरिहर विरही, तारानाथ दाहाल, शिव लम्साल र म, यो बाटोका लागि नयाँ थियौँ। जोमसोमसम्मको यात्रा त प्रायः सबैले गरेका थियौं, तर जोमसोमपछिको उपल्लो मुस्ताङको भूगोलको अनुभूति हामी सबैका लागि नौलो र पहिलो थियो। त्यसो त जोमसोमबाट प्रस्थान गर्ने बेलामा हामीले बाटोबारे सोध्न त सोधेका थियौँ, तर शायद हामीले संकेतहरू बुझ्न सकेनौँ। अलमलमा परियो। मुक्तिनाथबाट फर्केपछि हामी जोमसोमबाट लोमान्थाङका लागि अगाडी बढेका त थियौ, तर अलमलमा परियो र करिब डेढ घण्टा जति विलम्ब हुन पुग्यो। हामीले खाना खाएका थिएनौं। अबको लक्ष्य भोको पेटको समस्या समाधान गर्नु थियो। 

२०८२ सालको पहिलो महिनाको अन्तिम दिन अर्थात् ३० गते। मुक्तिनाथबाट फर्केपछि हामी करिब साढे ११ बजे जोमसोमबाट उपल्लो मुस्ताङका लागि प्रस्थान गरेका थियौं। नेपाल प्रेस युनियनले आयोजना गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलनको आज निकै महत्त्वपूर्ण दिन थियो। काठमाडौँमा २७ गते शुरू भएर यो सम्मेलन पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका, बागलुङको जलजला गाउँपालिका, म्याग्दीको बेनी र गलेश्वर अनि मुस्ताङको मार्फा तथा जोमसोममा विश्राम गर्दै सम्मेलनका प्रायः सबैजसो सहभागीलाई जोमसोममै छोडेर हाम्रो टोली लोमान्थाङ प्रस्थान गरेको थियो।

लोमान्थाङमा आजै घोषणापत्र जारी गरेर सम्मेलनको औपचारिक समापनको कार्यक्रम थियो। मैले आयोजक मध्येका शिव, प्रेम केसी र दिलीप पौडेललाई सम्मेलनका अन्य सहभागीलाई किन जोमसोममै छोडेको हो भन्दै जिज्ञासा राखेको थिएँ। उनीहरूको संयुक्त भनाई थियो–पहिलो त खर्चकै व्यवस्थापन, दोस्रो लोमान्थाङमा वासको समस्या र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कारणचाहिँ अत्यधिक उचाइका कारण स्वास्थ्य जोखिमको सम्भावना। महासचिव दिलीपले भनेका थिए—जोमसोमबाट हाम्रा सहभागीलाई आफ्नो गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको छ। 

साथीहरूको तर्क मलाई ठिकै लागेको थियो। स्वास्थ्यको जोखिम त मैले पनि मोलेकै हो नि। मैले मात्र होइन, अग्रज हरिहर विरही, तारानाथ दाहाल र हरिविनोद अधिकारी सबैले नै जोखिम मोलेका थियौ। हामी सबै नै कम्तीमा ५५ वसन्त कटेका। यात्रामा सहभागी हाम्रो गाडीका चार जनाबाहेक अन्य दुई वटा गाडीमा सवार पत्रकार केसी र पौडेललगायत नकुल अर्याल, टंक अधिकारी, माधव धिताल, पोषनाथ अधिकारी, लोकराज अवस्था र नारायण अधिकारी तुलनात्मक रूपमा सबै नै युवा। सबै जना हामीभन्दा उमेरमा कम। स्वास्थ्यमा जोखिम यस कारण कि एक त फरक तर रुखो भूगोल र अर्को हामीले यात्रा गरिरहेको स्थानको उचाइ क्रमशः बढ्दै जानु। 

हाम्रो यो यात्रा नेपाल–चीन सीमा नाका कोरोलासम्मको थियो। हामीले करिब २७०० मिटर (जोमसोम)बाट ४६०० मिटर (कोरोला)सम्म पुग्नु थियो। हाम्रो आजको रात्रिवास लोमान्थाङमा हुनेवाला थियो र भोलि कोरोला पुग्ने कार्यक्रम थियो। जोमसोमबाट लोमान्थाङ ७३ किलोमिटर र लोमान्थाङबाट कोरोला २० किलोमिटर। जोमसोमबाट प्रस्थान गर्ने समयमा पत्रकार सुशील थकालीले माथि यात्रामा उचाइ बढ्दै जाँदा लेक लाग्न सक्ने खतरा औँल्याएका थिए।

उनले सम्भावित लेक लाग्न सक्ने समस्याबाट बच्न लसुन, अदुवा र खुर्सानी आदि बोक्न सल्लाह दिएका थिए। हामीले उनको सल्लाह मान्ने प्रयास गरेका थियौं। त्यसो त यसअघि मैले मुक्तिनाथ (३७१० मिटर), केदारनाथ (३५८३ मिटर), बद्रीनाथ (३१३३ मिटर) र कालिञ्चोक (३८४२ मिटर) को अनुभव सँगालिसकेको थिएँ। आजको वास हुने स्थान लोमान्थाङ नै ३८५० मिटर उचाइमा अवस्थित थियो। अर्थात् मैले यात्रा गरेको अहिलेसम्मको सर्वाधिक उचाइको कालिञ्चोकभन्दा आठ मिटर बढी। डर त मनमा थियो, तर उत्साह पनि उत्तिकै थियो। रोमरोममा रोमाञ्चको सञ्चार थियो। निकै दिनदेखि पालेर राखेको उपल्लो मुस्ताङ यात्राको सपना साकार हुँदै थियो। म आज कति खुसी थिएँ, बयान गर्न निकै कठिन छ। 

हामी कागबेनी (जोमसोमबाट १० किलोमिटर) भन्दा थारै अगाडी बढेका थियौं। कागबेनीबाटै मुक्तिनाथ र लोमान्थाङ जाने बाटो छुट्टिन्छ। अब यहाँबाट लोमान्थाङ ६३ किलोमिटर दूरीमा छ। साथीहरू कागबेनीनजिकै हामीलाई प्रतीक्षा गरिरहेका थिए। दिउसोको करिब एक बजेको हुँदो हो। साथीहरूको गाडी रोकिएको ठाउँमा हाम्रो गाडी पनि रोकियो। हामी गाडीबाट झर्‍यौं। ओहो, कस्तो तेज गतिको हावा! उभिनै पनि गाह्रो। केही बेरको फोटो सेसनपछि हाम्रा सबै गाडी सँगै अगाडी बढे। नयाँ भूगोल। नयाँ परिवेश। नयाँ सभ्यता। नयाँ संस्कृति। 

उपल्लो मुस्ताङको पहिलो यात्रा, सम्झँदै आनन्द आउने। जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव यो भूगोलमा परेको देखिन्थ्यो। छेवैको कालीगण्डकीको फैलावट (चौडाइ) ठुलो भए पनि त्यसमा पानीको नितान्त अभाव देखिन्छ। पानी होस् पनि कसरी? हिमालमा हिउँ पग्लिए न नदीमा पानी हुने हो, तर हिमालै हिउँविहीन कालो ढुंगे चट्टानमा परिवर्तित हुनुपर्ने अवस्था आएपछि नदीले जल–संकट बेहोनुपर्ने बाध्यता स्वाभाविक हो। यो संकटको प्रभाव जलभित्र र बाहिरको जीवनमा पर्नु पनि स्वाभाविकै हो। स्थानीयका अनुसार पहिले पहिले यो क्षेत्रमा बाह्रै महिना हिउँ देख्न सकिन्थ्यो। तर पछिल्ला वर्षमा माथि हिमालमै पनि मनग्गे काला ढुंगा देखिन थालेका छन्। वातावरणमा प्रभाव परेको छ। त्यसको असर यहाँको रैथाने कृषि कर्ममा पनि परेको छ। स्याउ र फापरको उत्पादन घटेको छ। यो हिमालमा पनि रासायनिक मलको प्रयोग बढेको स्थानीयको गुनासो छ। गुनासो अर्को पनि छ–जैविक मल उत्पादन गर्न राज्यको उचित प्रोत्साहन र सहयोग प्राप्त छैन। 

हामी अगाडी बढिरहेका थियौं। हामी हिमाली सानो बजार छुसाङको सानो पुल तरेर पारी पुगिसकेका थियौं। लोमान्थाङको दूरी क्रमशः घटिरहेको थियो। हामी जति जति अगाडी बढिरहेका थियौं, प्रकृति रंगिन भइरहेको अनुभूति नौलो थियो। हाम्रो गाडीबाट देखिने सम्मका, हामीसँगै हिँडिरहेझैँ लाग्ने डाँडाहरू राता, पहेँला र हरिया रङका देखिएका थिए। कस्तो अचम्म!

प्रकृतिको यो विविध रङको अनुभूतिले मनमा कुनै बेला जिज्ञासा र कौतुहलता जागिरहेको थियो भने कुनै बेला आँखा आश्चर्यमा खुलिरहन बाध्य हुन्थे। मैले जीवनमा यस्ता पहाड कहिल्यै देखेको थिइनँ। सन् २०२४ को सेप्टेम्बरतिर इरान जाँदा त्यहाँका पथप्रदर्शकहरूले समुद्र किनारमा लिएर गएका थिए र त्यस किनारको माटो पनि एक दुई वटा रङमा रंगिएको अनुभूति भएको थियो। इरानीहरूले यो स्थानको खुबै प्रचार गरेर बजारीकरण गरेका छन् र पर्यटकलाई त्यहाँसम्म पुर्‍याउने वातावरण बनाएका छन्। तर मेरो देशमा इरानको भन्दा निकै आकर्षक छ यो रंगिन पहाडको दृश्य। आहा! प्रचारप्रसारको अभावमा मलाई नै यसबारे त्यति खासै जानकारी थिएन। अन्य पर्यटकलाई त यहाँसम्म कसरी ल्याउने होला? शायद सम्बन्धित निकायसँग उचित योजना नै छैन। मैले अनुभव गरेँ, रंगिन पहाडको यो शृंखला छुसाङ पुग्नु थोरै पहिलेदेखि घनिभूत हुन थालेको थियो र अगाडीको यात्रामा यो अझै थपिँदै जानेवाला थियो।  

मलाई आश्चर्य पहाडका रङ देखेर मात्र लागेको थिएन, अचम्म त त्यसका आकार देखेर पनि लागेको थियो। आहा ! प्रकृतिको कलाकारिता साँच्चै मनमोहक थियो। प्रकृतिले काटकुट गर्दा पहाडका भित्ता र कतिपय स्थानमा त भित्री भागमा पनि निर्माण भएका आकारहरू कुनै उत्कृष्ट कलाकृतिभन्दा कम लागेनन्। मलाई लाग्यो, प्रकृतिभन्दा ठुलो कलाकार यो सृष्टिमा कोही छैन। हावा, घाम, छायाँ र हिउँको संयोजनबाट प्रकृतिले यस भूगोलका रङ्गीन पहाडमा रङ्गीन कलाकृतिको निर्माण प्रक्रिया लाखौँ वर्षयता चलिरहेको छ। कतिपय भूगर्भशास्त्री यस क्षेत्रको चट्टानको उमेर करोडौँ वर्ष पुरानो भएको बताउँछन्। हामी नेपाली भने यस्ता अनुसन्धानमा कमजोर नै छौं। कतिपय स्थानमा त यस्ता पहाडमा प्राकृतिक गुफा पनि निर्मित छन्। 

केहीको मत त के पनि छ भने यी गुफामा पहिले मानिस बस्थे। यो सत्य हो भने निश्चय पनि त्यो समय मानव सभ्यताको गुफायुग हुनुपर्छ। सत्य के हो भने गुफाहरूमा मानिस बस्ने गरेको संकेत पाइएका छन्। केही पाषाण हतियार र जीवन जोड्ने केही सामग्री पनि पाइएको स्थानीयले बताउने गरेका छन्। गुफाका भित्तामा अनेकथरि चित्र र कलाकारिता प्रदर्शित छन्।

यात्राका क्रममा समर र भेना भन्ने स्थान कटिसकेका थिए। भूगोल एकै किसिमको थियो। प्रायजसो ठाउँमा सुख्खा रुखो डाँडायुक्त भूगोल। रंगिन पहाडहरू। खेती गर्ने प्रयास स्वरूप कतैकतै हरियाली पनि देखिन्थ्यो तर नगण्य मात्र। कतैकतै थोरै मैदानी भाग पनि देखिन्थ्यो, जहाँ चौंरी चरेका देखिन्थे। यस क्षेत्रले मूलतः दुई वटा गाउँपालिका समेट्छ, पहिलो लो–घेकर दामोदर कुण्ड र दोस्रो लोमान्थाङ। अहिले हाम्रो गाडी लो–घेकर दामोदर कुण्ड गाउँपालिकामा गुडिरहेको थियो। यत्तिकैमा शिव लम्सालले भनेको सुनियो–अबको एउटा ओरालोपछि आउने उकालो सकिएपछि स्याङ्बोचे आउँछ। साथीहरू त्यहाँ पुगिसकेका छन्। त्यहाँ खाना खाने हो।

एक दुई वटा कुरा भने बडो राम्रो लाग्यो–बाटो पक्की छैन, तर ग्राभेल राम्रो छ। कालीगण्डकी करिडोरका रूपमा चर्चित यो सडक नेपालको एक महत्वाकांक्षी सडक हो भन्दा असंगत ठहर्दैन। यो कोरिडोरले हाम्रा दुई छिमेकी चीन र भारतलाई जोडन भूमिका निर्वाह गर्छ र देशले उचित योजना बनाउन सके मनग्य आर्थिक लाभ लिन सक्छ। मेरो विचारमा त यहाँ पक्की बाटो बन्नु हुँदैनजस्तो लाग्छ। पक्की बाटो बने यहाँको मौलिक प्रकृति र वातावरणमा प्रतिकूल प्रभाव पर्न सक्छ। बरु ग्राभेललाई नै व्यवस्थापन गरिनु उचित हुन्छ। अर्को महत्त्वपूर्ण कुरा, दूरसञ्चारको सञ्जाल प्रभावकारी रूपमा विस्तारित छ। हामी सबैका मोबाइलले बडो गजबले काम गरिरहेका थिए।

भोजनबारे शिवको सन्देश त्यही मोबाइलबाट प्राप्त सूचनापछि हामीबीच प्रसारित भएको थियो। जानकारहरूका अनुसार सन् १९९२ पछि यस क्षेत्रमा व्यापक परिवर्तन आएको छ। त्यसअघि लुकेरै बसेको लोमान्थाङलगायत क्षेत्रमा अहिले निकै विकास भएको छ। यसो विचार गर्दा यस क्षेत्रमा स्थानीय मानिसको संख्या र मानवीय चहलपहल खासै देखिँदैन। मेरो मनमा बारम्बार एउटा प्रश्न भने उठिरह्यो– तर स्थानीय जनसंख्या किन घटिरहेको छ? अहिले यस क्षेत्रमा विदेशी पर्यटकलाई आउन झमेला छ, साथै खर्चिलो पनि। यहाँ अहिले स्थानीयभन्दा यहाँ घुम्न आउने नेपालका अन्य भूगोलका मानिसको संख्या बढेको देख्न सकिन्छ।

हामी स्याङबोचे पुगिसकेका थियौं। अपराह्नको करिब अढाई तीन जति बजेको हुँदो हो। स्थानीय धवलागिरी होटेलमा थिए साथीहरू। खाना त्यहीँ खाने कार्यक्रम थियो। केही साथीहरू पहिले नै यहाँ आएको राम्रो भयो। उनीहरूले खानाको अर्डर दिइसकेका थिए। चिसो छ यहाँ। खाना पकाएर राख्दा चिसिने भएकाले खाना खाने मानिस आएपछि मात्र खाने बनाइने रहेछ। स्याङबोचे यो क्षेत्रको चर्चित स्थान हो। यहाँ केही होटेल र पसल छन्। यहाँबाट हिमालका मनमोहक दृश्य देखिन्छन्। यो यस्तो ठाउँ हो जहाँबाट अन्नपूर्ण पर्वतीय शृंखलाको ठूलो हिस्सा देख्न सकिन्छ। यो दृश्य हेर्न मौसम भने सफा हुनुपर्छ। हामी भाग्यमानी थियौँ, त्यहाँ पुगेको समयमा मौसम अनुकूल थियो। आकाश खुलेको थियो। प्रायः हुस्सु कुहिरो लाग्ने ३७७० मिटरको उचाइमा अवस्थित यो ठाउँ आज सफा थियो। तर हावा भने चलिरहेको थियो। अन्नपूर्ण पर्वत शृंखलाका धवलागिरी र निलगिरी हिमाललाई सँगै देख्न सकिने थोरै ठाउँ छन्। स्याङबोचे तिनैमध्ये एक हो।

क्यामेराको एउटै फ्रेममा यी दुवै पर्वत समेट्न अन्यत्रबाट गाह्रो हुन्छ, तर यहाँबाट दुवै गिरीलाई क्यामेरामा कैद गर्न सकिन्छ। मैले पनि सो दृश्य कैद गर्ने प्रयास गरेँ। हामीले हिमाल हेरेर आनन्दित हुने प्रयत्न त गर्‍यौँ, तर त्यो प्रयासले पूर्णता पाउन नसकेको आभास भयो। हिमालमा हिउँ नै जो छैन। दक्षिणमा ठडिएका ती पर्वतका अधिकांश भाग काला देखिन्छन्। खाना खाँदै गर्दा, कोरोलाबाट फर्किएको एउटा टोलीसँग हाम्रो भेट भएको थियो। हिजोआज मौसम राम्रै छ, हिउँ परेको छैन, बाटो पनि ठिक छ, बाटामा कुनै समस्या छैन भन्ने उक्त टोलीको निष्कर्ष थियो। आगन्तुक टोलीको उक्त निष्कर्ष यात्राको आगामी योजना बनाउन सहयोगी भएको हाम्रो बुझाइ थियो।  

हाम्रो अगाडीको यात्रा अब थप उचाइतर्फ लक्षित थियो। लेक लाग्न सक्ने सम्भावना दृष्टिगत गरी साथीहरूले लेक प्रतिरोधी खाद्य सामग्री स्याङबोचेका पसलबाट किने। यहाँबाट हामी अघि बढ्यौँ। अब लोमान्थाङ पुग्न बढीमा डेढ घण्टा लाग्छ भन्ने जानकारी हामीलाई दिइएको थियो। अगाडी बढ्दै जाँदा बाटोको दायाँतर्फ खेतमा केही हरियाली देखियो। यस क्षेत्रमा हरियाली देख्दा बेग्लै खुसी लाग्ने! त्यो ठाउँको नाम घिलिङ रहेछ। अगाडी बढेपछि धुङकर, घमी र त्यसपछि चराङ। चराङ यो क्षेत्रको अर्को प्रसिद्ध स्थान हो।

अघि बढ्दै गर्दा हाम्रो गाडीमा थोरै समस्या देखिएको थियो, त्यसको समाधानका लागि हाम्रा गाडी चालक वर्कसप खोज्दै थिए। नभन्दै चराङमा वर्कसप भेटियो। वीरगन्जतिरका मधेशी मूलका व्यक्तिहरूको रहेछ सो वर्कसप। मलाई खुसी लाग्यो मधेशका युवामा उद्यमशीलता बढ्दैछ र रोजगार–व्यवसायको खोजीमा उनीहरू हिमाल उक्लिने आँट गरिरहेका छन्। मैले मेरो टुटेफुटेको भोजपुरी भाषामा ती युवासँग संवादको प्रयास गरेँ। मलाई राम्रो लाग्यो र शायद तिनलाई पनि राम्रो लागेको थियो। भाषा आपसमा सम्बन्ध विस्तार गर्ने र निकटता स्थापित गर्ने एक महत्त्वपूर्ण माध्यम न हो। पोखराका पत्रकार टंक अधिकारी मसँगै थिए। उनको प्रतिक्रिया थियो–यस ठाउँमा आएर यी भाइहरूले काम गर्दैछन्। देश त अब सामाजिक रूपमा पनि जोडिँदै छ नि ! उनको प्रश्न थियो – होइन र दाइ ? मैले स्वीकारोक्तिमा टाउको हल्लाएको थिएँ। 

यो त्यही ठाउँ हो, जहाँबाट ४८९० मिटरको उचाइमा अवस्थित प्रसिद्ध दामोदर कुण्ड जाने बाटो अलग्गिन्छ। त्यसो त लोमान्थाङबाट पनि दामोदर कुण्ड जान सकिन्छ। दामोदर कुण्डलाई कालीगण्डकी नदीको मुहान पनि भनिन्छ। प्रचलित किंवदन्तीहरू अनुसार भगवान् विष्णु विराजमान हुने कुण्ड यही हो र त्यसैले यस कुण्डको नाम दामोदर (भगवान् विष्णुकै अर्को नाम) रहन गएको हो। दामोदर कुण्डसम्मै त गाडी जाँदैन। चराङको बाटो भएर कुण्ड जाने हो भने अलि टाढा यारा भन्ने ठाउँ नजिकसम्म गाडी जान्छ र त्यसपछि पैदल यात्राका माध्यमबाट यो कुण्डसम्म पुग्न सकिन्छ। स्थानीयवासीका अनुसार चराङबाट कुण्ड पुग्न पर्यटकलाई २/३ दिन लाग्न सक्छ। हामीलाई कुण्ड जानु थिएन। 

हामी अगाडी बढिरहेका थियौँ। मलाई लाग्यो, हामी तिब्बतको पठारमा यात्रा गरिरहेका छौँ। तिब्बती सभ्यतासँग नजिक मानिने यहाँको भूगोल, समाज, संस्कृति र इतिहास निकै महत्त्वपूर्ण छ। चराङसम्म देखिने कालीगण्डकीको दर्शन अब भइरहेको छैन। जोमसोममा पत्रकार भाइ सुशीलले भनेका थिए–दाइ एक पटक उपल्लो मुस्ताङ अवश्य जानुस्। गज्जब छ। चराङसम्म कालीगण्डकीको किनारै किनार र त्यसपछि एक छिन फरक बाटो। आनन्द आउँछ दाइ। हो, सुशीलले भनेको कुरा अक्षरशः सत्य थियो। धेर ढाक्मर भन्ने स्थान कटिसकेको थियो।

अब हामी लोमान्थाङ प्रवेश गरिसकेका थियौँ। यो क्षेत्रलाई लुकेको पवित्र सभ्यताका रूपमा स्वीकार गरिन्छ र लोमान्थाङ त्यसको केन्द्र हो। साँझको करिब साढे पाँच बजेको थियो। आकाश क्रमशः गोधूलि उन्मुख थियो। हामी बिस्तारै लोमान्थाङ सभ्यतासँग एकाकार हुने प्रयासमा क्रमशः नगरतर्फ अग्रसर थियौँ। आकाश सफा थियो। सूर्यदेवको दर्शन भइरहेको थियो। मलाई लाग्यो–लोमान्थाङले हामीलाई दिल खोलेर स्वागत गरिरहेको छ।