पोखराबाट छेन्दु हुँदै अस्ट्रेलिया उडानको तयारी

सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको अनुमति मागेको छ। उडान अनुमति दिने विषयमा छलफल भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

काठमाडौँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानको अनुमति मागेको हो। उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले बताए। 

आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ। “पोखराबाट छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्नेबारे अनौपचारिक कुराकानी भएको छ।  औपचारिक रूपमा प्रक्रिया टुंग्याउने विषयमा द्विपक्षीय छलफलमा भइरहेको छ। छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला,” सूचना अधिकारी भूलले भने।

यो उडान भएमा अस्ट्रेलिया आवतजावत गर्ने नेपालीलाई सहज हुने विश्वास लिइएको छ। 

यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो। कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो। २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान शुरू गरेको थियो। 

असार ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ। कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अस्ट्रेलिया उडान गर्ने योजना बनाएको छ।

यसैबीच भुटानको निजी वायुसेवा कम्पनी भुटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुई/तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले बताए। उनका अनुसार भुटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको छ। 

भुटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो। “चार्टर्ड उडान दिगो भएमा काठमाडौँजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ। शुरूमा भुटान एयरलाइन्सले काठमाडौँ–पारो–काठमाडौँ उडान गर्नेछ। उडान नियमित भएको खण्डमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने एयरलाइन्सको योजना छ,” सूचना अधिकारी भूलले भने। भुटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ।

हाल हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ। काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान गरेको थियो। विमानस्थलमा हिमालयका साथै सिचुवान र भुटान एयरलाइन्सको उडान भएमा विमानस्थल चलायमान बन्ने र गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने प्राधिकरणको विश्वास छ। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते उद्घाटन भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो। यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार हुने क्रम जारी छ।

भैरहवामा जजिरा र थाई एयर एसियाले उडान गर्दै    
भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सञ्चालन गर्ने भएका छन्। यी दुवै एयरलाइन्सले विगतमा पनि भैरहवा उडान गरेर स्थगित भएको थियो। थाई एयर एशियाले अक्टोबाटर २६ देखि हुने ‘विन्टर सेडुअल’ मा उडान गर्नेगरी तयारी गरेको छ।

हप्तामा दुई उडान गर्ने एयरलाइन्सको योजना छ। यस्तै, जजिरा एयरले पनि विन्टर ‘सिजन’मा उडान गर्ने योजना बनाएको छ। हाल भैरहवाबाट नियमित उडान गरिरहेको नेपाल वायुसेवा निगमको उडान लामो समयदेखि हुन सकेको छैन।