सरकारले निकासा गर्‍यो उखु किसानको अनुदान

अर्थ मन्त्रालयले उखु किसानलाई प्रोत्साहन, अनुदानबापत ७५ करोड ४९ लाख ३८ हजार रुपैयाँ निकासा गरेको छ।

सरकारले निकासा गर्‍यो उखु किसानको अनुदान
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सरकारले उखु किसानलाई प्रोत्साहन, अनुदानबापतको रकम निकासा गरेको छ। 

अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार रुपैयाँ निकासा गरेको हो। निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो। यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन्।

यसअघि उखु किसानले प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरूप पाउँदै आएका थिए। कृषि मन्त्रालयले उखु किसानलाई यति नै रकम उपलब्ध गराउन  मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भए पनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो।

यसैबीच काठमाडौँमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधिबीच सिहंदरबारस्थित मन्त्रालयमा वार्ता भएको छ। वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल तथा उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी थिए। 

उखु किसानका तर्फबाट श्यामबाबु रायलगायत सहभागी थिए। यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मंगलबार नै उपमहानिर्देशक सिंहको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेका थिए।