सिन्दूर अर्थात् 'सोल्ड आउट' ट्याग

यति धेरै प्रेमस्वरूप सिन्दूर र मंगलसूत्र दिने आफ्नै प्राणप्रिय पतिलाई प्रेमस्वरूप उनले कुन आभूषण या चिह्न प्रदान गरिन्, जसले उ विवाहित हो भन्ने जनाउ दिन्छ?

एकातर्फ नयाँ पुस्ता सिन्दूरको आधिपत्यसँग डराइरहेको छ, बजार भने तिनलाई सिन्दूरकै महिमातर्फ आकर्षित गरिरहेको छ, 'तिमी छौ र पो सिन्दूरको अर्थ छ, नत्र भने जिन्दगी व्यर्थ छ।' तड्पनलाई स्वीकारोक्ति दिलाउन भन्न लगाइरहेको छ, 'ठुकरालो, हम् तडप् तडपकर भी तुम्हारे गीत गाएँङ्‌गे (तिमीले अस्वीकारै गरे पनि तड्पिई तड्पिई तिम्रै गीत गाउँछु)।'

लालटिकी मात्रै होइन रहेछ सिन्दूर, त्यो त शिरमा लगाइएको लालमोहर रहेछ, बन्धक जीवनको। पराजित स्वतन्त्रता र सर्त पराधीनताको। कुनै फेन्सी पसलमा बिक्री भइसकेको सामानझैँ एक निसान ‘सोल्ड आउट’ लेखेर मान्छेको शिरमा झुन्ड्याइएको ट्याग। अर्थात्, ऊ कसैको अधिकार क्षेत्रभित्रको वस्तु हो भन्ने उर्दी।

इतिहास साक्षी छ, सिन्दूरकै डोरमा डोरिएर असङ्ख्य पत्नी ज्युँदै जल्न तत्पर थिए, पति ‘परमेश्वर’को चितासँगै। नारीवादी लेखिका मेरी डेली यस्तै भन्छिन्, 'सुहागकै वर्चस्वको अधिकार लादेर, घचेटेरै जलाइएको थियो जोरजबरजस्ती।' ज्युँदै जलाउनु न्यायसंगत मात्रै होइन, धर्मात्मा आइमाई साबित गर्ने प्रक्रिया पनि हो भन्ने अधिकार सिन्दूरले प्रदान गरेको थियो। सायद त्यो सिन्दूरकै शक्ति थियो, जसले, कथामै सही, राम पत्नी सीतालाई अग्निमा होमिन बाध्य पार्‍यो। विना प्रश्न र विना तर्क। सायद राममाथि सीताको सिन्दूरको वर्चस्व नभएकै कारण सीताले भन्न सकिनन्– मेरो प्रिय राम! तिमी पनि त मबाट अलग थियौ, तिम्रो परीक्षा म कुन अग्निबाट लिऊँ?

शूद्र भनिइने समुदायकी एक स्त्री गौरा। विधवा आमाकी छोरी। आमा विधवा, छोरी अविवाहिता! केवल यत्ति कारण पर्याप्त हुन्छ समाजमा दुई महिला चरित्रको धज्जी उडाउन। देखिई नसक्नुको औडाहा हुन्छ धेरैका निम्ति गौराको 'सिन्दूर नभरिएको खाली सिउँदो।' खाली सिउँदोले गर्ने एक कान दुई कान मैदानका चर्चा परिचर्चाले हताश भएकी गौरा खोजिरहन्छे, खाली सिउँदोमा सिन्दूर भर्ने कोही।

एक दिन एक यात्रु आइपुग्छ, आमाछोरीको आश्रममा। 'कलंकझैँ समाजमा खाली सिउँदो बोकेर हिँडेकी' जवान छोरीलाई आमाले सुम्पिन्छे, एक अर्धपरिचित यात्रुको नाममा एक चिम्टी सिन्दूरको बन्धक बनाएर। एकाएक समय बदलिन्छ। शिर निहुराउँदै, आँखा झुकाउँदै कलंकझैँ बोकेर हिँडेको खाली सिउँदो अब इज्जतिलो हुन्छ! अर्को दिनबाट गौरा रङसहित छाती चौडा पार्दै सानका साथ गर्छे छिमेक परिक्रमा। अब ऊमाथि कुनै कुदृष्टि छैन। अनेक शंका, उपशंका र लाञ्छना छैनन्। हेर्दाहेर्दै ऊ सिन्दूरको सहारामा विवाहित एक सौभाग्यवती स्त्री कहलिन्छे।

खुसी क्षणिक हुन्छ। जसको नामको सिन्दूर ऊ सिउँदोमा सजाएर छिमेकमा ‘सौभाग्यवती’ कहलिएकी थिई, त्यही सौभाग्य एक दिन अचानक बस्तीबाट गायब हुन्छ। आमा विधवा, छोरी परित्यक्ता। अरू के चाहियो समाजलाई, स्त्री चरित्रमा सके जति लाञ्छना लगाउन? विना खबर छोडी जाने लोग्नेको बाटो हेर्दाहेर्दै ऊ एक दिन समुद्रपार लगेर स्त्री बेच्ने ठग-दलालको फन्दामा पर्छे। सिन्दूरको मोहमा ऊ यति मुग्ध हुन्छे कि ‘लोग्नेले लिन पठाएको मानिस हुँ’ भनेकै भरमा लोग्नेसँग पुग्ने लालसाका कारण अपरिचित व्यक्तिमाथि अन्धविश्वास गर्छे। उसैको पछि पछि लागेर परदेश पुग्छे। एक स्त्रीको जीवनमा सिन्दूरको आवश्यकता र त्यसको आधिपत्य स्पष्ट झल्किन्छ यो कथामा। भारतीय साहित्यकार मुन्सी प्रेमचन्दले लेखेको यो कथाजस्तो जिन्दगी बाँचेका तमाम स्त्रीहरू हाम्रो समाजमा दुरुस्तै नहोलान्, तर सिन्दूरले सिर्जेका असंख्य कथा आज पनि उस्तै भेटिन्छन्।

सिन्दूर एक कहानी अनेक
एक प्रौढताउन्मुख महिला, जो नाताले आफन्त पर्छिन्। उनको जन्म र हुर्काइ सामन्ती संस्कृतिको ग्रामीण परिवेशमा भयो। जहाँ छोरी बुहारीले पालना गर्नुपर्ने हुन्छ, कठोर सामाजिक सांस्कृतिक आचारसंहिताको बन्धन। आफ्नै बाउसँग रक्सी पिउने दोस्ती जमेको विवाहित पुरुषसँग स्वेच्छाले कान्छी श्रीमती बनेर उसको घर जान तयार भइनन् उनी। त्यसपछि, मध्यरातको मस्त निद्रामा बलजफती एक मुठ्ठी सिन्दूर नामक रङले रङाइन्छ उनको 'खाली सिउँदो।' लुटिन्छ उनको स्वतन्त्र जिन्दगी, लगाइन्छ विवाह नामको लालमोहर र बनाइन्छ सधैँका निम्ति यौनदासी। कुनै अयोग्य पुरुषले स्वामित्व ग्रहण गरेको एक पराधीन वस्तु अथवा ‘प्राइभेट प्रोपर्टी’। अचेतन अवस्थामै उनको सजीव इच्छामाथि बलजफती हस्तक्षेप गरिइन्छ र लिइन्छ उनलाई सधैँका लागि नियन्त्रणमा।

बिहान सबेरै हल्लाखल्ला हुन नपाउँदै कथित सिन्दूरको महत्त्व र त्यसले बोक्ने सामाजिक मर्यादा जोगाउने उपदेश दिँदै ‘दारु दोस्ती’ को मान राख्न आफ्नै निर्दोष छोरीको स्वैच्छिक जिन्दगी र खुसीको बलि चढाउँछन् एक पिता। ती महिलालाई सहज थिएन त्यस्तो सिन्दूरको मर्यादित भार बोक्न। यो जोर जबरजस्तीलाई उनको मनले अस्वीकार गरेको थियो, तर समाजको रुढ मान्यताले भने बलजफ्ति उनलाई फेरि अचेत बनाइदिएको थियो। घरमा लोग्ने, जेठी श्रीमती र छोराछोरीको हेला, अवहेलना र तिरस्कार। यी सबैका बाबजुद सेवक बनेर अत्यधिक दुःखको घडीमा आफ्नै पितालाई सराप्दै जीवनको एक चौथाइ अवधि जसोतसो गुजारिन् त्यही घरमा।

कठिनाइ बढ्दै गए। अत्याचार चुलिँदै गए। मृत्युभन्दा मुस्किल जीवन बोकेर एक दिन उनी फिर्ता भइन् माइतीको आश्रम। कामकाज र मेलापात गरेर गुजारा गर्दै हुर्काइन् एक सन्तान। आज पनि हरेक दिन उनी सजाइरहन्छिन्, त्यही 'पति'को नाममा सिउँदोभरि रातो सिन्दूर। थाहा छैन, उनी हिसाब गर्छिन् कि गर्दिनन्–सिउँदोको रङसँग आफूले भोगेको दुःखको रङमा कुनचाहिँ प्रगाढ छ? सिउँदोको रङले लुटेको मलिन अनुहार लिएर आफैलाई नियालेर हेर्छिन् कि हेर्दिनन् ऐनामा? यी दुईमा कुन चाहिँ गह्रौँ छ भनेर जोख्छिन् कि जोख्दिनन्? न त उनी कहिल्यै आफूमाथि भएको अपराधको विरुद्ध बोलिन् न त अन्यायको प्रतिकार नै गरिन्। न कहिल्यै त्यस्तो सम्बन्धबाट छुटकारा पाउने हिम्मत नै गरिन्। बस्, महिलासँगै जोडिनुपर्ने पुरुषको रिक्त कोटा त्यही पतिको नामले भरिन् र त्यही नामलाई कवच बनाएर अनेक सामाजिक कुदृष्टि, लाञ्छना र अवहेलनासँग जुधिरहिन्।

सायद उनी राम्रैसँग जान्दछिन्, सिन्दूरहीन ‘एक्ली महिला’ भएर बाँच्न यो समाजमा कठिन छ। उनी परिचित छिन् अनेक नियतहरूसँग, जो उनको खाली सिउँदो र एक्लो जीवनसँग पटक–पटक टकराउन आउँछन्। र, त आज उनी आफूभन्दा तल्लो पुस्तालाई अर्ति उपदेश दिन्छिन्, “नानी लोग्ने भनेको लोग्ने हो। सहनुपर्छ, मिलेर बस्नुपर्छ। सिन्दूर किन नलगाएकी? घाँटी किन खाली? किन हात रित्तै?"

यत्रो दुःख कष्टका बाबजुद पनि उनी यस्तो किन भन्छिन्? यसो भन्नुमा कुन सामाजिक मनोविज्ञानले काम गरेको छ? हामी सहजै आकलन गर्न सक्छौँ।

जुन सिन्दूरले उनलाई आजीवन दुःख कष्ट मात्रै दियो, त्यही सिन्दूरलाई शिरमा सजाएर, जुन सम्बन्धले उनलाई कहिल्यै खुसी दिन सकेन, त्यस्तो सम्बन्धको मान राख्दै आफूलाई ‘एकल’ नभनेर आज पनि उनी किन लोग्ने नामको कवच भिरेर हिँडिरहेकी छिन्? यो एउटा दृष्टान्त मात्रै हो। एक चिम्टी सिन्दूरले सिर्जेका दुःखका फेहरिस्तहरू टोल टोल र घर घरमा प्रशस्तै छन्।

अर्की महिला छिन्, धार्मिकहरूले भन्ने ‘नर्क’भन्दा कम थिएन उनको जीवन। एक चिम्टी सिन्दूरमा माइतीको आँगनबाट बेदखल भएर पतिको घरमा उछिट्टिएकी उनले केही दिन पनि सम्मानित जीवन बाँच्न पाइन् कि पाइनन्, थाहा छैन। तर आश्चर्य लाग्छ, सिन्दूरकै बलमा गरिएको सधैँको अवहेलना, हिंसा र यातनाका बाबजुद उसैको मान सम्मान र लामो आयुपूर्ण जीवनका निम्ति सिउँदोमा सधैँ सजाउने राताम्य सिन्दूरको भारले उनलाई किन थिचेन होला? किन गिज्याएन होला? या सिन्दूरको दासत्वका कारण त्यो गिज्याइको बोध नै नभएको हो?

अर्की महिला छिन्। शृंगारमा सजिएर हिँड्नु उनको अहोभाग्य हो। अनुहारको शृंगारसँगै सिउँदोमा सधैँ रातो धर्के सिन्दूर सजाएर बस्न रुचाउँछिन्। लोग्नेको अन्त्यसँगै बलात् अन्त्य भयो शृंगारले सजिएर बस्ने उनको रहर र इच्छा। सिउँदो पखालियो, 'उदांगो' पारियो। त्यसपछि त अलिकति रङिन कपडा लगाउँदा पनि समाजले साउती मार्न थाल्यो, ‘छि! लोग्ने मरेपछि पनि उसको पोसाकमा रङ!’ कस्ती नखरमाउली। चालढाल ठिक छैन, चरित्रहीन रहिछ।

आखिर खै कहाँ छ, आफ्नै शृंगारमाथि स्त्रीको स्वामित्व? कुनै घोडालाई लगाम खिच्न नाकमा लगाइएको नथियाजस्तै स्त्री जीवनलाई नियन्त्रण गर्ने लगाम मात्रै होइन रहेछ सिन्दूर र पतिको मृत्युपश्चात् सजीव इच्छाहरूको हत्यारा पनि रहेछ यो। जब सिउँदोमा सिन्दूर सजिन्छ, ऊ कसैद्वारा नियन्त्रित हुन्छे। जब सिन्दूर खोसिन्छ, तब उसको हाँसो, उमंग, रहर, रङ सब थोक खोसिन्छ। सिन्दूर हुँदा पनि ऊ कसैले स्वामित्व ग्रहण गरेको निजी वस्तु मानिन्छे, नहुँदा पनि ऊ मुन्सी प्रेमचन्दको कथाकी गौराजस्तै समाजमा अमर्यादित र कलंकित मानिन्छे।

थाहा छैन, इतिहासमा सबैभन्दा पहिले कहाँ, को र कति सिन्दूरका बन्धक बनाइए। तर, असंख्य स्त्री सिन्दूरकै ‘ब्ल्याकहोल’भित्र हुलिएर सती, सीता  र द्रौपदी बनाइए। राहुल सांकृत्यायनको 'भोल्गादेखि गंगासम्म'का ती स्वच्छन्द निशा र दिवाहरू सिन्दूरका बन्धक थिएनन्। बरु तिनका परिवारहरू कुनै हरिजन र श्यामजन नभएर थिए निशाजन र दिवाजन। फ्रेडरिक एंगेल्सलाई लाग्छ, इतिहासको ठ्याक्कै यही घडी थियो, जुन घडीमा पितृसत्ताको आरम्भ र मातृ शक्तिको सबैभन्दा ठुलो हार भएको थियो। जहाँ निशा र दिवाहरूको स्वच्छन्दता लुटियो र बनाइयो, पारिवारिक संरचना निशाजन र दिवाजनबाट हरिजन र श्यामजन। निशा र दिवाहरू त फगत हरि र श्यामहरूका यौनदासी, वंश उत्तराधिकारी निर्माण गर्ने मेसिन र सेविका बनाइए।

सिमोन द बोउवार जान्दथिन्, 'स्वामित्वको लालमोहर। र, त अपार प्रेमका बाबजुद पनि उनले कहिल्यै स्वीकार गरिनन् आफ्नै प्रेमी सात्रको 'स्वामित्व' (सिन्दुर) को लालमोहर। रहिरहिन् आजीवन एकनिष्ठ विवाह संस्थाविरुद्ध अडिग एक योद्धाका रूपमा। बन्धक जीवनको विपरीत दिशामा उभिइन् उनी। उनी बुझ्थिन्, स्त्री शक्तिको हार त्यही घडी थियो, जब समाजको विकास क्रममा पुरुषले निजी सम्पत्तिको मानचित्र निर्माण गर्‍यो र निजी सुख सुविधाका निम्ति निजी स्त्रीलाई स्वास्नी बनाएर बन्धक राख्ने षड्यन्त्र रच्यो।

बालज्याकको भाषामा प्रेमहीन विवाह संस्थामा सुरुवातमा पुरुषले आफ्नी स्त्रीलाई व्यभिचारको सन्त्रासले असुन्दर, कुरूप, अनपढ, कतै बाहिर ननिस्कने घरमा बन्धक बनाएर राख्न चाहन्थ्यो, ताकि उसलाई कसैले नहेरोस् या ऊसँग कोही मोहित नहोस्। सहजै अनुमान लगाउन सकिन्छ कि पुरुष सत्ताको यही मनोविज्ञानले कालान्तरमा स्त्रीलाई पुरुष निष्ठामा आधारित पतिव्रता बनाउन अनेक तिकडम अपनायो। यहाँसम्म कि पतिको मृत्युपछि सती पठाउने कठोर कानूनसमेत बनायो। विवाहित जनाउ टीका, चुरा, पोते, सिन्दूर, मंगलसूत्र आदिको निर्माण यही उद्देश्यका साथ गर्‍यो।

सिन्दूरको आधिपत्य र त्यसले सिर्जेका यी असंख्य पीडा, दुःख र कष्टसाध्य जीवनका बाबजुद आज पनि डिग्रीधारी आधुनिक स्त्री भन्न छोड्दिनन्, “तिमी छौ र पो सिन्दूरको अर्थ छ, नत्र भने जिन्दगी व्यर्थ छ।” र, त आज पनि यस्ता गीतहरू सर्वप्रिय बनेर सर्वत्र गुन्जिन्छन्। स्त्रीबाटै स्वीकृत हुन्छन्। भन्न छोड्दिनन् उनी, “सिन्दूर मलाई मेरो पतिले दिएको प्रेम हो।” उनी गर्वका साथ घाँटीमा झुन्ड्याउन छोड्दिनन् मंगलसूत्र, पतिको अगाध प्रेम सम्झेर।

सिन्दूरले सिर्जेको दासताबाट यदि उनी मुक्त हुँदिहुन् त सोच्दिहुन्, यति धेरै प्रेमस्वरूप सिन्दूर र मंगलसूत्र दिने आफ्नै प्राणप्रिय पतिलाई प्रेमस्वरूप उनले कुन आभूषण या चिह्न प्रदान गरिन्, जसले उ विवाहित हो भन्ने जनाउ दिन्छ? या यो पुरुष अरू कसैको भइसकेको छ, यसलाई छुन, हेर्न, जिस्क्याउन हुन्न भन्ने सन्देश दिन्छ। जुन उसले आफ्नै शरीरको अंगजसरी आफैसँग पहिरिएर हिँड्छ। सिन्दूरको दासताबाट मुक्त हुँदिहुन् त सोध्दिहुन्, “पति परमेश्वरजी! के प्रेम स्त्रीको भागमा मात्र हुन्छ? तिमीसँग मेरो प्रेमको चिह्न के छ, जसले तिमी मेरो मात्र हौ भन्ने जनाउ दिन्छ?” बुझ्दिहुन्, सिन्दूरको उत्पत्ति समाजको कुन चरणमा, कुन प्रयोजनका निम्ति गरियो र त्यसको समाजशास्त्र के हो भनेर।

सिन्दूरको दासताबाट मुक्त हुँदिहुन् त बुझ्दिहुन्, प्रेमविहीन पुरुषनिष्ठ विवाहमा केवल स्त्रीको यौनिकतालाई कैद गर्न विवाहित जनाउ ट्यागको रूपमा प्रयोग गरिँदै आएको सिन्दूरको प्रयोजन र भन्दिहुन्–म बुझ्छु, सिन्दूरको समाजशास्त्र। त्यसैले खारेज गर्छु, सिन्दूरको प्रभुत्व! बन्धक जीवनको लालमोहर! म कसैबाट खरिद गरिएको या कतैबाट लिलाम गरिएको बन्धक वस्तु होइन। म आदमको मनोरञ्जनार्थ उसकै हड्डीबाट निर्मित उ अधीनस्थ वस्तु ‘इभ’ होइन। म एक स्वतन्त्र, स्वाधीन र स्वायत्त अस्तित्व हुँ।

(लेखकको 'बागी स्त्रीको आत्मकथा' कविता संग्रह प्रकाशित छ। उकालोको विचार खण्डमा प्रकाशित लेख रचना लेखकका निजी हुन्।) 

लेख सारै सान्दर्भिक लाग्याे । रुपान्तरण पढेलेखेका भनिएका सर्टिफिकेटधारिहरु कै कारण धरापमा परेकाे छ । र महिला दासी बनाईनुमा/हुनुमा धर्मका नामकाे अन्ध-विश्वासले मुख्य भुमिका खेलेकाे छ ।

Dhanpati Dhungel

2 months, 3 weeks ago