खाद्य वस्तुमा उच्च मूल्यवृद्धि

गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

काठमाडौँ– गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिए पनि गैरखाद्य वस्तुमा भन्दा दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य बढेको देखिएको हो।

राष्ट्र बैंकका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १०.७१, घ्यू तथा तेलको ८.७२, दाल तथा गेडागुडीको ७.९० र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशतले बढेको छ।

मरमसला उपसमूहको मूल्य सूचकांक २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको देखिएको छ। गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको मूल्यवृद्धि ९.३९, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०९, मदिराजन्य पेय पदार्थको ५.६५, फर्निसिङ तथा घरायसी उपकरणको ४.७८ र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ।

त्यस्तै, गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति ६.४७ प्रतिशत रहेको थियो।

गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ। अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति ४.६४ प्रतिशत थियो।

गत आवमा काठमाडौँ उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७७, तराईको ४.१४, पहाडको ३.८६ र हिमालको ४.८९ प्रतिशत रहेको राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ।

ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकांक ४.४० प्रतिशत र शहरी क्षेत्रको ३.९४ प्रतिशतले बढेको छ।

प्रदेशगत रूपमा कोशीको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४६, मधेशको ४.१४, बागमतीको ३.५७, गण्डकीको ३.३२, लुम्बिनीको ३.७०, कर्णालीको ३.३१ र सुदूरपश्चिम प्रदेशको ५.०२ प्रतिशत रहेको छ।