साउनमा ३ अर्ब ४१ करोड रुपैयाँको स्मार्टफोन आयात

सबैभन्दा धेरै चीनबाट २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँ मूल्यको एक लाख ७५ हजार ८२९ थान स्मार्टफोन चीनबाट आयात भएको छ।

काठमाडौँ– साउनमा झन्डै साढे ३ अर्ब रुपैयाँ बराबर मूल्यका स्मार्टफोन आयात भएका छन्। विभिन्न मुलुक बाट ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ मूल्यका एक लाख ९८ हजार ३३३ थान स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार सबैभन्दा धेरै २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँको एक लाख ७५ हजार ८२९ थान स्मार्टफोन चीनबाट आयात गरिएको छ। नेपालमा चीन, भारत, जर्मनी, क्यानडा बेल्जियम, हङकङ, जापान, थाइल्यान्डलगायत मुलुकबाट स्मार्टफोन आयात हुने गर्छन्। 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँ मूल्यका दुई लाख २५ हजार १६३ थान आयात भएको थियो।