५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना मर्मत नहुँदा अलपत्र

बाढीले योजनाको बाँध भत्काएछि अकासे पानीको भर पर्नुपरेको किसानको गुनासो छ। उक्त सिँचाइ योजनाबाट एक हजार ४०० भन्दा बढी हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको थियो।

गोदावरी– कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झन्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ। २०६४ सालमा आएको बाढीले पक्की बाँध भत्काएपछि आयोजना अलपत्र परेको हो।

गुर्गी सिँचाइ आयोजना निर्माणका लागि बर्सेनि बजेट विनियोजन हुँदै आए पनि निर्माण अघि बढ्न सकेको छैन। पानीको स्रोत सुनिश्चितता नभएका कारण बजेट फ्रिज हुँदै आएको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धनगढीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले आयोजनाका लागि आव २०७५/७६ मा २० लाख रुपैयाँ विनियोजन गरेको थियो। आव २०७९/८० मा ६ करोड रुपैयाँ विनियोजन गरे पनि खर्च हुन नसकेर फ्रिज गएको थियो। आव २०८०/८१ मा १२ करोड रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले २०८१/८२ मा ५ करोड रुपैयाँ रकम विनियोजन गरिए पनि खर्च हुन नसकेर फ्रिज भएको जनाइएको छ।

पानीको स्रोत सुनिश्चितता नभएकाले आयोजना निर्माणका लागि पुनः डीपीआर तयार गर्नुपर्ने भएकाले ढिलो  जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर टेकराज विनाडीले बताए। आव २०८१/८२ मा कार्यालयले आयोजनालाई ठेक्का प्रक्रियामा लैजान ४४ करोड रुपैयाँ लागत अनुमानको प्रतिवेदन तयार गरी आर्थिक मामिला मन्त्रालयमा पेस गरेको थियो। मन्त्रालयले ३० करोड रुपैयाँ लागत अनुमानको प्रतिवेदन स्वीकृत गर्दा ठेक्का सम्झौता कार्य अघि बढ्न सकेको छैन। आयोजनाको डीपीआरका लागि बजेटको माग गरिएको बताउँदै बजेटको सुनिश्चितता भएपछि डीपीआरको काम अघि बढ्ने जानकारी दिए। 

झन्डै दुई दशकअघि भत्केको बाँध अहिलेसम्म बन्न नसकेपछि किसान नहरको पानी उपभोग गर्नबाट वञ्चित हुँदै आएको स्थानीय दयाराम चौधरीले बताए। वर्षौं पुरानो सिँचाइ आयोजनामध्ये गुर्गी सिँचाइ आयोजनाको बाँध २०२६ सालमा तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले आफ्ना रैतीमार्फत बनाएको बताइन्छ। आव २०६२/६३ मा पक्की बाँध बनाइए पनि २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्काएपछि सो आयोजना निर्माणको काम अहिलेसम्म अघि बढ्न नसकेको चौधरीको गुनासो छ।

आयोजना बन्द भएर नहरसमेत अतिक्रमण भएपछि कैलारीका वडा नं १, २, ५ र ७ वडाका किसानले सिँचाइ अभावमा सो क्षेत्रका किसानले अकासे पानी र बोरिङको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता छ। जिल्लाकै नमुना रहेको सो योजनाबाट झन्डै ६ हजार बढी किसान लाभान्वित हुँदै आएका थिए। 

बाढीले योजनाको बाँध भत्काएछि अकासे पानीको भर पर्नुपरेको किसानको गुनासो छ। उक्त सिँचाइ योजनाबाट एक हजार ४०० भन्दा बढी हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको जनाइएको छ। 

सिँचाइ विकास डिभिजन कार्यालयको सर्भेअनुसार योजनाको लागत ४४ करोड अनुमान गरिएको छ। एक हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। योजनाबाट कैलारी–१ का बिसनपुर, लवलपुर, मनाउ, हरिनगर, डम्मरा गाउँ, वडा नं ५ का सडकपुर, पबेरा, गोब्रैला, जग्दहवा, मनिकापुर, बैसपुर गाउँ र वडा नं ७ का रतनपुर, सिउपुर, नारायणपुर, वसन्ता, छटकपुर वसन्ता, भुँइयाफाटा, रामपुर गाउँका किसान लाभान्वित हुने जनाइएको छ।