शनिबार यी प्रदेशमा हुनेछ भारी वर्षा

लुम्बिनीका तराई भूभाग साथै बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका केही र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनीका तराइ भूभाग साथै बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेश, कोशी, बागमती र गण्डकीका केही र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। 

गण्डकीको पहाडी र लुम्बिनीको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।