अबिच्युरी
कुर्ता–पाइजामा अनि काँधमा अड्काइएको झोला कांग्रेसीहरूको पहिचान थियो हाम्रातिर। यसैले कांग्रेसी भन्नासाथ मनमा आउने बिम्ब बासु काकाहरू नै थिए। बीपी, गणेशमानहरूका तस्वीर कहाँ छ्याप्छ्याप्ती हुन्थे र!
पञ्चायतको उत्तरार्धमा, विसं २०४० को दशकको पूर्वार्ध। शरीरमा कुर्ता–पाइजामा, काँधमा अड्काइएको लामो झोला बोकेको ह्रष्टपुष्ट मान्छे घर अघिल्तिरको सडकबाट गुज्रिरहन्थे। साथमा अरू कोही भए तिनको पनि पहिरन, स्टाइल उही हुन्थ्यो– कुर्ता–पाइजामा, लामो झोला। ती कांग्रेसी थिए, हाम्रा लागि स्कुलका संस्थापक–संरक्षक पनि रहनुभएका बासु कोइराला। नाम बासु र थर कोइरालाबीचमा देव र शरण पनि छन् भन्ने त अलि पछि मात्रै थाहा पाइएको थियो।
कुर्ता–पाइजामा अनि काँधमा अड्काइएको झोला कांग्रेसीहरूको पहिचान थियो हाम्रातिर। यसैले कांग्रेसी भन्नासाथ मनमा आउने बिम्ब बासु काकाहरू नै थिए। उति बेला बीपी, गणेशमानहरूका तस्वीर कहाँ छ्याप्छ्याप्ती हुन्थे र!
‘हैन यी कांग्रेसीहरूको झोलामा के हुन्छ?’ गाउँका चिया दोकान, चौतारामा गाउँलेहरूबीच उपहासपूर्ण चर्चा सुनिन्थ्यो। त्यसबखत गाउँमा कांग्रेस/कम्युनिस्ट खासै थिएनन्। कम्युनिस्ट त झनै थिएनन्। अलिअलि कांग्रेस बासु काकाहरूकै कारण थिए। क्याम्पस पढ्न शहर पसेका दाइहरू क्याम्पसको वातावरणअनुसार अखिल वा नेविसंघ भएका चाहिँ थिए। एउटै परिवारका दाजुका छोरा उद्धव पौडेल जनकपुर पढ्न गएका नेविसंघ भए, पछि गाउँमै कांग्रेस राजनीति गरे/गरिरहेकै छन्। भाइका छोरा लेखनाथ अखिल भई फर्केका थिए, प्रजातन्त्रका शुरूआती चरणमा एमालेको प्रचारमा हुन्थे।
चारैतिर हाइस्कुलहरू खुलिसकेका थिए, पूर्व–पश्चिम राजमार्गका साथै नवलपुर–मलंगवा रोडका कारण यातायात सुगम भइसकेको बेला पनि पढाइ चटक्कै छाडी घरबाट भागेर गाडीमा सहयोगी (उति बेला खलासी प्रचलित) बन्न, भोजनालयमा भाँडा माझ्न शहर अझ दिल्ली–जयपुरसम्मै पुग्नेहरू पनि हुन्थे। कोही फलामे ढोका पारै गर्न नसकी गाउँमै थचारिन्थे वा शहर पस्थे। एसएलसी पास भएपछि पढाइबाट सन्यास लिई जागिर खोज्न भौतारिने वा घरमै खेतीपातीमा रमाउनेहरू हुन्थे।
तहतहमा फिल्टर भई उब्रिएका केही थान मात्र क्याम्पस पढ्नेगरी शहर पस्ने हुँदा गाउँमा कांग्रेस–कम्युनिस्टको खडेरी नै थियो। पञ्चायत समर्थककै प्रचण्ड बहुमत थियो, व्यवस्था विरोधी त जमानत जफतको अवस्थामा थिए। जनआन्दोलनका क्रममा पनि गाउँमा कुनै गतिविधि भएनन्। अमन कोइराला (पत्रकार), विश्वास आचार्य (हालै डीएलए काठमाडौँ बारको अध्यक्षमा पराजित अधिवक्ता) ले सडकमा चकले नारा कोरे, रोड छेउका रूखमा कालो झण्डा फहराए– बस्।
राजनीतिक परिवर्तनपश्चात अवस्था उल्टियो। हिजोका व्यवस्था समर्थकहरू नै कांग्रेस–कम्युनिस्ट समर्थक भए। मधेशीहरूलाई सद्भावना पार्टीले पनि आकर्षित गर्यो। सक्रिय पञ्चहरू मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीतिर लागे। त्यसैले बाजेदेखि कांग्रेस पृष्ठभूमिका अमन कोइराला ‘हामी हौँ गर्भे कांग्रेस, अहिलेका त चैते हुन्’ भन्थे।
कांग्रेसीहरूको पहिरन र झोलाको प्रसंग। जहाँसुकै र जुनसुकै बेलामा पक्राउ खान तयार भइबस्ने कांग्रेसीहरू झोलामा भित्री वस्त्रसहित एकजोर लत्ताकपडा, ब्रस–मञ्जन अनि किताब/पत्रपत्रिका बोक्ने रहेछन्। पञ्चहरू दौरा–सुरुवालमा रिटिक्क हुने भएर नै हुनपर्छ, त्यो जुगमा कांग्रेसीहरूको प्राथमिकतामा कुर्ता–पाइजामै हुन्थ्यो। मधेशको गर्मीका लागि कुर्ता–पाइजामा उपयुक्त पनि थियो। जाडोमा कुर्ताउपर स्वेटर/ज्याकेट चढाइदिए पुग्थ्यो। सत्तामा पुगेपछि काँचुली फेरेका कांग्रेसीहरू कतिपयले दौरा–सुरुवालमा गोल्डस्टार जुत्ता लगाए भनेर प्रदीप दाइ (गिरि) ले हँसाउनु भएथ्यो।
हामी पढ्ने नवजीवन विद्याश्रम क्रिश्चियन मिशिनरीको आर्थिक सहयोगमा सञ्चालित थियो। पढाइ निःशुल्क थियो, माध्यमिक तहसम्मै। स्कुलकै पछिल्तिर होस्टेलमा चाहिँ धर्मान्तरण गरेका धादिङका तामाङ, गोर्खाका गुरुङ अनि अलिअलि पूर्वी पहाडका किराँती समुदायका विद्यार्थी बस्थे। होस्टेलमा बस्नेहरूलाई खानबस्न निःशुल्क थियो। स्थानीय गन्यमान्यका सिफारिशमा अलि विपन्न परिवारका स्थानीय केही छात्रछात्राले पनि होस्टेलमा बसेर पढ्न पाएका थिए, जो धर्मान्तरण गरेको परिवारका थिएनन्। तीमध्ये अधिकांशले धर्मान्तरण गरेनन् पनि। शायद तिनलाई धर्मान्तरण गर्न दबाब वा प्रलोभन दिइएन।
सुवर्णशमशेरको नेतृत्वमा सशस्त्र संघर्षको तयारीमा जुट्नुभएका बासु काका २०१८ सालमा सिन्धुली मोर्चामा सहभागी हुनुहुन्थ्यो। पक्राउ परी भद्रगोल जेलमा बस्दा क्रिश्चियन धर्म प्रचारको आरोपमा जेलमा जाकिएका प्रेमदयाल प्रधानसँग भेट भएको थियो। लाजिम्पाटमा सञ्चालित नवजीवन विद्याश्रम बन्द गरी उहाँलाई जेल हालिएको थियो।
जेलमै घनिष्ट भएका उहाँहरूको मित्रता रिहापछि निरन्तर रह्यो। २०२८ सालतिर उहाँहरूले सर्लाहीको जुटपानीमा जग्गाहरू किनेर स्कुल सञ्चालनको तयारी गर्नुभयो। २०३७ सालदेखि नवजीवन विद्याश्रमकै नाममा स्कुल सञ्चालनमा आयो। भेगकै नमूना स्कुल बनाउने लक्ष्य लिई शिशु कक्षादेखि अंग्रेजी पढाउन थालियो।
हामीलाई ३ कक्षामै सरकारी पाठ्यक्रममा नभएको अंग्रेजी किताब (गुलमोहर) पढाइएको थियो। गुणस्तरीय शिक्षा, त्यो पनि निःशुल्क भएपछि हरिवन, लालबन्दी, हरिपुरका विद्यार्थी आफ्नै गाउँठाउँमा स्कुल भए पनि पढ्न आए। सार्वजनिक यातायातको सुविधा छँदैथियो। स्कुल भवन बन्दै गर्दा प्रेमदयाल (विद्यार्थीहरूलाई आप्पा सम्बोधन गर्न भनिएको थियो) बस्ने कम्पाउण्डका टहराहरूमा कक्षा सञ्चालन भयो। खर्साङमा पनि घर भएका प्रेमदयाललाई दार्जिलिङतिर शिक्षक खोज्न सजिलै थियो। चाँडै जिल्लाकै सम्भवतः सबैभन्दा भव्य स्कुल भवन तयार भयो।
बासु काकाले स्कुललाई एक प्रकारले कांग्रेसको सेल्टर नै बनाइदिनु भएको थियो–आखिर उहाँ हतियार उठाएको, सशस्त्र क्रान्तिको लागि बनाइएको क्याम्प (सीतामढी) को इञ्चार्ज भइसकेको, वर्षौंवर्ष जेलमा बिताइसकेको कांग्रेसी हुनुहुन्थ्यो। निजी स्कुल भए पनि शिक्षकहरूलाई सरकारी स्केलकै तलब–भत्ता त थियो नै, आवाससमेतको सुविधा थियो। कांग्रेसमा लागेबापत जेलनेल भोगिसकेका अनि तनहुँमा गोविन्दराज जोशी, अमरराज कैनीका समकालीन शिक्षक मेघराज कोइरालालाई बासु काकाले स्कुलको हेडसर बनाएर ल्याउनु भएथ्यो।
कांग्रेसले हतियार उठाएको बेला हातमै बम पड्केर हात बिगारेका रामजीवन सिंह त हाम्रो अंग्रेजी शिक्षक हुनुहुन्थ्यो। रूखको फाइदा गिनाउँदै उहाँले ‘के गर्नु, यहाँ त हामी बीपी कोइरालाको जन्मजयन्तीमा हामी वृक्षरोपण गर्छौं, पुलिसले उखालिदिन्छ’ भनेको कहिल्यै बिर्सिन्न। रामजीवन सर २०४६ सालको राजनीतिक परिवर्तनपश्चात एक कार्यकाल राष्ट्रियसभा सदस्य बन्नुभयो।
कांग्रेस काभ्रेका नेता मधु आचार्यले पनि केही समय पढाउनुभएको थियो। सामजिक शिक्षा पढाउने दलबहादुर गुरुङ स्कुलबाट बाहिरिएपछि चितवनमा कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ भन्ने त सुनिएको थियो, कांग्रेसबाट २०१५ सालमा निर्वाचित सांसद जमानसिंह गुरुङको नाति हुनुहुँदोरहेछ भन्नेचाहिँ उहाँसँग फेसबुकमा जोडिएको केही वर्षअघि थाहा भयो। दलबहादुर सर भरतपुर महानगरपालिका–२६ को वडाध्यक्षमा कांग्रेसबाट २०७४ र २०७९ मा उम्मेदवार हुनुहुन्थ्यो।
अहिले महोत्तरीमा कांग्रेस राजनीति गरिरहेका कलिला बजरंग नेपालीले पनि हामीलाई पढाए। बजरंग सर पञ्चायतविरुद्ध संघर्षमा निकै दुःख पाएका कांग्रेसमा दरिने गणेश नेपाली (तिवारी) का छोरा हुनुहुन्छ। कांग्रेसको उपेक्षा सहन नसकी एमालेमा लाग्नुभएका गणेश तराई मधेश लोकतान्त्रिक पार्टीबाट सांसद/मन्त्रीसम्म भई यो संसारबाट बिदा हुनुभयो। बजरंग सर पनि बुवाकै नियति भोगिरहनु भएको छ, चरम उपेक्षाको।
हेडसर मेघराज कोइरालाकै दाजु माधव कोइराला पनि शिक्षक हुनुहुन्थ्यो, जो कांग्रेसको जिल्ला राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। २०४८ सालको चुनाव प्रचारको सिलसिलामा लालबन्दीमा आयोजित सभामा प्रमुख वक्ता तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। जब्दीबाट एउटा जुलुस ‘मण्डले चोर, देश छोड’ नारा घन्काउँदै सभास्थलतिर बढ्छ। माधव सर स्टेजबाटै ‘मण्डले पनि यही देशका नागरिक हुन्, देश छोड् भन्न हुँदैन’ भन्दै सुझाउनुहुन्छ, “तिनले देशमा फोहोर बनाए, यसैले भनौँ– मण्डले चोर, विष्टा सोर।” किसान आन्दोलनमा अधिक सक्रिय माधव सर दुग्ध विकास बोर्डको अध्यक्ष बन्नुभएको थियो।
स्कुलमा आउजाउ गरिरहने रामहरी जोशीको अगुवाइमा स्कुलमै स्काउटको शिविर भएको थियो। अरू पनि थुप्रै कांग्रेसीहरू ‘भिजिटिङ शिक्षक’ का रूपमा आउँथे–जान्थे, अर्थात् प्रेमदयाल–बासु काका कहाँ सेल्टर लिएर बस्दा स्कुलमा योग्यताअनुसार पढाउने, जाने गर्थे। अहिले सम्झिँदा ती फकिर जस्ता थिए। बासु काकाकै छोरी मिनु कोइराला (काफ्ले) ले एमए पास गरेपछि हामीलाई पढाउनुभयो।
बागलुङका तीन जना शर्मा दाजुभाइ राजेन्द्र, चुडामणि र दीनबन्धु पनि शिक्षक हुन आइपुगेका थिए। “२०४०/४१ सालतिर हामी बाग्लुङे तीन भाइलाई बेरोजगारीबाट मुक्त गराउँदै काठमाडौँबाट टपक्क टिपेर नवजीवन विद्याश्रममा लगी स–सम्मान, स–प्रेम शिक्षक बनाइराख्नुभयो,” बासु काकाको निधनपछि डा. दीनबन्धु शर्माले फेसबुकमा लेख्नुभएको छ।
कांग्रेसीहरूकै बोलवाला भएको स्कुलमा साहित्यकार प्रेमा शाह पनि अट्नुभएको थियो। उहाँको साहित्यिक व्यक्तित्व अलिपछि थाहा पाइयो। जल (एक समय चल्तीकी नायिका) त्यही जन्मिइन्।
राजनीतिमा दिलचस्पी नभएका प्रेमदयाल बासु काकाको प्रभावले कांग्रेसी नै भएका थिए। जनमत संग्रहमा बहुदलकै पक्षमा उभिएका उनको घर र स्कुलमा बीपी पनि पुगेका थिए। बासु काकाकै साढुभाइ हरिहर विरहीका अनुसार, कांग्रेसलाई सघाएकै कारण प्रेमदयाललाई जलेश्वर जेलमा जाकिएको थियो। २०३६ सालमा बहुदलको पक्षमा खुलेका उनकै कम्पाउण्डमा निलो झण्डा फहरिन्थ्यो।
नवजीवनकै पूर्व विद्यार्थी तथा कांग्रेसमा आबद्ध उद्धव पौडेलका अनुसार, त्यहाँ निलो झण्डा फहरिएपछि पञ्चायत समर्थक स्थानीयले गाउँमा पहेँलो झण्डा गाडेका थिए। स्थानीयहरूकै जोडबलमा उम्मेदवार बनेका प्रेमदयाल २०३९ सालको स्थानीय चुनावमा प्रधानपञ्चमा जिते। पञ्चायतको अन्तिम स्थानीय चुनाव (२०४३) पनि जितेका उनी २०४९ को स्थानीय चुनावमा थोरै मतान्तरले पराजित भए। २०५४ सालको चुनावमा जिते, एकाध वर्षमै बिदा भए। दुवैचोटि स्वतन्त्र उम्मेदवार थिए।
“क्रिश्चियन धर्म प्रचारक भनिए पनि धर्मान्तरणमा कुनै रुचि नदेखाई सामाजिक काममा खुलेर खर्च गरेका कारण स्थानीयले उनलाई मन पराए,” स्कुलकै पूर्वविद्यार्थी तथा स्थानीय उद्धव पौडेल भन्छन्। प्रेमदयालले स्कुलको दीर्घजीवनका लागि नवलपुरमा हाटबजार लगाउन जग्गा किनेर स्कुलका नाममा गरिदिएका थिए। स्कुलका नाममा खेत पनि किनिदिए।
बासु काकाकै पहलमा जुटपानीमा परोपकार (दयावीर सिंह कंसाकारवाला) को प्राथमिक उपचार केन्द्र स्थापना भएको थियो। नरेन्द्रबहादुर थापाले निःशुल्क जग्गा दिएपछि भवन निर्माणका लागि चन्दा संकलन गरियो, नपुग प्रेमदयालले नै हाल्दिए। पुरानो कांग्रेसी सम्बन्धका कारण तत्कालीन स्वास्थ्य राज्यमन्त्री अर्जुननरसिंह केसी उद्घाटनमा पुगेका थिए।
पञ्चायतले अन्तिम सास फेरिरहेका बेलाचाहिँ बासु काका र प्रेमदयालकै बीच सम्बन्ध चिसियो, जुगलबन्दी टुट्यो। प्रशासनको दबाबका कारण कांग्रेस शिक्षकहरू बाहिरिन पर्यो। हेडसरसहित धेरै शिक्षक बाहिरिए, नयाँ शिक्षक आए। पुरानाभन्दा कमसल नै भित्रिए, क्लासमै खैनी माड्दै ‘पढ–पढ’ भन्ने पनि भए। स्कुल अवलोकनमा शरदचन्द्र शाह (राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य–सचिव शाह पञ्चायतको उत्तराद्र्धमा निकै शक्तिशाली मानिन्थे) आउँदा र स्वास्थ्य राज्यमन्त्री अर्जुननरसिंह केसी आउँदा पिटी प्रदर्शन गरेको बाल्यकालीन धुमिल याद छ। प्रेमदयालको निधनपश्चात स्कुल संकटमा पनि पर्यो, स्कुलको स्रोतबाट तलब नपुग्ने भयो।
बुढानीलकण्ठ स्कुलले परीक्षा लिई बर्सेनि २५ विद्यार्थी पठाउने, स्कुलबाट दुई विद्यार्थी पढाउन ल्याउने सम्झौता भयो। अंग्रेजी मिडियम अनिवार्य गरियो। बजारलगायत स्कुलका स्रोतहरू नगरपालिकाले परिचालन गर्ने, आवश्यक बजेट उसैले दिने बन्दोबस्त गरेपछि स्कुल स्थापनाकालीन अवस्थामा पुगेको छ। बुढानीलकण्ठको साझेदारीपछि जिल्लाका परपरबाट विद्यार्थीहरू होस्टेल बसेर पढ्नेगरी भर्ना भएका छन्। अहिले १४ सय विद्यार्थी पढ्छन्। बुढानीलकण्ठ स्कुलले चाहिँ नवजीवनबाट विद्यार्थी ल्याउन छाडेको छ।
प्रधानपञ्च भएपछि प्रेमदयालको बासस्थान क्रमशः कांग्रेसको सेल्टर हुन छाड्यो। अहिले वृद्धाश्रम बनाइएको बासु कोइरालाको घर चाहिँ बडेबडे नेताहरूको पनि बास बस्ने ठाउँ हुन्थ्यो। २०४८ सालको चुनावी प्रचारमा देशव्यापी दौडाहामा निस्केका गिरिजाप्रसाद कोइराला एकरात त्यहाँ बस्दा बासु काकाले मसहित केटाहरूलाई भेट्न बोलाएका थिए। पञ्चायतकालमै एकचोटि बासु रिसाल पुग्दा जिल्लाभरका कांग्रेसी (कति नै हुन्थे र) भेला भएका थिए। ‘यहाँ भाषण गर्न नदिने आदेश छ’ भन्दै पुलिसको दलबल आएर घेरेको अवस्थामा एकदम अनौपचारिक शैलीमा ‘एकचोटि यस्तो भएको थियो’ भन्दै एउटा घटना सुनाउँदै आफूले भन्नपर्ने कुरा उपस्थित कांग्रेसीहरूलाई सुनाएका थिए।
पूर्व–पश्चिम राजमार्गबाट मलंगवामा जाने रोडनेर रहेको बासु काकाको घरमा सत्तामा पुगेका कांग्रेसका पुराना नेताहरू छिर्थे नै। मन्त्रीमा बहाल रामचन्द्र पौडेल हुन वा शक्तिशाली सुशील कोइराला, घरमा छिरेको देखियो। “बासु दाइको अहिले वृद्धाश्रम बनेको घरमा म कयौंपटक बसेको हुँ,” जयप्रकाश आनन्द फेसबुकमा लेख्नुहुन्छ, “पञ्चायतकालका कठिन दिनहरूमा बासु दाईका अजस्र/अथक संघर्षको केही भाग जानेको छु।”
हरिहर विरहीका अनुसार त, मेलमिलापपछि देश फर्किंदा भतिजाहरूसँग पारिवारिक किचलोका कारण गणेशमान सिंह चाक्सिबारी घर जान नचाहेपछि बासु काकाले नै लाजिम्पाटमा स्वागत गर्नुभएको रहेछ। गिरिजाबाबुको त गुटकै हुनुहुन्थ्यो भन्दा पनि फरक पर्दैन। तर प्रजातन्त्र आएपछि बासु काकाले न पार्टी संगठनमा उचित जिम्मेवारी पाउनुभयो, न कुनै राजकीय पद नै। २०४८ सालमा प्रतिनिधिसभा सदस्य टिकटको आकांक्षी हुनुहुन्थ्यो, तर टिकट पाउनुभएन। दुई वर्षअघि मात्रै जनआन्दोलन दबाउन गठित प्रतिकार समितिमा बसेर जनआन्दोलन दबाउन सक्रिय प्रदीप यादवले टिकट पाउँदा उहाँ खाली हात हुनुभयो।
बासु कोइरालाप्रति उपेक्षाको कुरा उप्काउँदा विश्लेषक हरि शर्माले गैँडाकोट (नवलपुर) का तिलक सापकोटालाई सम्झनुभयो। केही महिनाअघि बितेका सापकोटाको घरमा बाटो पर्दा बीपी कोइराला बास बस्नुहुन्थ्यो। आफ्नो कार्यक्षेत्रमा सामाजिक कार्यमा उनको उल्लेख्य योगदान थियो। पार्टीप्रति अनवरत समर्पणमा कुनै कमी थिएन। तैपनि पार्टीको जिल्ला नेतृत्वसम्म पनि पाउनुभएन। लण्डनमा बसेर फेसबुकमा तिलक सापकोटाउपर अन्यायबारे चिच्याइरहने थानेश्वर सापकोटाले गिरिजाप्रसाद कोइरालाको कारण त्यस्तो भएको बताए। “तिलक सापकोटा र सूर्यभक्त अधिकारी दुवै गैँडाकोटाका, दुवै कोइरालाप्रति बफादार” उनी भन्छन्, “सूर्यभक्तलाई च्यापेका कोइरालाले तिलकलाई हेर्दै हेरेनन्।”
बासु काकाको हकमा पनि दोष गिरिजाप्रसादलाई दिनुपर्ने हुन्छ, उहाँ त्यही गुटप्रति बफादार हुनुहुन्थ्यो– गणेशमानसँग आगाध सम्मानका बाबजूद। “बासुजीप्रति पार्टीले गरेको उपेक्षा अमानवीय नै भन्न मिल्नेखालको हो,” विरही भन्छन्, “यस्तो अमानवीयतुल्य उपेक्षा धेरै कांग्रेसीले भोगे।”
सशस्त्र संघर्ष दौरानमा बासु काकाले सीतामढीबाट बम बोकेर पठाउँदा पक्राउ परी चरम यातानापूर्वक जेल जाकिएका अशोक खनाल, धीरेन्द्र श्रेष्ठ, रामचन्द्र यादव, भिखारी मन्सुरमध्ये मन्सुरले राष्ट्रियसभाको मौका पाए। धीरेन्द्रले २०४९ सालमा मलंगवाको मेयरको टिकट पाए। अशोक र रामचन्द्रको भागमा त ‘बाबाजीका ठूल्लू’ मात्रै। कठिन संघर्ष गरेका, तर नेताहरूले बाबाजीका ठूल्लु देखाइदिएका नेतामा झापाका जीतबहादुर पुरीलगायत अनेकनको नाम छन्।
राजा ज्ञानेन्द्रले २०६१ सालमा ‘कू’ गरेको कालखण्डमा कांग्रेसको जिल्ला नेतृत्व चयन गर्नुपर्ने भएपछि पुनश्चः बासु काका अपरिहार्य भए। सभापतिका दाबेदारहरू पत्याइएनन्। सभापति त बनाउँला, भोलि राजाको पक्षमा वक्तव्य दियो भने के गर्ने भन्ने यक्ष प्रश्न खडा भयो। जोखिमरहित बासु काका नै पहिचान भए। महन्थ ठाकुरले प्रस्ताव गरेपछि बासु काका खुशी–खुशी तयार भएर एकचोटि पार्टी सभापति भइदिए, आन्दोलन जो गर्नुभयो।
जेपी आनन्दले फेसबुकमा बासु काकाप्रति श्रद्धान्जलीमा लेख्नुभएको छ– “त्यो जमाना पनि थियो, जब म कहाँ छु भन्ने सूचना दिनेलाई ठूलो आर्थिक पुरस्कारको घोषणा गरिएको थियो। मेरो टाउकोको मूल्य तोकिएको थियो। आज म यहाँ छु–वृद्धाश्रममा कहिलेकाँही तपाईंहरू आउनु हुन्छ, बडो खुशी लाग्छ।” त्यस दिन म त्यहाँ पुगेको बेलामा भावविह्वल भएर बासु दाइले उपर्युक्त कुरा भन्नुभयो। उमेरको ९१ वर्षमा हुनुहुन्थ्यो– पूरै सचेत। विभिन्न व्यथाले थलिनु भएको थियो। लामो समयसम्म मैले बोल्दै गरेको सुन्नुभयो। कानूनले मलाई दलीय राजनीतिको संलग्नताबाट बाहिर पारेको सुनेर भन्नुभयो, “मैले कर्तव्य सम्झेर राजनीतिमा मेरो संलग्नताको अध्याय पूरा गरेँ। यो सानो संसार बनाएको छु। बौलाएका, खाना नपाएर रूखमुति लडिरहेका, खोलामा गिट्टी कुटेर बेहोस भएका वृद्धहरू यहाँ छन्। गिट्टी कुट्नेले पनि देशका लागि योगदान गरेका हुन्छन् नि! यिनीहरूले दुई गाँस खाना खाएर शान्तिका साथ मर्न पाउनु पर्दछ।”
नेताहरूले योगदानको कदर गर्न आवश्यक नठाने पनि ‘गिट्टी कुट्नेले पनि देशका लागि योगदान गरेका हुन्छन नि’ भन्ने बासु काका भदौ ३ गते एकाबिहानै यो संसारबाट बिदा हुनुभएकाले नेताहरूलाई कदर गर्ने घाँडो त सकिएको छ, फेरि आन्दोलन गर्नपर्यो भने चाहिँ उपलब्ध हुनुहुने छैन। अलबिदा बासु काका।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
