दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते, ४ गम्भीर

नौगाड गाउँपालिकाको होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको जिप बिहीबार बिहान दुर्घटना भएको छ।

खलंगा– दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो।

दुर्घटनामा ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेको उनले बताए। 

चालकसहित १२ जना सवार उक्त जिप चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। जिपचालक लोकेन्द्रसिंह ठगुन्ना पक्राउ परेका छन्।