अबिच्युरी

कांग्रेसका अनवरत बफादार

सीडीओलाई हानेको गोली सुरक्षागार्डलाई लागेर मृत्यु भयो। त्यहीताका बासुजीले बमसहित पठाएका चार युवक अशोक खनाल, धिरेन्द्र श्रेष्ठ, भिखारी मन्सुर र रामचन्द्र राय बमसहित समातिएका थिए।

मेरो ६ वर्षको जेल बसाइ टुंगिएपछि २०३१ सालतिर बासु कोइरालालाई पहिलोचोटि भेट्न सीतामढी (बिहार) पुगेको थिएँ। त्यसबखत कांग्रेस सशस्त्र क्रान्तिको तयारीमा जुटेको थियो। मधुवनी, सीतामढी, बलरामपुर (उत्तर प्रदेश) लगायत ठाउँमा क्याम्प खडा गरिएको थियो। बासुजी सीतामढी क्याम्पको इञ्चार्ज हुनुहुन्थ्यो।

‘पर्चा निकालेर त परिवर्तन सम्भव छैन’ भनेर मैले भन्दा उहाँले क्रान्तिको शंखनाद भएपछि २००७ सालमा राणाशासन ढलेजस्तै पञ्चायत पनि  गर्ल्यामगुर्लुम्मै ढल्छ जसरी सशस्त्र तयारीबारे जानकारी गराउनुभएको थियो। सशस्त्र संघर्षमा ठूलो क्षति व्यहोरेपछि चाहिँ हजारौँ लडाका अनि हतियारसमेत सारा तयारी भएको भनेर उहाँले मलाई सुनाएको कुरा अतिरञ्जित रहेछ भन्ने त थाहा भयो, तर एउटा नेताले मजस्तो युवकलाई उत्साहित गर्न त्यसो त भन्नैपर्थ्यो।

बासुजीको कुराबाट उत्साहित म सशस्त्र क्रान्तिमा जिम्मेवारी माग्न सारनाथ त पुगेँ, तर बीपीले मलाई बन्दुक होइन कलम थमाइदिनुभयो। पार्टीको प्रकाशनहरूमा सक्रिय हुने आदेश दिनुभयो। शैलजा आचार्य प्रधान सम्पादक रहेको ‘तरुण’ पत्रिकाको सम्पादन मण्डलमा रहेर काम शुरू गरियो।

खोपासी (काभ्रे) को कट्टर वैष्णव परिवारमा जन्मिएका बासुजीले कांग्रेसको केन्द्रीय समिति सदस्य बनेपाका राजदास श्रेष्ठको प्रेरणामा २०१२ सालमा सदस्यता ग्रहण गरेका थिए। बीपी र गणेशमानबाट अग्घोरै प्रभावित उहाँमा त्यही नेतृत्वबाट समाज परिवर्तन गर्ने हुटहुटी थियो। बीपी र गणेशमानले भनेपछि कुनै प्रश्न, शंका नगरी भरोसा गरिहाल्नुहुन्थ्यो।

बासुजीलाई सदस्यता दिने राजदास २०१५ सालको आमचुनाव अघि नै सिमराबाट काठमाडौँ आउनेक्रममा विमान दुर्घटनामा परी बितिसक्नु भएको थियो। उहाँ पार्टीको उम्मेदवार जिताउन सक्रिय हुनुभयो। २०१७ सालको ‘कू’ पछि जेल पर्नुभयो, छुटेपछि भारत प्रवासमा गई सुवर्णशमशेरको नेतृत्वमा भइरहेको सशस्त्र क्रान्तिको तयारीमा सहभागी हुनुभएको थियो।

२०१८ सालको सशस्त्र क्रान्तिमा बन्दुक उठाई भीमबहादुर तामाङ आदिसहित सिन्धुलीको मोर्चामा सहभागी हुनुभएका उहाँ पक्राउ परेपछि भद्रगोल जेलमा चरम यातनासहित लामो समय (६ वर्षजति हुनपर्छ) बिताउन पर्‍यो। जेलमा दिइएको यातनाबारे उहाँले मलाई सुनाएका कुरा शब्दमा वर्णन गर्न गाह्रो छ।

सीतामढी क्याम्पबाटै सर्लाहीको सीडीओ (रामनारायण सिंह) लाई हान्न गंगाबहादुर क्षेत्रीलाई पेस्तोलसहित मलंगवा पठाइएको थियो। सीडीओलाई हानेको गोली सुरक्षागार्डलाई लागेर मृत्यु भयो। त्यहीताका बासुजीले बमसहित पठाएका चार युवक अशोक खनाल, धिरेन्द्र श्रेष्ठ, भिखारी मन्सुर र रामचन्द्र राय बमसहित समातिएका थिए। हतियार उठाएको क्रान्तिकारी हुँदाहुँदै उहाँमा सेवाभाव र अध्यात्म बलियोगरी गढेको थियो।

वैष्णव परिवारमा जन्मिएको उहाँमा अध्यात्मसँग छुट्टै लगाव थियो, उहाँ फेरि धर्म परम्परा पछ्याउनेखाले चाहिँ होइन। मठमन्दिर, बौद्धविहारले पुलकित पार्थ्यो। उहाँकै मुखबाट सुने अनुसार, बाल्यकालमै केही समय अलाहाबाद (प्रयागराज) आश्रममा केही समय बिताई अध्ययन गर्नुभएको थियो।

सीतामढीमा बसेर सशस्त्र क्रान्तिको तयारी रहिरहेकै बेला यता श्रीमती मञ्जु कोइरालालाई घरमा बन्दुक राखेको अभियोग लगाई जलेश्वर जेलमा जाकियो। बासुजीलाई सघाएकै कारण प्रेमदयाल प्रधान (प्रधानको प्रसंग पछि आउनेछ) पनि जलेश्वरमै बन्दी भए। संयोगले एकचोटि त म, मञ्जुजी र प्रेमदयाल तीनैजना जलेश्वर जेलमा थियौँ।

‘श्रीमानलाई समेत नभेटी शान्तिपूर्वक जीवनयापन गर्छु’ भन्ने व्यहोराको कागजमा सहीछाप गरे रिहा गरिदिने भनेर अञ्चलाधीशले पठाएको प्रस्ताव मञ्जुजीले ठाडै अस्वीकार गर्नुभएको थियो। श्रीमानसँग सल्लाह नगरी कुनै कागजमा सही नगर्ने  अडान उहाँले लिनुभयो। अनाहकमा श्रीमतीले दुःख पाए पनि बासुजीले कागज गरी छुटोस् भन्ने चाहनुभएन। मेरो कारणले परिवारलाई दुःख दिन्छन् भने कतिसम्म दुःख दिने रहेछन् हेरौँ न भन्नुभयो। मञ्जुजी कै बहिनी ज्ञानुसँग प्रेम बसेपछि २०३८ सालमा हामीले विवाह गर्‍यौँ।

२०३३ सालमा बीपीले राष्ट्रिय मेलमिलाप घोषणा गरेपछि प्रवासबाट फर्किने पहिलो टोलीमा बासुजी हुनुहुन्थ्यो। भतिजाहरूसँग पारिवारिक किचलोका कारण गणेशमानजीले घर (चाक्सीबारी) जान सहज नठानेपछि बासुजीले लाजिम्पाटको घरमा बसाउनुभयो। जनमत संग्रहको घोषणाले भेट्नेहरूको भीड बढ्न थाल्यो, अनि ताहाचलतिर एकजना शुभचिन्तकको घरमा सर्नुभएका गणेशमानजी अलिपछि चाक्सीबारी प्रवेश गर्नुभएको थियो।

अमानवीय यातना सहेर अविचलित प्रजातन्त्रको संघर्षमा सक्रिय बासुजीले प्रजातन्त्रकालमा अमानवीय नै भन्न मिल्ने उपेक्षा पार्टीबाट सहनुपर्‍यो। उहाँले टिकट वा अरू कुनै राजकीय पद पाउनु भएन। पार्टीको संगठनमा उहाँको उचित मूल्यांकन भएन। पहिले काभ्रे, अनि बसाइँ सरेपछि सर्लाहीकै पार्टी जिल्ला सभापति हुनुभयो। किसान संघको केन्द्रीय अध्यक्ष हुनुभयो, पार्टीको केन्द्रीय समितिका लागि पनि उहाँलाई पत्याइएन। उपेक्षित प्रजातन्त्र सेनानीहरूलाई संगठित गरी निराशाबाट निकाल्ने सत्प्रयास पनि गर्नुहुन्थ्यो।

२०४८ सालको आमचुनावमा सर्लाहीबाट प्रतिनिधिसभा सदस्यका लागि दाबेदार हुनुहुन्थ्यो। सर्लाहीको टिकट वितरणमा निर्णायक रामहरि जोशीले नचाहँदा बञ्चित हुनुपर्‍यो। त्यसपछि समेत टिकटको आकांक्षा राखे पनि पाउनुभएन। गणेशमानले पार्टी परित्याग गर्दा मर्माहत उहाँ शेरबहादुर देउवाले पार्टी विभाजन गरेपछि चाहिँ राजनीतिबाटै विरक्तिनुभयो। सर्लाहीको जुटपानीस्थित आफ्नै घरलाई वृद्दाश्रममा परिणत गरी ज्येष्ठ नागरिकको सेवामा समर्पित हुनुभयो। वृद्धाश्रममा उहाँका लागि छुट्टै खाना पाकेन, आश्रितहरूलाई जे पाक्यो त्यही खानुभयो।

कठोर संघर्षका बाबजूद कांग्रेस सत्तामा रहँदा कुनै लाभ नपाउने व्यक्तिको कुरा हुँदा बासु कोइरालाको नाम आइहाल्छ। कुनै लाभबेगर पनि कोही कसरी पार्टीको अनवरत बफादार हुन्छ भन्ने उदाहरण हुन्, बासु कोइराला। सक्रिय राजनीतिबाट अलग्गिए पनि कांग्रेसप्रतिको प्रेममा कुनै कमी आएन। अन्तिम दिनहरूमा पनि भेट्न जानेहरूलाई ‘केही नेता बिग्रिए होलान्, पार्टी खराब छैन, अहिलेका नेता चित्त नबुझे स्थापनाकालीन नेताहरू सम्झिनूस्, पार्टीलाई बलियो बनाउनुस्’ भन्ने गर्नुहुन्थ्यो।

सिन्धुली मोर्चाबाट पक्राउ परी भद्रगोल जेल बसाइमा बासुजीको संगत क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा जेल हालिएका प्रेमदयाल प्रधानसँग भएको थियो। भारतको कर्स्याङ (खर्साङ) घर भएका उनी खासमा बंगाली थिए भनिन्छ। उनमा रहेको हल्का शारीरिक अपाङ्गता पाइलटको रूपमा दोस्रो विश्वयुद्धमा लड्दा भएको विश्वास गरिन्थ्यो। सरकारले लाजिम्पाटमा सञ्चालन गरेको स्कुल नवजीवन विद्याश्रम बन्द गरी उनलाई जेल हालेको थियो। जेलमै मित्रता भएका उहाँहरूको मित्रता रिहा भएपछि निरन्तर रह्यो।

२०२८ सालतिर उहाँहरूले सर्लाहीको जुटपानीमा जग्गाहरू किनेर स्कुल सञ्चालनको तयारी गर्नुभयो। अनुमति पाएपछि २०३७ सालदेखि नवजीवन विद्याश्रमकै नाममा स्कुल सञ्चालनमा आयो। बासुजीको संगतमा राजनीतिमा दिलचस्पी नभएका प्रेमदयाल पनि कांग्रेसलाई माया गर्ने भए। एकचोटि बासुजीकै अनुरोधमा बीपीलाई आर्थिक सहयोग गरेको पनि मलाई थाहा छ। जनमत संग्रहमा पनि उनी बहुदलकै पक्षमा उभिए, बीपी उनको स्कुल पनि पुग्नुभएको थियो।

एउटा परम्परावादी ब्राह्मण परिवारमा जन्मिए पनि प्रजातन्त्रका लागि बन्दुक बोक्नुभएको उहाँको चेत पनि उस्तै थियो। भदौ ३ गते बिहानै सर्लाहीमा आफैले स्थापना गरेको वृद्धाश्रममा ९३ वर्षको उमेरमा देहत्याग गरेको खबर गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) को शववाहन सर्लाहीतिर हुँइकियो। बासुजी (मञ्जुजीले समेत) २०५९ सालमै शरीरदानको सम्झौता गरेका थिए।

This article has 2 mistake that I hope you will correct. I am not criticizing but stating the facts. First of all Prem Pradhan is from Ilam not Kurseong. And his leg injury was during WW2 since he was in Royal Air Force during British Rule in India. Yes he was s raised in Calcutta during Rana ‘s regime. I thought ( my father) Prem Pradhan met Basu Uncle in Central Jail. I remember Manju Aunty and Meenu stayed with us since Kamal Pokhari and Basu uncle was still in Jail. We went to visit there. The school in Lazimpat was already started before Basu Uncle came out of prison. Even though I was still young I clearly remember this because during the evenings lots of people came to visit him in secret. The land in Jutepani for school and farm was not that they bought it together but Prem Pradhan did. Yes he was instrumental in introducing the seller and Manju Aunty assisted in farming and managing. Basu Uncle was in Sitamadi then.We used to go for visit there. I understand that you are trying to write about Basu uncle and his political life which I am not aware of it But do a fact check before writing about my father. I think the first thing the writer should do is fact check. I am sorry for Basu Uncle’s demise. May the family find strength and peace.

Elishiba Pradhan

2 months, 4 weeks ago