क्यानडाको आर्थिक सूचकांकमा सुधार, मूल्य स्थिर

ट्रम्प प्रशासनले हालसम्म उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत रहेका वस्तुमा कर छुट कायम राखेको छ।

क्यानडाको वार्षिक मुद्रास्फीति दर जुलाईमा घटेर १.७ प्रतिशतमा पुगेको छ। यो गिरावट मुख्यतः पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीका कारण भएको बताइएको छ।

इरान र इजरायलबीचको युद्धविरामपछि कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण पेट्रोलको मूल्य ०.७ प्रतिशतले घटेको छ। यस घटनाले मध्यपूर्वमा सम्भावित युद्धको जोखिम कम भएको संकेत दिएको स्ट्याटिस्टिक्स क्यानडाले जनाएको छ। 

गत जुन महिनामा मुद्रास्फीति दर १.९ प्रतिशत थियो। त्यसबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका कारण केही वस्तु, विशेषतः सवारी साधनको मूल्यमा वृद्धि देखिएको थियो।

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको शुरूआतसँगै क्यानडामाथि भन्सार शुल्क लगाउन थालेपछि केही विश्लेषकले मुद्रास्फीति दर उच्च हुने सम्भावनाको बारेमा चिन्ता व्यक्त गरेका थिए। उनीहरूले केन्द्रीय बैंक ब्याजदर पुनः बढाउन बाध्य हुन सक्ने चेतावनीसमेत दिएका थिए। 

तर जुलाई महिनाको तथ्यांकले ती भन्सार शुल्कको प्रभाव धेरै वस्तुमा अपेक्षाकृत न्यून देखाएको छ।

“पछिल्ला मुद्रास्फीति दरले हाम्रो अनुमानलाई पुष्टि गर्छ, जसअनुसार धेरै भन्सार–सम्बन्धित मूल्य वृद्धि मार्च र अप्रिल महिनामै भइसकेका थिए,” डेजार्डिन्स संस्थाका विश्लेषक रोयस मेंडेस भन्छन्, “हालका मूल्य प्रवृत्तिले देखाउँछन् कि ती वस्तुको मूल्य वृद्धिदर अहिले सामान्य अवस्थामा फर्कँदै गएको छ।”

मुद्रास्फीति दर सुरक्षित दायरामा रहेकाले, क्यानडाको केन्द्रीय बैंकले आगामी सेप्टेम्बर महिनामा ब्याजदरमा पुनः कटौती गर्ने सम्भावना रहेको मेंडेसको भनाइ छ। बैंकले पछिल्ला तीन बैठकमा ब्याजदर अपरिवर्तित राख्दै आएको थियो।

प्रधानमन्त्री मार्क कार्नीले अगस्टको शुरूआतमा क्यानडा–अमेरिका बीचको करिब ८५ प्रतिशत व्यापार अहिले पनि दुई देशबीच शुल्करहित रूपमा सञ्चालन भइरहेको बताएका थिए। ट्रम्प प्रशासनले हालसम्म उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत रहेका वस्तुमा कर छुट कायम राखेको छ। (रासस/एएफपी)