किम जोङ उनले गरे नयाँ युद्धपोतको निरीक्षण, दक्षिण कोरिया–अमेरिकाको सैन्य अभ्यासको आलोचना

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको आलोचना गरेका छन्।

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको आलोचना गरेका छन्। उनले यस्तो अभ्यासलाई 'शत्रुतापूर्ण' भन्दै आणविक शक्तिलाई अझै छिटो विस्तार गर्ने घोषणा गरेका छन्।

दक्षिण कोरिया–अमेरिकाको ‘उल्ची फ्रिडम सिल्ड’ नामक ११ दिने अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन्। उत्तर कोरियाले यसलाई आफ्नो देशमाथि आक्रमणको तयारीका रूपमा हेर्दै आएको छ।

किमले ‘चो ह्योन’ नामक पाँच हजार टन क्षमताको यो विध्वंसक जहाजलाई उत्तर कोरियाको नौसेना आणविक शक्तिको मुख्य आधारका रूपमा वर्णन गरेका छन्। यो युद्धपोत ब्यालेस्टिक र क्रुज मिसाइलजस्ता आणविक सक्षम प्रणालीले सुसज्जित छ। अर्को वर्षदेखि यसलाई सक्रिय सेवामा ल्याउने तयारी भइरहेको छ।

यसै वर्ष उत्तर कोरियाले दोस्रो र तेस्रो विध्वंसक निर्माणमा पनि काम गरिरहेको जनाएको छ।

किमले सैन्य अभ्यासलाई ‘पहिलेभन्दा बढी उत्तेजक’ भन्दै सक्रिय र भारी प्रतिकार गर्ने चेतावनी दिएका छन्। उनले सुरक्षा वातावरण दिनप्रतिदिन गम्भीर बन्दै गएको र यसका लागि सैन्य सिद्धान्त तथा अभ्यासमा द्रुत परिवर्तन आवश्यक भएको बताए।

अर्कोतर्फ, दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङले भने वार्ता र विश्वास पुनर्स्थापनामा जोड दिँदै सन् २०१८ को अन्तर-कोरियाली सैन्य सम्झौतालाई पुनर्जीवित गर्न चाहेको बताएका छन्। तर, उत्तर कोरियाले त्यो सम्झौता पालना नगर्ने घोषणा गरिसकेकाले भविष्यमा संवाद हुने सम्भावना भने अनिश्चित देखिएको छ।