युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीका लागि युरोपेली कोषमार्फत ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्ने योजना रहेको बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीका लागि युरोपेली कोषमार्फत ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्ने योजनाको पुष्टि गरेका छन्। यद्यपि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रस्तावित त्रिपक्षीय बैठकको मिति भने अझै निश्चित छैन।
ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, “हामी त्रिपक्षीय बैठकका लागि तयार छौँ। यदि रुसले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई द्विपक्षीय प्रस्ताव गर्छ भने, त्यसको परिणाम हेरेपछि यो त्रिपक्षीय हुनसक्छ।”
उनले युक्रेन शान्तिको बाटोमा कहिल्यै नरोकिने र नेताहरूको स्तरमा कुनै पनि ढाँचाको बैठकका लागि तयार रहेको बताए।
जेलेन्स्कीका अनुसार, सुरक्षा ग्यारेन्टीको एक भागका रूपमा युक्रेनले युरोपेली कोष प्रयोग गरी ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्नेछ।
ग्यारेन्टीको अर्को भागमा युक्रेनले ड्रोन निर्माण गर्नेछ, जसको केही हिस्सा अमेरिकाले खरिद गर्नेछ। यससम्बन्धी कुनै औपचारिक सम्झौता नभए पनि आगामी एक हप्ताभित्र वा १० दिनमा सम्झौता हुने अपेक्षा गरिएको छ।
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ट्रम्पसँगको वार्ता ‘महत्त्वपूर्ण’ र ‘विस्तृत’ रहेको उल्लेख गरे। “हामीले राष्ट्रपति ट्रम्पसँग धेरै विषयमा छलफल गऱ्यौँ, जसमा युद्धको मैदानको अवस्था र शान्ति नजिक ल्याउनका लागि हाम्रा कदमहरू समावेश थिए,” उनले भने। युरोपेली नेताहरू र ट्रम्पबीचमा पनि एउटै ढाँचाका धेरै बैठकहरू भएको उनले बताए।
वार्तामा रुसद्वारा बन्दी बनाइएका युक्रेनी बालबालिका, युद्धबन्दी र नागरिकहरूको रिहाइमा पनि विशेष ध्यान दिइएको र यस विषयमा काम गर्ने सहमति भएको उनले बताए।
अमेरिकी राष्ट्रपतिले नेताहरूको स्तरमा हुने बैठकलाई पनि समर्थन गरेको र संवेदनशील मुद्दाहरू समाधान गर्न यस्ता बैठकहरू आवश्यक हुने जेलेन्स्कीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
