उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला

बर्दिबास–१२ का महिलाले सामूहिक रूपमा आँप, अमला, खोर्सानी, लसुन, अदुवा, सर्स्युं, लप्सीलगायतको अचार उत्पदान गर्न थालेका छन्। समूहमा आबद्ध भएपछि उनीहरू आत्मनिर्भर बन्दै गएका छन्।

महोत्तरी– बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरेका छन्। आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन्।

बर्दिबास–१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालाले दुई वर्षअघि स्थानीय सामग्रीको सदुपयोग गरी विभिन्न किसिमका अचारका परिकार बनाएर बजारीकरण गर्ने योजना बनाएको बताएकी थिइन्। “त्यसपछि घरमा विभिन्न थरीका अचार बनाउन थालेँ। बिस्तारै बजारीकरणमा पहल थालेपछि अचारले राम्रो बजार पायो र यसलाई निरन्तरता दिन थालेकी हुँ,” उनले भनिन्। 

तिहारमा अचारको माग बढेसँगै पर्वलक्षित परिकार बनाउने र बेच्ने उनको योजना छ। “सेल, अनर्सा, खजुरी, पत्रे र नमकिनका विभिन्न परिकार बनाउन थालेँ। बजारमा माग पनि प्रशस्त हुन थाल्यो। त्यसपछि महिला दिदीबहिनीसँग सेल, अनर्सा, खजुरी, पत्रे र नमकिनसहित आचार उद्योग सञ्चालनका लागि ‘पञ्चधुरा होममेड अचार’ उद्योग दर्ता गरेका हौँ,” उनले भनिन्। 

पूर्व–पश्चिम लोकमार्गसँगै बर्दिबास–१ मा सञ्चालित ‘पञ्चधुरा होममेड अचार’ उद्योगको पृष्ठभूमिबारे जानकारी दिँदै उनी भन्छिन्, “पहिले एक्लै थिएँ, अहिले आफूजस्तै केही गरौँ भन्ने सोचका साथीहरूको समूहमा सहभागी भएका छौँ।”

आफूले थालेको उद्योगबाट उत्पादित वस्तुको माग धान्न नसकेपछि कोइरालाले छरछिमेकका दिदीबहिनी जुटाएर समूह बनाइन्। यो समूह बन्न झन्डै एक वर्ष लागेको उनको अनुभव छ। 

२०८१ भदौमा समूह बनेपछि पहिलेको नाममा पछाडि ‘उद्योग’ थपिएको हो। “११ जना महिलाको समिति बन्यो। यत्रो जनशक्ति थप्दा पनि समूहका महिलालाई काम भ्याइनभ्याइ छ,” उनले भनिन्। 

आँप, अमला, खोर्सानी, लसुन, अदुवा, सर्स्युं, लप्सीलगायत विभिन्न किसिमका अचार उत्पदान हुँदै आएको छ। समूहमा आबद्ध भएपछि महिला आत्मनिर्भर बन्दै गएका छन्। 

उद्योग गत साउनदेखि पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको घरभाडा लिएर सञ्चालित छ। अहिले उद्योगको प्रदर्शनी तथा बिक्रीकक्ष उत्पादित अचारका बट्टाले सजिएका देखिन्छन्।

सेल र बदाम (चना) को घुगनी (तरकारी) खान टाढा–टाढाबाट ग्राहक आउने गरेका समूहकी सदस्य शारदा कोइरालाले जानकारी दिइन्। बिहान बेलुका अचार बनाउने र दिउँसो सेल र चनाको घुगनी बनाएर बेच्न गरेको उनले सुनाइन्। बर्दिबासस्थित मालपोत, यातायात, आन्तरिक राजस्व तथा नापी कार्यालय, नेपाल टेलिकम र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आउने सेवाग्राही र कर्मचारी नियमित ग्राहक बनेका उनको भनाइ छ।

“यहाँको सेल र चनाको तरकारीको स्वाद जिब्रोमै झुन्डिएको छ,” मालपोत कार्यालय परिसरमा लेखापढी काम गर्ने रामबाबु न्यौपानेले भने, “दिदीबहिनीले उदाहरणीय कामसँगै आयआर्जन पनि गर्दै जानुभएको छ।” 

पञ्चधुरा ‘होममेड’ अचार उद्योगमा आबद्ध ११ जना महिलाले एक वर्षअघि प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले लगानी गरी कारोबार शुरू गरिएको समूहकी सचिव उषा ढकालले बताइन्। अनुसार यो समूह अहिले महिलाका लागि सिक्ने र सिकेको सीप काममा लगाउने केन्द्र बनेको छ। 

“समूहमा भएपछि एकअर्काको सीप र आपसी सल्लाहबाट धेरै कुरा जानिने रहेछ,” समूहमा आबद्ध लक्ष्मी कोइरालाले भनिन्, “आगामी दिनमा थप परिकार विस्तार गरी महिलाको संख्या पनि थप्दै जाने योजना छ।”

उद्योगमा महिलाको सामूहिक आबद्धताले आफ्नो आवश्यकता पूरा गर्न सहज हुनुका साथै आत्मनिर्भर बन्दै गइएको समूहका महिला बताउँछन्।