पाकिस्तानमा बाढी: ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता

उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा ३४४ जनाको ज्यान गएको छ भने १५० जनाभन्दा बढी बेपत्ता छन्।

फाइल तस्वीर

पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पख्तुनख्वामा आएको भीषण बाढीमा परी कम्तीमा ३४४ जनाको ज्यान गएको छ भने १५० भन्दा बढी मानिस अझै बेपत्ता छन्। प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकका अनुसार बुनेर र साङ्ला जिल्लामा सबैभन्दा बढी क्षति पुगेको छ।

निरन्तरको वर्षा र पहिरोको जोखिमका बाबजुद हजारौँ उद्धारकर्मीले भग्नावशेषमुनि दबिएका घर उत्खनन गर्दै बाँचेका मानिसहरूको खोजी गरिरहेका छन्।

“बुनेर जिल्लामा मात्रै करिब १५० जना अझै बेपत्ता छन्। उनीहरू भग्नावशेषमुनि फसेका वा बाढीले बगाएको हुन सक्छ,” खट्टकले भने। उनका अनुसार साङ्ला जिल्लामा पनि दर्जनौँ मानिस बेपत्ता छन्।

सबैभन्दा बढी क्षति बुनेरमै भएको छ, जहाँ कम्तीमा २०८ जनाको मृत्यु भएको र करिब १०-१२ वटा गाउँ आंशिक रूपमा पुरिएको प्रान्तीय उद्धार प्रवक्ताले बताए।

उद्धार एजेन्सीका प्रवक्ता बिलाल अहमद फैजीले भने, “भग्नावशेषमुनि फसेकाहरूको उद्धार कार्य जारी छ।” उनका अनुसार करिब दुई हजार उद्धारकर्मी नौ जिल्लामा राहत कार्यमा खटिएका छन्।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी जिल्ला बुनेरमा शुक्रबार आएको मुसलधारे मनसुनी वर्षापछि आकस्मिक बाढी र पहिरो गएको हो।

आपत्कालीन सेवाका प्रवक्ता मोहम्मद सोहेलका अनुसार क्षतिग्रस्त सडकहरूमध्ये आधाभन्दा बढी खोलिएपछि दुर्गम गाउँसम्म सवारीसाधन र ठूला मेसिनरी पुग्न थालेका छन्। प्रहरी र उद्धारकर्मीहरू ढुंगा-माटो पन्छाउँदै ध्वस्त भएका घरका भग्नावशेषमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन्।

सबैभन्दा ठूलो दुर्घटना कादर नगर गाउँमा भएको छ, जहाँ विवाहको पूर्वसन्ध्यामा बाढीको पानी घरमा पस्दा एउटै परिवारका २४ जनाको ज्यान गएको छ। परिवारका प्रमुख उमर खान भने घरबाहिर भएकाले बाँच्न सफल भए। उनका चार जना आफन्त अझै बेपत्ता छन्।

प्रान्तीय मुख्यमन्त्री अली अमिन गन्धापुरले शनिबार बुनेर पुगेर मृतकका परिवारलाई २० लाख रुपैयाँ (करिब सात हजार दुई सय डलर) सहयोग दिने घोषणा गरे। उनले पाल, खाना र सफा पिउने पानीको व्यवस्था गरी पानीजन्य रोग फैलन नदिन पहल भइरहेको पनि बताए।

प्रधानमन्त्री शाहबाज सरिफले राहत कार्यको प्रत्यक्ष निगरानी गरिरहेको र तत्काल सहायताको वितरण, फसेकाहरूको उद्धार तथा बेपत्ता व्यक्तिहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएको सरकारी विज्ञप्तिमा उल्लेख छ।

विपद् व्यवस्थापन प्राधिकरणले अगस्ट १७ देखि १९ सम्म थप बाढी र पहिरोको चेतावनी दिँदै स्थानीय प्रशासनलाई सतर्क रहन आग्रह गरेको छ। यस वर्ष जुन २६ देखि शुरू भएको मनसुनमा हालसम्म ६०० भन्दा बढीको ज्यान गइसकेको छ।

सन् २०२२ मा पाकिस्तानमा आएको कीर्तिमानी मनसुनी वर्षाले करिब एक हजार ७०० जनाको ज्यान लिएको थियो र लाखौँ घर ध्वस्त पारेको थियो। हरेक वर्ष जुनदेखि सेप्टेम्बरसम्मको मनसुनमा विशेष गरी उत्तरपश्चिमी पहाडी क्षेत्रका गाउँहरू आकस्मिक बाढी र पहिरोको जोखिममा पर्छन्।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियामा यस्ता चरम मौसमी घटनाहरू अझै धेरै र गम्भीर बन्दै गएका छन्।

यसैबीच, भारत प्रशासित कश्मीरमा पनि भारी वर्षापछि आकस्मिक बाढी आएको छ। कठुआ जिल्लामा कम्तीमा सात जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। किश्तवार जिल्लाको दुर्गम चोसिती गाउँमा तीन दिनअघि आएको बाढीपछि उद्धार टोलीले अझै खोजी कार्य जारी राखेको छ। यस घटनामा कम्तीमा ६० जनाको मृत्यु र १५० भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये करिब ५० जनाको अवस्था गम्भीर छ।

बाढी वार्षिक हिन्दू तीर्थयात्रा भइरहेका बेला आएको थियो। अधिकारीहरूले ३०० भन्दा बढीलाई उद्धार गरेका छन् भने करिब चार हजार तीर्थयात्रीलाई सुरक्षित स्थानमा सारिएको छ।