किसानले दिनभर खेतमा श्रम गर्छ। उसले उत्पादन गरेको अन्न सस्तो मूल्यमा बिक्छ। अर्कोतिर, एउटा कम्पनीले श्रमिक लगाएर उत्पादन गरेको ‘कोकाकोला’ भने धेरै मूल्यमा बेचिदिन्छ।
मार्क्सको 'पुँजी' (सन् १८६७) पुँजीवादी अर्थ व्यवस्थाको एक गहन आलोचनात्मक विश्लेषण हो। यसलाई राजनीतिक अर्थशास्त्रको मौलिक कृति मानिन्छ। यसमा मार्क्सले पुँजीवादलाई शोषण आधारित व्यवस्था मानेका छन्, जहाँ पुँजीपतिले श्रमिकको श्रमबाट अतिरिक्त मूल्य हडप्दै आफूलाई बलियो बनाउँछ। यसमा उनले पुँजीवादी व्यवस्था, त्यसको कार्य प्रणाली र अन्तर्निहित अन्तर्विरोधहरूको गहन विश्लेषण गरेका छन्। मार्क्सका अनुसार कुनै वस्तुको मूल्य त्यसमा लाग्ने श्रमको समयबाट निर्धारित हुन्छ, बजारको माग-आपूर्तिबाट हुँदैन। पुँजीवादमा श्रमिक र पुँजीपतिको बीचमा संघर्ष अनिवार्य हुन्छ, जसले अन्ततः समाजवादी क्रान्तिलाई जन्म दिन्छ। मार्क्सको यो कृतिलाई आधुनिक समाज विज्ञानको आधारग्रन्थ पनि भनिन्छ।
कृतिमा मार्क्सले पुँजीवादको मूल ढाँचा, श्रमिक शोषण, अतिरिक्त मूल्यको अवधारणा, पुँजीको केन्द्रीकरण, आर्थिक संकट र सामाजिक परिवर्तनका सिद्धान्तहरूलाई वैज्ञानिक ढङ्गले प्रस्तुत गरेका छन्। यहाँ पुँजी, श्रम, उत्पादन र सामाजिक परिवर्तनको गहिरो अर्थ थाहा पाउन सकिन्छ। यसमा आर्थिक सिद्धान्तमात्र उल्लेख छैन, सम्पूर्ण श्रमजीवी र पुँजीवादी शोषणको वास्तविकता छ। यसमा पुँजीवादी संरचनाभित्र लुकेको विरोधाभासले नयाँ सामाजिक युगतिर लिएर जाने कुरा उल्लेख छ। यो महत्त्वपूर्ण कृतिबाट आर्थिक नियमबारे थाहा पाउनुका साथै हाम्रो समाजलाई आकार दिने शक्तिबारे पनि थाहा पाउन सकिन्छ। यस पुस्तकको आज पनि अर्थशास्त्र र समाज विज्ञानमा धेरै महत्त्वपूर्ण स्थान रहेको छ।
वस्तु र मूल्य
कुनै चीज महँगो वा सस्तो किन हुन्छ भन्ने कुरा सबैभन्दा पहिले बुझ्नुपर्छ। खाना र सुनमा मान्छेका लागि खाना महत्त्वपूर्ण हो, तर खानेकुराको मूल्य थोरै हुन्छ भने सुनको हजारौँ/लाखौँ कसरी हुन्छ? यस्तो किन हुन्छ? यो प्रश्न केवल व्यापारको मात्र होइन, मानवीय श्रम, समाजको संरचना र हाम्रो सोचको दर्पण हो। मार्क्सका अनुसार कुनै पनि काममा आउने संसारका हरेक चीजलाई वस्तु भनिन्छ। तर हरेक वस्तु उपयोगको लागि सही हुँदैनन्। तिनीहरूको मूल्य पनि हुन्छ। कुनै पनि वस्तु दुई रूपमा हाम्रो सामुन्ने आउँछन्। उपयोग मूल्यबाट हामीलाई फाइदा हुन्छ। जस्तो कि, कपडाले हाम्रो शरीर ढाक्छ, किताबबाट ज्ञान प्राप्त गर्न सकिन्छ, रोटीबाट भोक मेटाइन्छ।
एउटा चीजलाई अन्य चीजहरूबाट बदल्ने कुरा हो विनिमय मूल्य। विनिमय मूल्यले नै बजारमा चीजहरूको मूल्य तय गर्छ। तर मुख्य प्रश्न मूल्यको निर्धारण कसरी हुन्छ भन्ने हो। वस्तुको सुन्दरताबाट हुन्छ वा कुनै ब्रान्डबाट? या दुर्लभताबाट हुन्छ? होइन। यस सम्बन्धमा मार्क्सको उत्तर सरल, तीक्ष्ण र सच्चाइले भरिएको छ। हरेक वस्तुको मूल्य त्यसलाई बनाउन लाग्ने श्रमबाट निर्धारित हुन्छ। हामीले लगाउने हरेक चीज, प्रयोग गर्ने हरेक आवश्यक चीज र जीवन धान्ने प्रत्येक चीजमा श्रमिकको श्रम र पसिना रहेको हुन्छ। त्यसमा कुनै कारखानामा श्रमिकले व्यतीत गरेको समय वा कामको घण्टा हुन्छ। अर्थात् मूल्य भनेको श्रम हो। यही कुरा पुँजीवादी व्यवस्थामा लुकेको सबभन्दा ठूलो सच्चाई हो। चीजहरूलाई त्यसको ब्रान्ड, चमक र प्रचारबाट होइन, बरु त्यसको पछाडि लागेको मानव श्रमबाट बुझ्नुपर्छ।
पुँजीवादी समाजमा जुन काममा सबभन्दा बढी श्रम लाग्छ, त्यही नै सबभन्दा कम मूल्यमा बिक्छ। एउटा किसानले दिनभरि खेतमा श्रम गर्छ। तर पनि उसले उत्पादन गरेको अन्न सस्तो मूल्यमा बिक्छ। अर्कोतिर, एउटा कम्पनीले श्रमिकहरू लगाएर उत्पादन गरेको कोकाकोला धेरै मूल्यमा बेचिदिन्छ। यस्तो किन हुन्छ भने पुँजीवादी बजारमा श्रमलाई होइन, रूपलाई महत्त्व दिन सुरु गरिन्छ। मूल्यको वास्तविक परिभाषा श्रम हो भन्ने कुरा नबुझुन्जेलसम्म यो सोच र व्यवस्था टिक्नेछ। त्यति बेलासम्म समाजमा समानता र न्याय हुँदैन। मार्क्सका अनुसार कुनै चीजको वास्तविक मूल्य बुझ्ने हो भने त्यसको वस्तुगत स्थिति बुझ्नुपर्छ, त्यसको पछाडि लाग्ने श्रमिकका हातलाई हेर्नुपर्छ। पुँजीवादले श्रमिकको श्रम र मूल्य चुपचाप खोसिदिन्छ। यस कारण श्रम काम मात्र नभएर श्रमिकहरूको आफ्नो अधिकारको एक संघर्ष हो।
विनिमय प्रक्रिया
हामीसँग उपभोगका केही चीज हुन्छन् र अरूसँग फरक प्रकारका चीज हुन्छन्। यहाँ एक-अर्कोसँग चीज कसरी बदलिन्छ भन्ने कुरा बुझ्नुपर्छ। विनिमय केवल लेनदेन हो वा केही अरू नै हो? मसँग एउटा फलामको भाँडो हुन्छ र अर्को कोहीसँग एक बोरा मकै हुन्छ। यदि दुवैको आवश्यकता एक अर्कोको वस्तुबाट पूरा हुन्छ भने यसैलाई विनिमय भनिन्छ। यही नै सबभन्दा आधारभूत आर्थिक क्रियाकलाप हो, जसअनुसार एक वस्तुको बदलामा अर्को वस्तु विनिमय गरिन्छ। तर यो केवल वस्तुको लेनदेन मात्र होइन, सामाजिक सम्बन्ध पनि हो, जहाँ दुई व्यक्तिले एक अर्कोको आवश्यकता पूरा गर्न मूल्य बराबर वस्तुलाई अदलबदल गर्छन्।
यद्यपि, यहाँ एउटा विशेष कुरा अगाडि आउँछ। आपसी आवश्यकता त बुझ्न सकिन्छ, तर एउटा भाँडो बराबर एक बोरा मकै हुन्छ भन्ने कुरा कसरी निर्धारित हुन्छ? यहीँबाट मूल्यको तुलनात्मक आधार निर्धारित हुन्छ। मार्क्सका अनुसार दुई वस्तुहरू आपसमा अदलबदल हुँदा तिनीहरू एक साझा मानकसँग जोडिन्छन् र त्यो श्रम हो। भाँडो बनाउन जति श्रम लागेको छ, त्यति नै श्रम एक बोरा मकैमा लागेको छ भने यो विनिमयलाई समानताको आधार मानिन्छ। यसपछि यो विनियम प्रक्रियालाई समाजले कसरी बुझ्छ र अपनाउँछ भन्ने कुरा आउँछ। यो प्रक्रिया समाजमा कुन चीज कति मूल्यवान् छ भन्ने कुराको साझा बुझाई भएपछि मात्र सम्भव हुन्छ। यो बुझाई स्वतः आउँदैन। यसलाई आदत, परम्परा र आर्थिक समझदारीको माध्यमबाट समयसँगै विकसित गरिन्छ।
जति जति विनिमय बढ्दै जान्छ, जति जति वस्तु र श्रम विविध हुँदै जान्छन्, एक नयाँ आवश्यकता मूल्यलाई मापन गर्न एक स्थिर माध्यम पैदा हुन्छ। त्यसपछि मुद्राको जन्म हुन्छ। वस्तुहरू आपसमा सीधा विनिमय हुन नसक्दा समाजले एक प्रतिनिधि वस्तु बनायो, जसले हरेक चीजको मूल्यलाई दर्साउन सकोस्। मुद्रा केवल सिक्कामात्र थिएन, श्रमको प्रतिनिधि पनि थियो। अब विनिमय वस्तु मुद्रामा परिणत हुन्छ र फेरि मुद्रा वस्तुमा। कसैले आफ्नो चीज बेच्छ, त्यसपछि मुद्रा प्राप्त गर्छ र त्यो मुद्राबाट अन्य चीज किन्छ। बिस्तारै विनिमयले एक नयाँ रूप लियो। अब यो केवल आवश्यकता मात्र थिएन, बरु व्यवस्था बनिसकेको थियो।
यदि मुद्रा श्रमको प्रतीक हो भने त्यसको माध्यमबाट मानिस मानिससँग जोडिरहेको छ वा पैसा नै असमानतालाई बलियो बनाउने एक पर्खाल बन्दै गइरहेको छ। विनिमय प्रक्रियामा बराबरीको भावना थियो, तर पुँजीवादले त्यसमा नाफाको भावना जोडिदियो। अब लेनदेन समानताको लागि रहेन, बरु नाफाको लागि हुन लाग्यो। यही नै पुँजीवादी व्यवस्थाको जरा हो।
पैसा र पुँजी
यहाँ पैसाको वास्तविक शक्ति कहाँबाट आउँछ भन्ने बुझ्नुपर्छ। पैसा केवल लेनदेनको माध्यम हो वा योभन्दा बढी? वस्तुहरूको मूल्य मापन गर्ने चीजलाई पैसा भनिन्छ। तर त्योभन्दा पनि अगाडि बढेर यो सत्ताको प्रतीक बन्छ। सुरुमा पैसा केवल एक माध्यम थियो, जसबाट वस्तुहरू किनिन्थ्यो र बेचिन्थ्यो। वस्तुहरूको बीचको एक पुलमात्र थियो पैसा। तर पैसा पुँजी बनेपछि त्यो लेनदेनको माध्यम मात्र रहेन। धेरै पैसा कमाउने तरीकाको लक्ष्य बन्यो त्यो। यहाँ मार्क्सको यो सूत्रलाई बुझ्नुपर्छ: पैसा-वस्तु-अतिरिक्त पैसा। यसको अर्थ पैसाबाट कुनै वस्तु किनिन्छ र त्यसपछि फेरि त्यसलाई बेचेर त्योभन्दा बढी पैसा कमाइन्छ। अतिरिक्त पैसालाई मार्क्सले अतिरिक्त मूल्य भनेका छन्।
अतिरिक्त मूल्य भनेको श्रमिकले गरेको श्रमभन्दा बढी पैसा कमाउनु हो। र, यही नै पुँजीवादको सबभन्दा ठूलो चतुर्याइँ हो। पैसाको यो शक्ति केवल लेनदेनमा मात्र हुँदैन, बरु यसलाई लगानी गरेर अरू पैसा कमाउन पनि हुन्छ। कुनै कारखानाले वा कम्पनीले आफ्नो काममा पैसा लगाएपछि त्यसले त्योभन्दा बढी पैसा प्राप्त गर्ने आशा गर्छ। यही आशाले पुँजीलाई सञ्चालित गर्छ। पैसा अब स्वयंलाई वृद्धि गर्ने धन बन्छ।
अब यो अतिरिक्त पैसा कहाँबाट आउँछ भन्ने प्रश्न उठ्छ। मार्क्सले यसको उत्तर स्पष्ट रूपमा दिएका छन्। अतिरिक्त पैसा श्रमिकहरूको श्रमबाट आउँछ, तर उनीहरूलाई त्यसको पूरा हक मिल्दैन। श्रमिकले काम गरेको बेला उनीहरूको श्रम पुँजीपतिको लाभमा परिवर्तित हुन्छ। त्यस कारण पैसा र पुँजीको बीचमा यो फरक बुझ्नु आवश्यक हुन्छ। लेनदेनको माध्यम हो पैसा, तर पुँजी स्वयंलाई बढाउन काम गर्नेचाहिँ पैसा हो। अब यहाँ पैसा पुँजी बनेपछि त्यसले हाम्रो दैनिक जीवनलाई कसरी बदलिदिन्छ भन्ने बुझ्नुपर्छ। कसैले पैसा बोल्छ भन्छन्, तर मार्क्सका अनुसार पैसा बोल्ने मात्र होइन, कसैको आवाज दबाउने माध्यम पनि बन्छ। यसले को अगाडि बढ्नेछ र को पछि नै रहनेछ भन्ने कुरा तय गर्छ। यसरी पैसा समाजमा एक शक्ति बन्छ र यसले श्रमिकहरूको शोषण गर्छ। यसबाट नै धनी अझ धनी बन्दै जान्छन् र गरिब अझ गरिब।
पुँजीको रूपान्तरण
यहाँ पैसाले केवल पैसाको लागि कसरी काम गर्छ भन्ने कुरा बुझ्नुपर्छ। पैसा पुँजी बनेपछि त्यो केवल सञ्चित धनमात्र रहँदैन। त्यसले कुनै जीवित शक्तिझैं काम गर्न थाल्छ। स्वयंलाई लगातार बढाउन त्यसले आफ्नो रूप परिवर्तन गर्छ। यो रूपान्तरण नै पुँजीको विशेष कुरा हो। मार्क्सका अनुसार पुँजी तीन मुख्य रूपमा बदलिन्छ: पैसा-वस्तु-पुँजी। यो एक चक्र हो। पैसा वस्तुमा बदलिन्छ, त्यसपछि वस्तु पुनः अतिरिक्त पैसामा बदलिन्छ। मार्क्सले यो रूपान्तरणलाई 'एमसीएम' सूत्रद्वारा व्यक्त गरेका छन्। यसको अर्थ हो, पहिले पैसा लगानी गरिन्छ, त्यसपछि त्यसबाट वस्तु किनिन्छ र अन्तमा ती वस्तुहरू बेचेर बढी पैसा कमाइन्छ। यो बढी पैसा वा अतिरिक्त मूल्य नै पुँजीको वास्तविक शक्ति हो।
यो अतिरिक्त पैसा पुँजीपतिको लगानीबाट आउँदैन। यो श्रमिकहरूकै श्रमबाट पैदा हुन्छ, जसलाई पुँजीपतिले स्वतन्त्र रूपमा प्रयोग गर्छन्। श्रमिकको श्रम नै पुँजीको मूल स्रोत हो। यो चक्रमा एउटा गहन विषय लुकेको हुन्छ। पैसा केवल वस्तुहरू किन्न मात्र उपयोग हुँदैन, बरु श्रमिकको श्रम किन्न पनि उपयोग हुन्छ। श्रमिकको शक्ति र श्रमबाट निर्मित वस्तुहरू नै पुँजीपतिको लागि सबभन्दा ठूलो पुँजी हुन्छ। यो रूपान्तरणबाट पुँजी के हो भन्ने कुरा बुझिन्छ। यो पैसा मात्र नभएर श्रमका अधिकारहरूमाथि नियन्त्रण हो। यसबाट के बुझिन्छ भने पुँजीवाद केवल आर्थिक प्रणाली मात्र नभएर एक सामाजिक संघर्ष पनि हो। यो संघर्ष हरेक वस्तुको पछाडि लुकेको हुन्छ।
श्रमशक्ति
यहाँ श्रमशक्ति के हो र त्यसले हाम्रो जीवनमा कसरी काम गर्छ भन्ने कुरा सामान्यतः बुझ्नुपर्छ। श्रम केवल मेहनत गर्ने क्षमता हो वा योभन्दा पनि बढी केही हो? श्रमशक्ति काम गर्ने शक्तिमात्र होइन, यो त मानिसलाई कुनै वस्तु वा सेवा निर्माण गर्न र बदल्न सक्षम बनाउने सम्पूर्ण क्षमता हो। श्रमशक्ति शारीरिक तागत मात्र होइन, ज्ञान, सीप, अनुभव र मानसिक शक्तिसमेत यसमा सामेल हुन्छ। यो त्यो शक्ति हो, जसलाई पुँजीपतिले त्यसबाट मूल्य उत्पन्न गर्न खरिद गर्छ।
यहाँ एउटा विशेष कुरा बुझ्नुपर्छ। पुँजीवादी व्यवस्थामा श्रमिकले आफ्नो श्रमशक्ति बेच्छन्, आफ्नो मेहनत वा उत्पादन होइन। यसको अर्थ श्रमिकले स्वयंलाई बेच्छन्। काम गर्ने क्षमता वा शक्ति बेच्छन्। तर श्रम शक्तिको मूल्य मजदुरलाई बाँच्न आवश्यक वस्तुहरूको मूल्यबाट तय हुन्छ, जसमा खाना, आवास, कपडा, स्वास्थ्य र शिक्षाजस्ता चीज पर्छन्। यी सबै चीजहरू मजदुरको श्रमशक्ति कायम राख्न आवश्यक हुन्छ। त्यस कारण श्रमशक्ति पनि एक वस्तु हो, जसको मूल्य त्यसको पुनरुत्पादनको खर्चसँग जोडिएको हुन्छ।
यहाँ श्रमिकले आफ्नो श्रमशक्ति बेचेपछि पुँजीपतिले उसलाई कतिसम्म काम लगाउन सक्छ भन्ने कुरा बुझ्नुपर्छ। श्रमिकले जति समय काम गर्छ, त्यसमध्ये केही समय उसको आफ्नो लागि हुन्छ र बाँकी समय पुँजीपतिको लागि हुन्छ। पुँजीपतिको नाफाखोरी प्रवृत्ति यहाँबाट सुरु हुन्छ, जहाँ श्रमिकलाई कामको घण्टाभन्दा बढी काम गराइन्छ। यो प्रक्रियालाई मार्क्सले अतिरिक्त मूल्यको उत्पादन भने। श्रमिकको श्रमशक्ति पुँजीको विस्तारको मूल आधार हो। यसबाट के बुझिन्छ भने श्रमशक्ति केवल एक तागत मात्र नभएर पुँजीवादी व्यवस्थाको सबभन्दा ठूलो सम्पत्ति हो। यो श्रमशक्ति पुँजीमा परिवर्तित हुन्छ।
अतिरिक्त मूल्यको रहस्य
यहाँ पुँजीपतिले कसरी आफ्नो पैसा वृद्धि गर्छ भन्ने कुरा बुझ्नुपर्छ। यो समझदारी वा भाग्यको कुरा हो वा यसको पछाडि कुनै गहिरो रहस्य लुकेको हुन्छ? पुँजीको वास्तविक रहस्य नै अतिरिक्त मूल्य हो। यो मूल्य श्रमिकको मेहनतबाट उत्पन्न हुन्छ। तर श्रमिकलाई उसको पूरा हिस्सा प्राप्त हुँदैन। श्रमिकले निश्चित समयसम्म काम गर्न सक्छ। तर उसले जति काम गर्छ, त्यसको मूल्य त्योभन्दा धेरै बढी हुन्छ। जस्तोकि, यदि मजदुरले सात घण्टा गर्छ भने त्यसमध्ये तीन घण्टामात्रै उसले आफ्नो तलब बराबर काम गर्छ र बाँकी चार घण्टाको काम पुँजीपतिको नाफा बन्छ। यही नै अतिरिक्त मूल्यको खास रहस्य हो।
अतिरिक्त मूल्य श्रमिकको कामको त्यो हिस्सा हुन्छ, जुन श्रमिकलाई दिइँदैन। यो सीधै पुँजीपतिको पोल्टामा जान्छ। र, यो अतिरिक्त मूल्य नै पुँजीवादको मुटु हो। मजदुरको अतिरिक्त कामबिना बन्न सक्दैन अतिरिक्त मूल्य। पुँजीपतिको नाफाखोरी प्रवृत्ति यसैमाथि टिकेको हुन्छ। कति भयङ्कर खेल छ यो। श्रमिकले आफ्नो मेहनतबाट मूल्य पैदा गर्छ र त्यसको ठूलो हिस्सा पुँजीपतिले हडप्छ। यसपछि पुँजीवादमा श्रमिक र पुँजीपतिको बीचमा यो गहिरो संघर्ष किन हुन्छ र यो अतिरिक्त मूल्य कसरी उत्पन्न हुन्छ भन्ने कुरा बुझ्नुपर्छ।
पुँजीवादको प्रवृत्ति
यहाँ पुँजीवाद के हो र यसको वास्तविक प्रवृत्ति कस्तो हुन्छ भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ। के यो केवल आर्थिक व्यवस्था मात्र हो वा यसको पछाडि धेरै गहिरो सामाजिक संरचना लुकेको हुन्छ? पुँजीवाद यस्तो प्रणाली हो, जहाँ पैसाले पैसा नै कमाउने काम गर्छ। यो व्यवस्थामा स्वयंलाई बढाउन पुँजी लगातार दौडिरहन्छ। मार्क्सका अनुसार पुँजीको मूल प्रवृत्ति असीमित विस्तारको चाहना हो। कहिल्यै नथाक्ने र कहिल्यै नरोकिने यन्त्रजस्तै छ यो। पुँजीले लगातार आफ्नो सीमा विस्तार गरिरहन्छ। यसले नयाँ नयाँ वस्तु र नयाँ नयाँ बजार खोजिरहन्छ।
पुँजीवादको यो अनियन्त्रित यात्रामा एउटा गहिरो विरोधाभास लुकेको हुन्छ। पुँजीवादले जहाँ उत्पादन बढाउँछ, त्यहाँ श्रमिकको अवस्था प्रायः धेरै खराब हुन्छ। जहाँ प्रविधिको विकास हुन्छ, त्यहाँ बेरोजगारी र असमानतामा पनि वृद्धि हुन्छ। पुँजीको प्रवृत्ति नै नाफा कमाउनु र धेरैभन्दा धेरै पुँजी उत्पन्न गर्नु हो। तर यसको लागि पुँजीपतिले मजदुरहरूको श्रम शक्तिको प्रयोग गर्छन् र तिनीहरूको शोषण पनि गर्छन्।
पुँजीवादी प्रणालीमा प्रतिस्पर्धा धेरै महत्त्वपूर्ण हुन्छ। पुँजीपति एक अर्कोबाट अगाडि बढ्न सधैँ भिडिरहन्छन्। उनीहरूले श्रमिकमाथि ज्याला कम गर्न र कामको घण्टा बढाउन दबाब दिइरहन्छन्। यसपछि यहाँ एक गहिरो सामाजिक सङ्कट उत्पन्न हुन्छ। पुँजीपतिको इच्छा श्रमिकका अधिकारविरुद्ध गएपछि संघर्षले जन्म लिन्छ। यसलाई वर्गसंघर्ष भनिन्छ। पुँजीवादको यो प्रवृत्ति बुझ्नु अनिवार्य हुन्छ। यसबाट नै पुँजीवादी प्रणालीले कसरी काम गर्छ र यसको कहाँ कमजोरी छ भन्ने कुरा बुझ्न सकिन्छ।
यन्त्र र आधुनिक उत्पादन
संसारमा यन्त्रले धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। यद्यपि, यन्त्रहरूको उद्देश्य केवल प्रगति मात्र हुँदैन, बरु सामाजिक र आर्थिक परिवर्तन पनि हुन्छ। यन्त्रले उत्पादनका तरीका बदलिदिएपछि यिनीहरू उपकरणको रूपमा मात्र हुँदैनन्, यिनीहरू पुँजीवादी व्यवस्थाको प्रकृतिलाई नै नयाँ आकार दिने बल बन्छन्। पहिले पहिले उत्पादनमा श्रमिकहरूको मेहनत, सीप र समयले प्रमुख भूमिका निभाउँथे, तर यन्त्रले यो सम्पूर्ण स्थिति उल्ट्याइदियो। अब उत्पादन तीव्र र धेरै मात्रा हुन थाल्यो र सस्तो दाममा सामान प्राप्त हुन लाग्यो। यन्त्रले कामलाई यान्त्रीकरण गर्यो र यो प्रक्रियामा श्रमिकको भूमिका बदलियो।
मार्क्सका अनुसार यन्त्र पुँजीपतिकै अर्को ठूलो पुँजी हो, जसलाई स्थिर पुँजी भनिन्छ। यो स्थिर पुँजी यन्त्र र औजारहरूमा लगानी हुन्छ। यसले श्रमिकको श्रमशक्ति कम बनाउँदै लान्छ। यसबाट श्रमिकको नोकरीमा पनि खतरा पैदा हुन्छ। धेरै पटक यन्त्रले श्रमिकलाई बेरोजगार बनाइदिए वा उनीहरूको श्रमलाई कम बनाइदिए र योग्यता घटाइदिए। पहिले श्रमिक सम्पूर्ण काम गर्थे, जसमा उनीहरूको पूरै प्रतिभा र दक्षताको लगानी हुन्थ्यो। तर यन्त्रसँग श्रमिक केवल यन्त्र चलाउने एक सानो हिस्सा बने। उनीहरूको मेहनत त बढाइयो तर उनीहरूको काम धेरै सीमित र नियन्त्रित भयो।
यहाँ गहन विरोधाभास छ। यन्त्रले उत्पादन बढाउँछ, तर श्रमिकलाई उत्पादन प्रक्रियाबाट अलग गरिदिन्छ। यन्त्र अन्तर्गत पुँजीपतिको नाफा वृद्धि हुन्छ, किनकि यन्त्रले लामो समयसम्म कुनै थकानबिना नै काम गर्छ र श्रम लागतलाई कम गर्छ। तर यन्त्र चलाउने श्रमिक प्रायः गरिबी, बेरोजगारी र असमानताका सिकार हुन्छन्।
पुँजीवादमा यन्त्र केवल उत्पादनका साधन हुँदैनन्, तिनीहरू श्रमिकमाथि नियन्त्रणको तरीका पनि बन्छन्। यन्त्रहरूको मद्दतबाट पुँजीपतिले श्रमिकको शक्ति कम गरिदिन्छ र उनीहरूलाई प्रतिस्पर्धाका लागि बाध्य बनाइदिन्छ। यो त्यस्तो प्रणाली हो, जहाँ प्राविधिक विकासले श्रमिकहरूको जीवन जटिल बनाइदिन्छ। यो प्रगति मानवताको लागि भन्दा पनि पुँजीपतिको हितको लागि हुन्छ। यन्त्रको उदय पुँजीवादी समाजमा प्राविधिक परिवर्तन मात्र नभई सामाजिक र आर्थिक संघर्षको केन्द्र पनि बन्छ।
पुँजीको सञ्चय र केन्द्रीकरण
पुँजी कसरी केही थोरै व्यक्तिमा जम्मा हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। यो स्वाभाविक हुँदैन, यसको पछाडि कुनै प्रणालीगत कारण लुकेको हुन्छ। पुँजी केवल पैसा वा धन मात्र नभई उत्पादनका साधन, उद्योग र सत्ताको स्रोत पनि हो। मार्क्सका अनुसार पुँजीको यो प्रवाह स्वयंमा दुई महत्त्वपूर्ण प्रक्रियाबाट गुज्रिन्छ: सञ्चय र केन्द्रीकरण। सञ्चयको अर्थ हो, पुँजी एक एक गरी बढ्दै जान्छ, अलग-अलग पुँजीपतिले आफ्नो पुँजी बढाउँछन्। जस्तोकि, एउटा व्यक्तिले आफ्नो कारखाना बढाएपछि आफ्नो नाफालाई पुनः लगानी गर्छ, ताकि उसको पुँजी वृद्धि भइरहोस्।
धेरै साना साना पुँजीका इकाईहरू मिलेर ठूलो पुँजी बनाउने प्रक्रिया हो पुँजीको केन्द्रीकरण। यो प्रक्रिया पुँजीपतिले एक अर्कोलाई खरिद गरेपछि हुन्छ वा धेरै कम्पनीलाई विलय गरेर ठूला कम्पनीमा बदलेपछि हुन्छ। यी दुवै प्रक्रियाबाट पुँजीको शक्ति केही ठूला पुँजीपतिको हातमा केन्द्रित हुन्छ। यसको अर्थ के हुन्छ भने बजारमा ठूला कम्पनीले साना व्यापारीलाई दबाइदिन्छन् र ठुलाहरू नै आर्थिक सत्ताका केन्द्रबिन्दु बन्छन्।
यही पुँजीको खेलले समाजलाई नराम्रोसँग प्रभावित गर्छ। पहिले धेरै साना व्यवसायी हुने ठाउँमा केही ठूला कम्पनीले अब बजारमा शासन गर्छन्। मार्क्सका अनुसार पुँजीको सञ्चय र केन्द्रीकरण पुँजीवादी व्यवस्थाको अनिवार्य प्रवृत्ति हो। पुँजीवादको स्वाभाविक तर विनाशकारी प्रवृत्ति हो यो। यसले अन्ततः आर्थिक असमानता र सामाजिक समस्या बढाउँछ। पुँजीको केन्द्रीकरणले आर्थिक शक्तिमात्र वृद्धि गर्दैन, बरु यसबाट राजनीतिक र सामाजिक शक्ति पनि पुँजीपतिको हातमा समेटिँदै जान्छ। यसपछि केही ठूला उद्योगपति र कम्पनी धेरै शक्तिशाली हुँदै जान्छन् भने आम श्रमिकको स्थिति अत्यन्त दयनीय हुँदै जान्छ। यो सबै पुँजीको केन्द्रीकरणको परिणाम हो। पुँजीको सञ्चय र केन्द्रीकरणले पुँजीवादलाई लगातार आफैलाई बढाउँदै जाने यन्त्रजस्तै बनाउँछन्, जसबाट समाजमा असमानताको खाल्डो बढ्दै जान्छ।
पुँजीवादको अन्त्य
यहाँ हामीले पुँजीवादी व्यवस्थाको अन्त्य कसरी हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। मार्क्सका अनुसार पुँजीवाद अनन्त: आफ्नै स्वभावका कारण चल्न सक्दैन। पुँजीवादभित्र नै यस्ता कमजोरी हुन्छन्, जसले यसको अन्त्यमा महत्त्वपूर्ण भूमिका निभाउँछन्। पुँजीवाद संसारमा धेरै प्रभाव जमाउन सफल आर्थिक व्यवस्था हो। तर त्यो पनि कतै न कतै एक सीमासम्म मात्र अगाडि बढ्न सक्छ। मार्क्सका अनुसार पुँजीवादको अन्त्य एक आर्थिक घटनामात्र नभएर सामाजिक र राजनीतिक क्रान्तिको परिणाम पनि हुनेछ। पुँजीवादमा आफ्नै अन्तर्निहित विरोधाभास हुन्छ, जसले त्यसको स्थिरतालाई चुनौती दिन्छ।
पहिलो ठूलो विरोधाभास के हो भने पुँजीपतिहरू अत्यधिक नाफा कमाउन उत्पादन बढाइरहन्छन्, तर यी उत्पादन अन्ततः बजारका सीमासँग टकराउँछन्। जब उत्पादन बढी हुन्छ, सामान किन्नेहरू कम हुन्छन्, तब संकट पैदा हुन्छ। त्यसलाई आर्थिक मन्दी भनिन्छ। दोस्रो विरोधाभास-पुँजीवादले श्रमिकहरूको स्थिति अत्यन्तै खराब बनाइदिन्छ, उनीहरूको आयस्तर कम बनाइदिन्छ। यसबाट उनीहरू उपभोक्ता बन्न असमर्थ हुन्छन्। यसरी पुँजीवादी उत्पादन नै स्वयंलाई नष्ट गर्ने अवस्था बन्छ।
मार्क्सको भविष्यवाणीअनुसार यो विरोधाभासले पुँजीवादी व्यवस्थालाई विसर्जनतिर लिएर जान्छ। उत्पादनका आधार रहेका श्रमिक वर्ग सङ्गठित हुन्छन्। त्यसपछि पुँजीवादी व्यवस्था परिवर्तनको लागि र श्रमिकको व्यवस्था बनाउन मूल रूपमा श्रमिकहरूले संघर्ष गर्नेछन्। आर्थिक मात्र नभई राजनीतिक संघर्ष हुनेछ त्यो। पुँजीवादी वर्गविरुद्ध एक व्यापक क्रान्ति हुनेछ, जसले समाजलाई नयाँ दिशा दिनेछ। पुँजीवादको अन्त्यको अर्थ त्यस्तो समाज हो, जहाँ उत्पादनका साधन सबैको स्वामित्वमा हुनेछन्। त्यो समाज व्यवस्थामा श्रमिकहरूको मेहनतको फल श्रमिकहरूलाई प्राप्त हुनेछ र समाजमा असमानताको अन्त्य हुनेछ। यस्तो समाजमा पुँजीवादी दमन नभई समानता र न्याय हुन्छ। पुँजीवादको अन्त्य एक नयाँ सुरुवात हुन्छ। यसपछिको समाजवादी व्यवस्थामा पुँजीको सट्टा मानवता केन्द्रमा रहन्छ।
यी मार्क्सका परिकल्पना र व्याख्या हुन्।
मार्क्सको 'पुँजी' एउटा आर्थिक ग्रन्थमात्र होइन, समाज विज्ञान, इतिहास र मानव श्रम शोषणको गहन समीक्षा हो। यसले पुँजीवादी कार्य प्रणालीको विज्ञानसम्मत र द्वन्द्वात्मक/भौतिकवादी विश्लेषण प्रस्तुत गर्छ। मार्क्सले पुँजीवादी प्रणालीको कडा आलोचनामात्र गरेका छैनन्, समाजवादी समाजको दिशानिर्देश पनि गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
