प्रधानमन्त्री दाहालले मंगलबार सचिवहरूलाई निर्देशन दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सहज सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन्। 

काठमाडौँ– सरकारका कामकारबाही प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सचिवहरूलाई निर्देशन दिने भएका छन्।

साेमबार प्रधानमन्त्री दाहालले यस विषयमा सरकारका सचिवसँग छलफल गरेका थिए। सचिवहरूको कुरा सुनिसकेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने उनका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले सुशासन र सहज सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन्।

पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने बताएका थिए। राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भिडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार पहिलो चरणमा सचिवहरूलाई सम्बोधन गर्न लागेका हुन्।

यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए।  मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी कमजोरी बारे जानकारी गराएका थिए।

मंगलबार केही सचिव र विभागको विवरण प्रस्तुत भएपछि मात्रै प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको प्रेस संयोजक शर्माको भनाइ छ।