बागमतीका निलम्बित मेयर भरत थापालाई ८ वर्ष कैद, १० करोडभन्दा बढी जरिबाना

बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई नदीजन्य पदार्थ हिनामिना गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष कैद र १० करोड रुपैयाँभन्दा बढी जरिबाना तोकेको छ।

काठमाडौँ– सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई नदीजन्य पदार्थ हिनामिना गरेको भ्रष्टाचार मुद्दामा अदालतले ८ वर्ष कैद र १० करोड रुपैयाँभन्दा बढी जरिबानाको फैसला सुनाएको छ। अदालतका अध्यक्ष न्यायाधीश टेक नारायणकुँवर, सदस्यद्वय न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो।

यो मुद्दामा भरत थापासहित विमल कुमार पोखरेल र सागर पौडेल पनि प्रतिवादी थिए। अदालतले थापा, पोखरेल र पौडेलले संयुक्त रूपमा करिब ३० करोड २९ लाख रुपैयाँ बराबरको नदीजन्य पदार्थ हिनामिना गरेको ठहर गरेको छ। यसअघि साउन २१ गते उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम दोषी ठहर भएको थियो।

बिहीबारको फैसलाअनुसार, तीनै जना प्रतिवादीलाई जनही ८ वर्ष कैद सजाय तोकिएको छ। “प्रतिवादीहरूलाई आठ वर्षदेखि दश वर्षसम्म कैद सजाय हुन सक्नेमा प्रतिवादीलाई बिगोबमोजिम जरिबाना हुने र प्रतिवादीबाट बिगोसमेत असुल हुने अवस्थालाई विचार गर्दा निज प्रतिवादीहरूलाई जनही आठ वर्ष कैद सजाय गर्दा सजायको उद्देश्य पूरा हुने देखिएकोले निज प्रतिवादीहरूलाई जनही आठ वर्ष कैद सजाय हुने ठहर्छ,” आदेशमा भनिएको छ। साथै, कुल बिगोको दामासाहीले हुने गरी जनही १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ जरिबानासहित बिगोसमेत असुल गरिनेछ।

यसका अतिरिक्त, अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार उनीहरूलाई जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ।

यो पनि : बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा दोषी ठहर