विश्वभर डेढ करोड प्राथमिक उमेरका बालिका विद्यालयबाहिर

यूएन वुमनले पछिल्ला दशकहरूमा प्राथमिक र माध्यमिक तहमा भर्ना दरमा लैंगिक समानता बढेको भए पनि केही क्षेत्रमा अझै पनि ठूलो असमानता रहेको औँल्याएको छ।

विश्वभर डेढ करोड प्राथमिक उमेरका बालिका विद्यालयबाहिर
यूएन वुमन

प्रणालीगत लैंगिक भेदभावका कारण विश्वभरका एक करोड ५० लाख प्राथमिक उमेरका बालिकाहरू विद्यालयबाहिर रहेको यूएन वुमनको एक नयाँ प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनअनुसार, प्राथमिक तहको विद्यालयबाहिर रहेका बालिकाको संख्या बालकको तुलनामा धेरै छ। प्राथमिक तहमा विद्यालय जान नपाएका एक करोड ५० लाख बालिका छन्, जबकि सोही उमेर समूहका एक करोड बालक मात्र विद्यालयबाहिर छन्।

यूएन वुमनले पछिल्ला दशकमा प्राथमिक र माध्यमिक तहमा भर्ना दरमा लैंगिकक समानता बढेको भए पनि केही क्षेत्रमा अझै पनि ठूलो असमानता रहेको औँल्याएको छ, जहाँ करिब ४८.१ प्रतिशत बालिकाहरू विद्यालयबाहिर छन्।

प्रतिवेदनमा भनिएको छ, “पहिलेभन्दा धेरै बालिकाहरू विद्यालय गइरहेका छन्। प्राथमिक तहपछिको प्रत्येक अतिरिक्त वर्षको शिक्षाले उनीहरूलाई बालविवाहबाट बच्न, रोजगारी पाउन, र राम्रो स्वास्थ्य प्राप्त गर्ने सम्भावनालाई धेरै बढाउँछ।”

यद्यपि, किशोरीहरू अझै पनि बाल गर्भावस्था र घरायसी जिम्मेवारीजस्ता कारणले माध्यमिक विद्यालय छाड्न बाध्य छन्। यूएन वुमनले बालिका र महिलाहरूलाई जीवनका सबै चरणमा गुणस्तरीय शिक्षा र सिकाइको समान अधिकार हुनुपर्नेमा जोड दिएको छ।