किसानलाई दुग्ध विकास बोर्ड र निजी क्षेत्रले ४ अर्ब तिर्न बाँकी

दुग्ध उत्पादक किसानहरूले सरकार र निजी क्षेत्रबाट पाउन बाँकी रहेको करिब चार अर्ब रुपैयाँ एक सातामा भुक्तानी नभए आन्दोलनमा जाने चेतावनी दिएका छन्।

चितवन– दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गते देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाई भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन्। संघका अध्यक्ष अम्बरबहादुर कुँवरले भदौ ४ गते जिल्ला सहकारी संघका अध्यक्षहरूको भेला आयोजना गर्ने र सोही भेलाले थप निर्णय लिने बताए।

“दुग्ध उत्पादक किसान सम्मानित हुन चाहन्छौँ। अपमानित होइन। यसका लागि आन्दोलनमा जाने निर्णय गरेका हौँ,” उनले भने। अहिले देशभरका दुग्ध उत्पादकले सरकारी र निजी क्षेत्रबाट गरी चार अर्ब रुपैयाँ बढी भुक्तानी पाउन बाँकी रहेको उनले जानकारी दिए।

पटक–पटक वार्ता र छलफल गर्दासमेत भुक्तानी पाउने सम्भावना नदेखेपछि आन्दोलनमा जुट्नु परेको उनले बताए। उनका अनुसार दुग्ध विकास बोर्डको एक अर्ब र निजी क्षेत्रबाट तीन अर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने छ। सरकारसँग भएको वार्तापछिको ११ बुँदे सहमति कार्यान्वयनमा नआएको भन्दै संघले आन्दोलनको तयारी गरेको हो।

बैठकपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै संघले दुग्ध उत्पादक किसानको रकम तिर्ने र नतिर्ने उद्योगको वर्गीकरण गरेर सार्वजनिक गर्नेसम्मका कार्यक्रम गरिने संघका महासचिव राम आचार्यले जानकारी दिए। “कतिपय उद्योगले भुक्तानी गरिरहेका छन्। त्यस्ता उद्योग र भुक्तानी नगर्ने उद्योगको वर्गीकरण गरेर भुक्तानी पाउनुपर्ने रकमसहित सार्वजनिक गर्छौं,” उनले भने।

पटक–पटकका छलफलबाट निकास नआएको भन्दै उनले एक सातासम्म भुक्तानी बाँकी भएका उद्योगलाई भुक्तानी गर्नसमेत आग्रह गरे। उनले भने “हामी भुक्तानी बाँकी रहेका उद्योगलाई भुक्तानीका लागि पत्राचार गरेर ४ गतेसम्मको समय दिन्छौँ। त्यतिबेलासम्म पनि नभए आन्दोलनमा जान्छौँ।”

संघका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूध बेचेर घरगृहस्थी सञ्चालन गर्ने किसानलाई उद्योगीले अपहेलित गरेकाले आन्दोलनमा जाने तयारी गरिएको बताए।

उनका अनुसार दुग्ध विकास बोर्ड र निजी उद्योगले सामान बिक्री भएपछि भुक्तानी दिने भनेर बताए पनि लामो समयदेखिको भुक्तानी बाँकी रहेको बताए। “यसपालिको आन्दोलनबाट किसानले न्याय पाउने छन्,” उनले भने। दुग्ध विकास बोर्डले गत माघ महिनादेखिको भुक्तानी दिन बाँकी रहेको छ, भने निजी क्षेत्रको मंसिरदेखिको भुक्तानी दिन बाँकी रहेको छ। 

संघका सचिव थानेश्वर सापकोटाले विभिन्न बहानामा किसानको दूधको भुक्तानी उद्योगीले नदिएको भन्दै आक्रोश व्यक्त गरे। यही अवस्था रहे दुग्ध उत्पादक किसान समस्यामा पर्ने भन्दै सरोकारवालाले समस्या समाधानमा चासो दिनुपर्ने बताए। सरकार र निजी क्षेत्र उदासीन बन्दा दुग्ध उत्पादक किसान समस्यामा रहेको उनको भनाइ छ।

देशभर ६४ वटा जिल्लामा दूध उत्पादन हुँदै आएको छ। ३६ वटा जिल्लामा जिल्ला दुग्ध उत्पादक सहकारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। ती जिल्लाबाट दैनिक ७० लाख लिटर दूध उत्पादन हुँदै आएको छ। एक हजार ८७२ वटा दुग्ध उत्पादक सहकारीले दैनिक १३ लाख लिटर दूध उत्पादन गर्दै आएको सो अवसरमा जानकारी दिइयो। ती सहकारीमा ६ लाख परिवार आबद्ध रहेको जानकारी दिँदै संघले ३० लाखभन्दा बढी किसान दूध उत्पादनमा जोडिएको संघका महासचिव आचार्यले जानकारी दिए।