क्षमताभन्दा बढी कैदीबन्दी भए पनि रवि प्रारम्भदेखि नै छुट्टै बन्दीगृहमा : रुपन्देही कारागार

क्षमताभन्दा बढी कैदीबन्दी भए पनि सुरक्षाका कारण रवि लामिछानेलाई छुट्टै कोठामा राखिएको, सबै कैदीबन्दीलाई समान रूपमा सुविधा प्रदान गरिएको रुपन्देही कारागार कार्यालयले जनाएको छ।

काठमाडौँ– सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारमा शुरूदेखि नै छुट्टै बन्दीगृह (अलग्गै कोठा)मा राखिएको छ। कारागार कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भए पनि सुरक्षाका कारण उनलाई छुट्टै राखिएको जानकारी दिएको हो।

कारागार प्रशासक सुरेश भण्डारीका अनुसार, लामिछानेलाई राखिएको कोठामा छुट्टै शौचालयको पनि व्यवस्था गरिएको छ। साथै, कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखिएको छ। पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुरूदेखि नै टेलिफोन र भेटघाटको सुविधा दिइएको र यो सुविधा अहिले पनि कायम रहेको विज्ञप्तिमा जनाइएको छ।

कारागार प्रशासनले सबै कैदीबन्दीलाई समान रूपमा सेवा दिइरहेको जनाएको छ। बिरामी कैदीबन्दीहरूलाई स्थानीय अस्पताल र आवश्यक परेमा चिकित्सकको सिफारिसमा अन्यत्र पनि लगेर उपचार गराउने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ।

क्षमताभन्दा बढी कैदीबन्दी
कुल २५० जना अट्ने क्षमता रहेको रुपन्देही कारागारमा अहिले ६४० जना कैदीबन्दी छन्। क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भए पनि कारागारले सबैलाई कानूनअनुसारको सुविधा उपलब्ध गराउँदै आएको दाबी गरेको छ। कैदीबन्दीहरूलाई खाने, बस्ने, घुम्ने, पढ्ने, टेलिभिजन हेर्ने, भेटघाट गर्ने र टेलिफोन गर्नेजस्ता सुविधा समान रूपमा दिइएको विज्ञप्तिमा उल्लेख छ।

कारागार ऐन २०७९ र नियमावलीअनुसार अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिक र सुरक्षा जोखिम भएका व्यक्तिहरूलाई थप सुविधा दिइने गरिएको छ। कारागार प्रशासनले कैदीबन्दीबीच कुनै पनि किसिमको विभेद नगरिएको र समय–समयमा उनीहरूको गुनासो सुनेर सम्बोधन गर्ने गरिएको पनि जनाएको छ।

विगत केही दिनदेखि सञ्चार माध्यममा कारागारका विषयमा आएका विभिन्न समाचारहरूपछि कार्यालयले विज्ञप्ति जारी गर्दै यथार्थ जानकारी गराएको हो। कारागार प्रशासनले समाचार प्रकाशन गर्नुअघि कार्यालयबाट आधिकारिक सूचना लिन पनि आग्रह गरेको छ।