गाईपछि कुकुर: निमुखालाई सधैँ अत्याचार

ढुंगामाटो हटाएझैँ शहरबाट केही हप्तामै लाखौँ कुकुर हटाउन अदालत आदेश दिन्छ। त्यस्तो आदेश दिने देश/समाजका धेरै मान्छे पशुपंक्षीलाई ढुंगामाटोझैँ नै ठान्छन्।

नेपाली र भारतीय समाजमा गाई केवल घरपालुवा 'पशुधन'मात्रै होइन, बरु धार्मिक प्रतीक पनि हो, जसरी शंख र घण्ट हो। भारतमा बीजेपी र आरएसएसले गाईमाथि चर्को राजनीति गर्दै आएका छन्।

हाम्रोमा पनि कमल थापा नेतृत्वको राप्रपा नेपालले २०७० सालको संविधानसभाको चुनावमा गाई चिन्हमै चुनाव लड्यो। 'एक भोट दाइलाई, एक भोट गाईलाई' भन्ने कथन त्यतिखेर चर्चामा रह्यो। गाईको खुट्टामा ढोग्ने धार्मिक सर्वसाधारण गाई चिन्ह देख्दा भावुक हुने नै भए। चिन्हले कमाल गर्‍यो, थापाको पार्टीले प्रत्यक्षतर्फ कुनै सिट नपाए पनि समानुपातिकतर्फ ६०१ संविधानसभाको कुल सदस्य संख्यामा २४ सिट बटुल्यो। गाईको चिन्हमा भोट पाई सत्तामा रजगज गरेका थापाले गाईको कल्याणबारे सिन्को पनि भाँचेको दुनियाँलाई थाहा छैन।

टाठाबाठाले 'गाई भावना'मा राजनीति गरे पनि अन्य घरपालुवाभन्दा पीडित छ गाई दक्षिण एशियाका दुई हिन्दू बहुल मुलुकमा। आजको मानव जगतमा 'घरपालुवा पशुधन'को जीवन प्राय: कैदीजस्तै हो। त्यस्तो कैदी, जसलाई एउटै किलोमा जीवनभर बाँधिन्छ। निर्धो भएकै कारण आजीवन कैदी जीवन बाँचेका तिनले प्राकृतिक रूपमा मर्न पाउँदैनन्। रेटिएर/सेरिएर मर्नु तिनको नियति हो, जसमा आठ अरब 'विवेकशील मान्छे'लाई खासै चासो छैन।

भारत र नेपालमा दूध थाकेका कमजोर र वृद्ध गाई सडकमा फ्याँकिएका छन्। (यहाँ गाई काटेको आरोपमा उत्पीडित समुदायका व्यक्ति जेल जानुपर्छ, तर कलिलो बाच्छोलाई गोठैमा मार्न भने गाईपालक (अधिकांश हिन्दू) लाई छुट छ। सडकमा लघार्दै गाईलाई मर्ने अवस्थामा छाडिदिन छुट छ।) दुहुनो गाईका कलिला बाच्छाबाच्छी सडकमा फ्याँकिएका छन्। चर्को घाम र पानी खप्नु त छँदै छ, तिनले सडकमा बिरलै खान र पिउन पाउँछन्। भोकका कारण काँच, फलाम र तार मिसिएको प्लास्टिक चपाइरहेका छन् गोवंश।

भारत र नेपालका 'गौशाला'मा थुनिएकाहरूको हालत झनै खराब छ। सुख्खा खाँबा र माटो चाटेर भोक मेटाउने चेष्टा गरिरहेका तिनीहरू आफ्नै गोबर र मुतमा डुब्दाडुब्दै घाउ खटिराका कारण कुहिएर बिस्तारै मर्छन्। कमजोर भएर लडेका तिनलाई जिउँदै अवस्थामा एकातिरबाट गिद्धले ठुँगिरहेको समेत देख्न सकिन्छ। धार्मिक राजनीतिले गाईको जीवन अन्य 'घरपालुवा पशुधन'को भन्दा झनै 'नर्क'तुल्य बनाएको छ। 

उही 'बोभाइन परिवार'भित्र पर्ने भैँसीको हालत कमसेकम गाईकैझैँ कहालीलाग्दो चाहिँ छैन। दूध थाकेपछि ट्रकमा हालेर लगिने 'अन्तिम यात्रा'मा तिनको के हविगत हुन्छ भन्नेबारे बेलाबेला हामी सामाजिक सञ्जालतिर 'स्यर' हुने तस्बिर/भिडियोबाट अनुमान लगाउन सकौँला, तर तिनले महिनौँ कुहिएर/सडेगलेर मर्नुपर्दैन।

आदिम युगदेखि नै मान्छेको निकटको साथी बनेको कुकुरको अवस्था शहरीकरण बढेसँगै कहालीलाग्दो छ। धेरैलाई यो तथ्य ख्यालै हुन्न, युगौंदेखि मान्छेले पालेका कुकुरहरू नै आज सडकमा आइपुगेका हुन्, जसलाई 'भुस्याहा' भनिने गरेको छ। कुकुर धनीहरूले सडकमा छाडिदिएका कुकुरहरूबाटै थप कुकुर पैदा भएका हुन्। शहरमा कुकुर थुप्रनुमा अन्ततोगत्वा 'सर्वश्रेष्ठ मान्छे' नै जिम्मेवार छ। 

जस्तोकि, पल्लो घरको पल्लुले टिकटक/युट्युबमा देखेर या मामा घरतिर  जाँदा 'क्युट पप्पी' देख्यो। 'हेर्दै पुतली'जस्तो देखिने त्यस्तो पप्पी ल्याइदिन आफ्ना आमाबालाई भन्यो। केनल क्लबबाट महँगो मूल्य तिरेर बाआमाले पल्लुका लागि पप्पी ल्याइदिए। केही दिन पल्लु पप्पीसँग खुबै रमाएर खेल्यो। सानो र 'हेर्दै मायालाग्दो' भएका कारण पप्पीले जुनसुकै कोठा र फ्ल्याटमा प्रवेश पायो। सबैको माया पायो, मिठो मसिनो खान पायो।

पल्लुझैँ पप्पी पनि हुर्कन थाल्यो। उसलाई कोठा र फ्ल्याटको 'स्पेस'ले पुगेन। बाहिर जान रहर गर्‍यो। केही दिन मालिकले बाहिरफेर डुलाए पनि। तर हुर्कँदै जाँदा उसलाई धेरै खाना चाहियो, धेरै घुमफिर खोज्यो। उसलाई आफ्नै वंशको साथी पनि चाहियो होला, धेरै भुक्न थाल्यो। कहिले काहीँ त बिरामी भएर बान्तासमेत गर्न थाल्यो। घरपरिवारले अब कुकुरका लागि समय र शक्ति छुट्याउन 'झ्याउ' मान्दै गए।

यो पनि: गाईलाई हामी साँच्चै माया गर्छौं?

एक दिन पल्लुका बाउले त्यस कुकुरको आँखामा पट्टी बाँधेर निकै परको जंगल लगेर छाडेर आए। जंगलमा छाडिएको त्यो पप्पी भोक प्यासका कारण मान्छेहरूको पछि लाग्दै फेरि शहर आइपुग्यो। कुनै दिनको 'क्युट पप्पी' आजको बेसहारा भुस्याहा कुकुर हो। 

र, भुस्याहा कुकुर हुन् या बिरालो, संसारभर तिनको कथा उस्तैउस्तै हो। संसारका अनेकन् देशका गल्लीमा कुकुर र बिराला खानपान, पार्टनर र ओतको खोजीमा भौँतारिइरहेका छन्। तर निमुखा ती पशुलाई कहिले कुनै हुल्याहाले झुन्ड्याएर मार्छ, कतै कुनै सन्काहाले तातो पानी र एसिड फ्याँक्छ। कतै कुनै विवेकहीनले पुलबाट हुत्त्याउँछ।

तर पनि यिनको हित र कल्याणबारे अत्यन्त थोरैमात्र चर्चा हुन्छ। (यो अर्को प्रसंग हो कि कुकुर बिरालोलाई माया गर्नेहरू पनि मासु-दहीदुधका लागि पालिने/मारिने जीवहरूबारे बिरलै बोल्छन्।) 

सडक र गल्लीमा कुकुरको उपस्थितिलाई लिएर भारतको सर्वोच्च अदालतले गत सोमबार एउटा विवादास्पद निर्देशन जारी गरेको छ, जसबारे भारत र पशुप्रेमी समुदायमा चर्चा चलिरहेको छ। अदालतले दिल्ली–एनसीआर (दिल्ली र राजधानी क्षेत्र) का सडकका कुकुरलाई आठ हप्ताभित्र 'सेल्टर'मा सार्न/हटाउन आदेश दिएको छ। त्यस्तो सेल्टर कहाँ बनाउने हो, कसैलाई थाहा छैन। फलामका साना खोरहरूलाई नै सेल्टर ठानिदिने हो भने अलग कुरा! फेरि एउटा 'इकोसिस्टम'मा अभ्यस्त/बाँचिरहेका पशुलाई अलग्गै ठाउँमा सार्दा ती पशुको के हविगत हुन्छ, विवेक गुमाएका न्यायाधीशले कसरी कुरा बुझुन्!

भारतीय जनता पार्टीकै तर्फबाट पहिले मन्त्री रहिसकेकी पशु अधिकारकर्मी मेनका गान्धीले अदालतको त्यस आदेशलाई 'अव्यवहारिक, आर्थिक रूपमा असम्भव र क्षेत्रको पारिस्थितिक सन्तुलनका लागि सम्भावित रूपमा हानिकारक' भनिन्। सडकबाट कुर हटाइने बित्तिकै त्यसको ठाउँमा बाँदर आउने र त्यसले थप समस्या सिर्जना हुने बताएकी छन् उनले। 

सन् १८८० को पेरिस (फ्रान्स) को उदाहरण दिँदै उनले भनिन्, "कुकुर र बिरालो हटाएपछि शहरमा मुसाहरूको बाढी आयो।" शहरमा मुसा नियन्त्रणमा सामुदायिक कुकुरको भूमिका रहेको उनको भनाई थियो। एक अन्तर्वार्ताका क्रममा गान्धीले यस प्रकरणमा भारतीय प्रधानमन्त्रीको हस्तक्षेप हुनुपर्नेसमेत बताइन्!

सन् १८८० को पेरिसको उदाहरण दिँदै गान्धीले भनिन्, "जब तिनीहरूले कुकुर र बिरालो हटाए, शहरमा मुसाहरूको बाढी आयो," कुकुरलाई "मुसा नियन्त्रण गर्ने जनावर" को संज्ञा दिइन्।

कांग्रेस नेता राहुल गान्धीले पनि अदालतको निर्देशनसँग असहमति जनाउँदै सामाजिक सञ्जालमा लेखे, "सर्वोच्च अदालतको निर्देशन दशौँ वर्षयता अपनाइँदै आएको मानवीय र विज्ञान–आधारित नीतिबाट पछाडि फर्किने कदम हो। सबै कुकुरलाई एकै पटक हटाउने कार्य क्रूर, दृष्टिविहीन छ र यसले हामीबाट हाम्रो करुणालाई खोस्छ।”

भारतीय सर्वोच्च अदालतको अमानवीय निर्देशन खासमा पशुद्वेसी सोचको प्रतिबिम्ब हो। पशुप्रति फिटिक्कै संवेदना नभएका मान्छेहरूले राख्ने दृष्टिकोण हो यो निर्देशन।

उसो त हजारौँ मान्छे छन्, जो दिल्ली क्षेत्रका सडक-आश्रित कुकुरलाई बिहान बेलुका पानी र खाना खुवाइरहेका हुन्छन्। काठमाडौँलगायत नेपालका केही शहरमा पनि अनेकन् कष्ट र समुदायको गाली झेल्दै सडकका भोका कुकुरलाई खाना खुवाउने दयालु मान्छे छन्। करोडौँ मान्छे बस्ने दिल्लीजस्ता शहर, जहाँ हजारौँ गल्ली छन्, त्यहाँ कुकुरले चोर र अपराधीहरूबाट समेत कुकुरले मान्छेको रखबारी गरिरहेका हुन्छन्। कुकुरलाई 'शहरको फोहर' देख्नेहरूले यो तथ्य मनन गर्न सकेका छैनन्।

तर कुकुरले टोकेको र त्यसबाट रेबिज लागेर केही मान्छे मरेका घट्नाबाट मान्छेहरू उद्वेलित हुन्छन्, जसरी यस आदेशमा भारतीय अदालतका न्यायाधीश भएका छन्।

ढुंगामाटो हटाएझैँ शहरबाट केही हप्तामै लाखौँ कुकुर हटाउन अदालत आदेश दिन्छ। त्यस्तो आदेश दिने देश/समाजका धेरै मान्छे पशुपंक्षीलाई ढुंगामाटोझैँ नै ठान्छन्। किनकि जति नै करुणा, अहिंसा र सहअस्तित्वको श्लोक फलाके पनि हाम्रो समाज मूल रूपमा पाखण्डी हो। यहाँ गाईको अतिशय महिमा गाउँदै पूजा गरिन्छ, तर बुढी भएपछि त्यही गाईलाई मार्ने ध्येयका साथ भीर पहरो या सडकतिर धकेलिन्छ।

मानवबाहेक अरू विषय गौण हुन् र मानव सबै विषयको केन्द्र हो भन्ने धारणा (अन्थ्रोपोसिन्ट्रिज्म) हजारौँ वर्षयता मानव समुदायमा रहेको गलत धारणा हो। मानव र समग्र पृथ्वीको अस्तित्व र स्वार्थको लागि हामीले यहाँका सबै जीव, प्राणी र वनस्पति मात्रै नभई, पहाड, पर्वत, मैदान, जंगल, पानी, माटो र ढुंगाको रेखदेख गर्नुपर्छ। 'प्राणी मात्रकी जय' त्यही भावनाको श्लोक होइन र?

निरस भौतिक भवन, सडक र नहरहरूमात्र विकाश होइन, सर्वोत्कृष्ट भनिइने प्राणीले पृथ्वीका अन्य जीव प्राणी र प्रकृतिप्रति दर्साउने माया र सद्भाव पनि हो। अबको विकाशले एकोसिन्ट्रिज्म/बायोसिन्ट्रिज्म (पर्यावरणकेन्द्रवाद/जीवकेन्द्रवाद)लाई भुल्नु हुँदैन। मानव सबै विषयको केन्द्र हो भन्ने धारणा (अन्थ्रोपोसिन्ट्रिज्म) मा आधारित रहेर विगत एक/दुई सय वर्षमा मानव जातिले गरेको 'कोरा भौतिक विकाश'ले निम्त्याउँदै गरेको पर्यावरणीय संकटले त्यसैलाई संकेत गर्छ।