गाजामा इजरायली आक्रमणबाट सहायताको पर्खाइमा रहेकासहित ३७ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार इजरायली सेनाको गोली प्रहारबाट सहायता लिन पर्खिरहेकाहरूसहित ३७ जनाको मृत्यु भएको छ।

गाजामा इजरायली आक्रमणबाट सहायताको पर्खाइमा रहेकासहित ३७ जनाको मृत्यु
फाइल तस्वीर

गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली गोलीबाट शनिबार कम्तीमा ३७ जनाको मृत्यु भएको जनाएको छ। मारिनेहरूमध्ये अधिकांश नागरिक रहेको र उनीहरू सहायता लिन पर्खिरहेका थिए।

नागरिक सुरक्षा प्रवक्ता महमूद बासलका अनुसार उत्तरी गाजामा सहायता वितरणका लागि प्रयोग गरिने सीमानाकानजिकै भेला भएका मानिसमाथि इजरायली सेनाले गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन्। यसैगरी, मध्य गाजाको सहायता केन्द्रनजिकै भएको आक्रमणमा थप ६ जनाको ज्यान गएको र ३० जना घाइते भएको बासलले जानकारी दिए।

अन्य घटनामा पनि दर्जनौँको ज्यान गएको छ। मध्य गाजामा भएको आक्रमणमा धेरै जनाको मृत्यु भएको छ भने दक्षिणी शहर खान युनिसनजिकै भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको बासलले बताए। गाजामा मिडियामाथिको प्रतिबन्ध र पहुँचको कठिनाइले यी तथ्यांकको स्वतन्त्र पुष्टि गर्न भने सम्भव भएको छैन।

यो घटना इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा शहर कब्जा गर्न ठूलो अपरेसनको योजनालाई अनुमोदन गरेपछि आएको हो। यो निर्णयले विश्वभर आक्रोशको लहर निम्त्याएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने आफ्नो निर्णयमा अडिग रहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने, “हामी गाजा कब्जा गर्न जाँदैछौँ होइन –– हामी गाजालाई हमासबाट मुक्त गर्न जाँदैछौँ।”

नेतान्याहुमाथि यस क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई अनिकालबाट बचाउन र बन्धक बनाइएका मानिसलाई मुक्त गर्न युद्धविराममा सहमत हुन दबाब बढ्दो छ।

युद्ध शुरू भएदेखि गाजामा आपूर्तिमा इजरायली प्रतिबन्धका कारण खाद्यान्न, औषधि र इन्धनजस्ता आवश्यक सामग्रीको अभाव भएको छ।

हजारौँ प्यालेस्टिनी खाना वितरण केन्द्रनजिकै दैनिक भेला हुने गर्छन्। तीमध्ये चारवटा केन्द्रहरू अमेरिका र इजरायल समर्थित गाजा ह्युमनिटेरियन फाउन्डेसनले सञ्चालन गर्दै आएको छ। सहायता लिन पर्खिरहेकाहरूमाथि इजरायली सेनाले गोली चलाएको रिपोर्ट बारम्बार आइरहेका छन्।