मूल्य बढेपछि अलैँचीखेती बिस्तारमा भोजपुरका किसान

अलैँचीको मूल्य प्रतिमत १ लाख २ हजार रुपैयाँसम्म पुगेपछि किसान उत्साहित भएका छन्। उनीहरू परम्परागत बालीलाई हटाएर अलैँची रोप्न थालेका छन्।

भोजपुर– अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन्। यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसान अलैँचीखेती विस्तारमा जुटेका हुन्।

 गत वर्षदेखि मूल्य वृद्धि भएपछि यहाँका किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका टेम्केमैयुङ–५ का शिवकुमार विष्टले बताए। 

अलैँची प्रतिमत १ लाख २ हजार रुपैयाँसम्म पुगेपछि किसान उत्साहित भएका हुन्। मूल्य वृद्धि भएपछि परम्परागत बालीलाई हटाएर पुनः अलैँचीखेतीमा जुटेको उनले जानकारी दिए। केही वर्षअघिसम्म मूल्यमा निरन्तर गिरावट आएपछि धेरै किसानले बगैँचा विस्तार गरेका थिएनन्।

बजारमा अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान बगैँचा विस्तारमा लागेका अलैँची व्यवसायी महासंघका अध्यक्ष राजेश विष्टले बताए। राज्यले प्राविधिक सहयोग गरेमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने उनको भनाइ छ। रोग, कीरा नियन्त्रणका लागि प्रत्येक अलैँची जोनमा एक कृषि प्राविधिक राख्न आवश्यक रहेको उनले बताए।

“मूल्य बढेसँगै अलैँचीखेती क्षेत्र विस्तारमा किसान जुटेका छन्,” अध्यक्ष विष्टले भने, “केही ठाउँमा रोग कीराको प्रकोप बढेको छ। राज्यको तहबाट राम्रो प्राविधिक सहयोग भएमा किसानले अझ राम्रो आम्दानी लिन सक्ने थिए।”

माटो परीक्षण गरेर नयाँ नर्सरी स्थापना गर्न सके अलैँची अझ राम्रो आम्दानीको स्रोत बन्ने अध्यक्ष विष्टले बताए। टेम्केमैयुङ–५ मा मात्र करिब १५० किसानले व्यावसायिक रूपमा अलैँचीखेती गरिरहेका छन्। 

जिल्लामा अहिले करिब ५९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यहाँ रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले जातको अलैँचीखेती हुने गरेको छ। 

चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिंथर्पु, तिम्मा  हेलौछा, गुप्तेश्वरलगायत ठाउँमा अलैँचीको बढी खेती हुने गरेको छ।