गाजामा अत्यावश्यक सामग्रीको चरम अभाव, राहत ढुवानीमा ढिलाइ

ओसीएचएले गाजामा प्रवेश गर्ने राहत कार्यमा ढिलाइ हुने गरेको जनाएको छ। दक्षिणी भागमा रहेको समुद्री पानीलाई पिउनयोग्य बनाउने विद्युत् आपूर्ति लाइन यस साताभित्रै तेस्रो पटक क्षतिग्रस्त भएको छ।

गाजा क्षेत्रमा जारी युद्ध, घरबारविहीनता र अत्यधिक गर्मीबीच सर्वसाधारणलाई दैनिक आवश्यक वस्तुको खोजी नै असम्भवजस्तै बन्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार गाजावासी अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छन्। खानेकुरा, पानी, औषधीलगायत अत्यावश्यक सामग्रीको चरम अभाव छ भने राहत सामग्री अत्यन्त न्यून मात्रामा गाजा प्रवेश गरिरहेको छ।

ओसीएचएले गाजामा प्रवेश गर्ने राहत कार्यमा ढिलाइ हुने गरेको जनाएको छ। गाजाको दक्षिणी भागमा रहेको समुद्री पानीलाई पिउनयोग्य बनाउने केन्द्रको विद्युत् आपूर्ति लाइन यस साताभित्रै तेस्रो पटक क्षतिग्रस्त भएको छ। 

यस कारण केन्द्रले क्षमताको १४ प्रतिशतभन्दा कम मात्र सञ्चालन गर्न सकिरहेको छ। यद्यपि केही व्यावसायिक गाडी गाजामा प्रवेश गरेपछि केही खाद्यान्न सामग्रीको मूल्यमा सामान्य गिरावट आएको देखिएको छ। तर अधिकांश खाद्यवस्तु अझै महँगा छन् र सहजै उपलब्ध छैनन्।

ओसीएचएले हवाइमार्फत खसालिने राहत सामग्रीका कारण विभिन्न स्थानमा नागरिकको ज्यान जाने वा घाइते हुने घटना पनि भइरहेको जनाउँदै राहत आपूर्तिको सबैभन्दा सुरक्षित र प्रभावकारी माध्यम स्थल मार्ग नै भएको बताएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा गाजा शहर नियन्त्रण लिने इजरायली निर्णयप्रति चिन्तित भएको जनाइएको छ। उक्त निर्णयले अवस्था झनै भयावह बनाउने, नागरिकको ज्यान जोखिममा पार्ने र लाखौँ गाजावासीमाथि थप विनाश ल्याउने चेतावनी महासचिवले दिएका छन्।

ओसीएचएले राहत सामग्री सबै नाकाबाट निर्बाध रूपमा प्रवेश गर्न दिनुपर्नेमा जोड दिएको छ। (रासस/सिन्ह्वा)