ब्युरोले पक्राउ गरेका एक व्यक्ति पहिले भारतमा गएर आफै मिर्गौला बेचेका व्यक्ति हुन्। पछि उनी यही गिरोहमा रहेर काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
काठमाडौँ– सिन्धुलीको दुधौली नगरपालिका–१ खिलबहादुर भुजेलको भारत पुर्याएर मिर्गौला झिकियो। गिरोहले भुजेललाई राम्रो जागिरको प्रलोभन देखाएर सुनौली नाका हुँदै भारतको चण्डीगढ पुर्याएको थियो।
त्यहाँ एक महिनासम्म अपार्टमेन्टमा राखेर मेडिकल जाँच गराएपछि मिर्गौला दिन दबाब दिइयो। शुरूमा भुजेलले इन्कार गरे। त्यसपछि भने सबै खर्च बेहोर्नुपर्ने धम्की दिएर मिर्गौला निकालिएको अनुसन्धानबाट खुलेको छ। त्यसपछि नेपाल फर्काइएका उनले मिर्गौला झिकेको विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिए।
तर यो विषय ब्युरोका लागि नयाँ थिएन। किनभने, गिरोहले भुजेलजस्तै मानिसलाई विभिन्न प्रलोभनमा पारी भारतमा लगेर उनीहरूको मिर्गौला निकाली बेचबिखन गर्ने गरेको सूचना डेढ महिनाअघि नै पाएको थियो। त्यसपछि ब्युरोले सूक्ष्म रूपमा अनुसन्धान थालेको थियो। तर यसबीचमा पछ्याएका केही मानिसले मिर्गौला नदिई फर्केको बताएपछि अनुसन्धान प्रभावकारी हुन सकेको थिए। यहीबीचमा भुजेलको विषय सार्वजनिक भएपछि ब्युरोलाई अनुसन्धान गर्न थप सहज भएको छ।
ब्युरोका अनुसार, गिरोहले भारतको होटलमा काम गर्दा मासिक १० देखि २० हजार भारतीय रुपैयाँसम्म कमाइ हुने भनी प्रलोभन देखाई भुजेललगायतका व्यक्तिलाई भारत पुर्याउँथ्यो। भुजेललाई भने गत जेठमा चण्डीगढ पुर्याइएको थियो। त्यहाँ उनलाई एक अपार्टमेन्टमा राखियो। सोही क्रममा समीर नेपाली र राकेश नेपालीले शुरूमा भुजेललाई आर्थिक प्रलोभनमा पार्ने खोजे। उनीहरूले मिर्गौलाबापत ६ लाख नेपाली रुपैयाँ दिने आश्वासन दिए। त्यो प्रस्ताव उनले स्वीकार गरेनन्। डरत्रास देखाएर साउन ९ मा उनको मिर्गौला झिकियो। त्यसपछि राजकुमार परियार र समीरको जिम्मा लगाएर भुजेलसहित अन्य चार जना पीडितलाई नेपाल फर्काइयो।
काठमाडौँ आएपछि भुजेलले (साउन १५ गते) ब्युरोमा जाहेरी दिएका थिए। जाहेरीपछि खोजतलासका क्रममा ब्युरोले बुधबार समीरलाई नयाँ बसपार्कबाट, राकेश नेपालीलाई बानियाँटारबाट र बिहीबार राजकुमारलाई काभ्रेपलान्चोकबाट पक्राउ गरेको छ।
पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट संगठित अपराध निवारण ऐन, २०७० बमोजिम सात दिनको म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको छ।
ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीले पक्राउ परेका तीन जनासहित अन्य व्यक्ति पनि यो गिरोहमा संलग्न रहेको आशंका गरिएको बताए। प्रारम्भिक अनुसन्धानमा उनीहरूले पछिल्लो चार/पाँच वर्षदेखि सिन्धुपाल्चोक, काभ्रे र नुवाकोटका सर्वसाधारणलाई आर्थिक प्रलोभनमा परेर मिर्गौला झिक्न दिल्ली लैजाने गरेको खुलेको छ।
“भुजेलले जाहेरी दिनुअघि नै यो विषयमा हामीले अनुसन्धान गरिरहेका थियौँ,” ब्युरोका एक अनुसन्धान अधिकारी भन्छन्, “उनको जाहेरीपछि थप संलग्नता पुष्टि भएको छ। गिरोहमा को–को छन् त्यो खोज्ने काम भइरहेको छ।”
आफ्नो मिर्गौला बेचेपछि गिरोहमा जोडिए
पक्राउ गरेका समीर पहिले भारतमा गएर आफै मिर्गौला बेचेका व्यक्ति हुन्। पछि उनी यही गिरोहमा रहेर काम गर्न थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनले नै राकेश नेपालीलाई साथ लिएर मिर्गौला तस्करीको धन्दालाई अगाडि बढाएको पाइएको ती अनुसन्धान अधिकारी बताउँछन्।
“समीरले शुरूमा कसको प्रलोभनमा परेर आफ्नो मिर्गौला बेचे र त्यसपछि आफै यो धन्दामा लागे भन्ने अझै यकिन भइसकेको छैन,” अर्का अनुसन्धान अधिकृतले भने, “त्यो अहिले अनुसन्धानकै विषय छ। तर, पक्राउ परेका राजकुमार परियार यो गिरोहमा अहिले देखिएका मुख्य व्यक्ति हुन्।”
ब्यूरो प्रमुख पंगेनीले आर्थिक रूपले कमजोर भएका मानिसलाई रोजगारीलगायत विभिन्न प्रलोभन देखाएर योसहितको गिरोहले भारत लैजाने र त्यहाँ धम्की दिएर जबरजस्ती मिर्गौला निकालेर बिक्री गर्ने काम भइरहेको बताए।
मिर्गौला बिक्रीबाट हुने आम्दानीमध्ये ६ देखि ७ लाख रुपैयाँ मिर्गौला निकालिएका व्यक्तिलाई दिने गरिएको छ। उनले भारतमा यसरी मिर्गौला बेचेबापत गिरोहले कम्तीमा पनि १५ देखि २० लाख भारतीय रुपैयाँ रकम लिने गरेको ब्युरोको आकलन छ।
“अहिलेसम्म भारत लगेर डेढ सयको हाराहारीमा नेपालीको मिर्गौला बेचिएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यो संख्या बढ्न पनि सक्छ,” एसएसपी पंगेनीले भने, “आजसम्म मिर्गौला बेचिएका तीन जना सम्पर्कमा आएका छन्। अन्य पनि खोज्दै छौँ। यो र्याकेटलाई बाहिर ल्याउने गरेर हामीले अनुसन्धान गरिरहेका छौँ।”
नेपाली नागरिकलाई प्रलोभनमा पारेर भारत लाने र मिर्गौला झिकेर बेच्ने काममा चार/पाँच वटा समूह नै मिलेर लागेको देखिएकाले संगठित अपराधमै अनुसन्धान अगाडि बढाइएको उनी बताउँछन्। उनका अनुसार मिर्गौला ग्रहण गर्ने नेपालीभन्दा पनि भारतलगायत अन्य देशका नागरिक रहेको देखिन्छ।
“भारतीय कानूनले पनि सहजै मिर्गौला प्रत्यारोपण गर्न दिन्छ जस्तो लाग्दैन। तर, त्यहाँका अस्पतालको मिलेमतोका कारण नेपाली त्यसको शिकार भइरहेका छन्,” एक अनुसन्धान अधिकारी भन्छन्, “अहिले पक्राउ परेका केही देखिने पात्र मात्र हुन सक्छन्, यसमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्छ।”
मिर्गौलाको अवैध कारोबारमा संलग्न गिरोहले नेपाल तथा भारतमा बसेर संगठित रूपमा मिर्गौला बिक्री गर्दै आएको पछिल्लो घटनाले पुष्टि गरेको छ।
नेपालमा मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ मा नजिकका नातेदारबाट मात्र मिर्गौला दान/प्रत्यारोपण गर्न मिल्ने व्यवस्था छ। कानूनी व्यवस्था केही झन्झटिलो भएकै कारण कतिपय मानिस भारत जाने गर्छन्। जहाँ सहजै मिर्गौला प्रत्यारोपण गर्न सकिने भएकाले पनि गिरोहले नेपालीकै मिर्गौला नेपाली नागरिकलाई नै बेच्नेसम्मको काम हुने गरेको विगतमा प्रहरीको अनुसन्धानले पनि देखाएको छ।
नेपालमै पनि नक्कली कागजात तयार पारेर मिर्गौला प्रत्यारोपण गरिएका घटना विगतमा सार्वजनिक भएका छन्। २०७७ असार २८ मा मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले नक्कली कागजपत्र बनाई अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा एक जना जनप्रतिनिधिसहित १२ लाई पक्राउ गरेको थियो। त्यति बेला तीन जना डाक्टर, एक जना जनप्रतिनिधि (वडाध्यक्ष) र एक जना कानून व्यवसायीसमेत गरी १२ जना पक्राउ परेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
