नेप्से परिसूचक दोहोरो अंकले उकालो लाग्दा साढे ८ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा पुगेको छ।

काठमाडौँ– साताको अन्तिमका कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.३० अंकले उकालो लागेर २८५०.३७ को विन्दुमा कायम भएको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६१ अंकले उकालो लागेर ४९०.१६ मा पुगेको छ।

३१८ वटा कम्पनकी कुल दुई करोड ५४ लाख तीन हजार ५४० कित्ता शेयर आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ मूल्यमा खरिद बिक्री भएको छ। 

यस दिनको कारोबार १८७ कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै, ६२ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा अन्यको भने स्थिर छ।

यस दिनको कारोबारमा बैंकिङ ०.४३, विकास बैंक ०.४२, वित्त १.३८, होटल तथा पर्यटन ०.६०, जलविद्युत्  ०.७५, लगानी ०.३०, जीवन बीमा ०.७६, उत्पादन तथा प्रशोधन १.१२, लघुवित्त ०.३६, म्युचुअल फन्ड ०.३२, निर्जीवन बीमा ०.४२, अन्य १.०३ र व्यापार समूहको उपसूचक ०.९९ प्रतिशतले बढेको छ।

नेप्सेका अनुसार सिक्लेस हाइड्रोपावर, वरुण हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायवल समृद्धि योजना र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यस्तै, उन्नति सहकार्य लघुवित्त, समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला हाइड्रोपावर र नबिल डिबेन्चरका लगानीकर्ताले गुमाएका छन्।

कारोबारका आधारमा लिवर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालय रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छन्। बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ४७ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ बराबर पुगेको छ।