कविताका, कवितामा महिला मुक्ति, पीडा र समस्याको उठान चिच्याहटबाट गरिएको छैन। तर पनि पाठकले सहजै दमन र सकसको आहट महसुस गर्न सक्छन्।
सीमामा के हुन्छ? व्यापार, भीड, हतार–जतासुकै चहलपहल। आवतजावतका लाम, गाडीका जाम। घुसको खेल, जासुसीको चलखेल। शस्त्र–अस्त्रका सनक, सुरक्षा सतर्कता। नाकाको नाम सुन्नासाथ झट्ट हाम्रो दिमागमा यस्तै खाका आउँछ। तर यो ढाँचा स्थायी हुँदैन, किनभने हरेक पटक त्यो नाकालाई कविता बोकेर यताउता छिचोलिरहन्छिन् कविता राई गाउँले।
नेपाल–भारत सीमाको यस नियमित यात्रा उनका लागि बाटा मात्र होइनन्, कविता पनि हो, जो सीमाभन्दा कोसौँ टाढाको सम्बन्ध बोकेर आउँछ। नेपालको पूर्वी जिल्ला इलामको पशुपतिनगर सुदूर मात्र होइन, सुमधुर पनि छ। जहाँबाट मिरिक, दार्जिलिङतिर कोसेलीमा मिठाई, मकै, कोदो, फापरको पिठो र कपडा मात्र आउँदैन, कविता पनि आउँछ। हुन त हिजोआज कवि आउँदा कविता नै आउँछ भन्ने ग्यारेन्टी छैन। प्रायः कवि आउँदा कविता कताकता उल्टै हराइरहेको हुन्छ। कवि यहाँ, कविता उता। जसलाई ‘कविता’ होइन ‘कताकता’ भन्दा हुन्छ।
तर, कविताका कविता भने साँच्चिकै कविता नै हुन्थे र मिरिक, दार्जीलिङ, सिलगढीका कविता कार्यक्रममा जब उनी आउँथिन्, हामी जब उनलाई सुन्न पाउँथ्यौँ, कविता आइपुगेको महसुस हुन्थ्यो। उनको नामै काफी छ। याने, डबल कविता। कविताले कविता नै सुनाइरहेझैँ लाग्थ्यो, हेर्दा पनि र सुन्दा पनि। फाटफुट कविता सुनाउँदै आएकी उनले लामो समयपछि पहिलो कविता कृति प्रकाशित गरिन्, ‘फाटकमा घाम।
फाटकमा घाम विमोचनमा जानुअघि पङ्क्तिकारलाई बर्खे झरीको बीचमा लाग्यो, फाटकमा घाम होला त? यता मिरिकतिर दुई दिनदेखि लगातार दर्के झरी थियो। तर उता कविता राई गाउँलेको किताबमै सही, घाम लागेको होला भन्ने विश्वासमा, पशुपति फाटकबाट पारी फिक्कलतिर लागियो। साँच्चै भन्नुपर्दा कविता घाम खोज्नै फिक्कल पुगेकी थिइन् कि कसो? किन भने पशुपति फाटकमा पनि घाम थियो, पारी फिक्कलमा त अझ घमाइलो—रमाइलो लाग्यो।
ढिलो गरी शुरू भएको कार्यक्रममा अतिथिहरूको लामो र पट्यारलाग्दो आसन ग्रहणले समयलाई झन् खर्चिलो बनाउँदै थियो। हुन त हिजोआज कविता कार्यक्रममा कविता ग्रहण भन्दा आसन ग्रहण नै बढी हुने चलन छ। बदलिएको छैन यो झमेलायुक्त सामन्ती अभ्यास। किताब लोकार्पण भयो, पाइहालेँ। बीचबीचको हाइलाई छल्दै, किताब ओल्टाई पल्टाइ गरेँ। घाम शीर्षकसहितको यो कविता कृति उज्यालो रहेछ। आखिर घाम चिन्न एक लप्को उज्यालो काफी हुन्छ। कविताको उजेलीमा उजिल्याइ र आफूलाई आनन्द बनाइ घर ल्याएँ।
कविता राई गाउँलेले मञ्चमै भनेकी थिइन् र किताबको पृष्ठमा पनि लेखेकी छन्, ‘हुन त म पनि कुनै दिन कविता लेख्नेछु, कवि हुनेछु, सोचेकै थिइनँ।’ हामी उनका लागि कृतज्ञ छौँ। यदि उनले ‘कवि नै हुनेछु, कविता नै लेख्नेछु’ भनेर पहिले नै सोचिदिएको भए सायद आज हामीले कविताको पनि कविता पाउने थिएनौँ। किनभने कवि सोचेर हुने कुरा होइन। हुन्छु भनेर देवकोटा र भूपिहरू कवि भएका होइनन्। न त उताका सेली र किट्सहरू नै घोटिएर कवि भएका हुन्।
कविता जब हुन्छ, त्यो अनुभव, भावोत्तेजना, संयोग र खै अरू धेरै कुराले हुन्छ। कुनै सूत्र घोटेर या घुँडा कसेर कोही कवि नहोला। कविता सबैको बसमा हुने कुरा पनि होइन। तर हात हातमा प्रकाशन गृह (सामाजिक सञ्जाल) को यस युगमा जतासुकै 'आशुकवि' जताततै भेटिन्छन्, जसलाई हाँसो कवि भनिदिँदा पनि हुन्छ। यद्यपि, यसैबीच केही गम्भीर कवि पनि छन्। हिजोआजका आशुकविहरूले धेरैलाई ‘आच्छु–आच्छु’ बनाएका छन्। जेनजी पुस्ताको स्वेगमा भन्दा ‘इरिइ’ गरेर। हाम्रै रैथाने रवाफमा भन्दा ‘गिदी’ गरेर।
कविता राई गाउँलेलाई कविता निकाल्न हुटहुटी लगाउनेको हुल ठूलो थियो भनी आफ्नो किताबमा उल्लेख गरेकी छन्। तर कविता त होरी र हुलको हुटहुटीमा आउने कुरा होइन। कविता स्वतःस्फूर्त प्रस्फुटित ज्ञान/बोध हो। यसैले कविता लामो समयसम्म हतारिइनन्, पर्खिरहिन्। ‘पर्खाइ नै सुन्दर कविता हो।’ त्यो पर्खाइपछि प्रस्तुत भएका उनका कविता सुन्दर र सशक्त छन्। कविताका कविता हुटहुटीको हुलहुज्जतमा होइन, स्वयंकै मन, विचार र अनुभूतिका पौरखमा रचिएका छन्। कविताले कसैको करकापमा कविता कोरकार गरेकी छैनन्।
साहित्यको यो राहु–केतु समयमा कविता राई गाउँलेको उद्देश्य भारत–नेपाल साहित्यलाई जोड्ने सेतुको रूपमा मूल्यवान् छ। र, यस्तो साहित्य–सेवा आजको समयमा हिम्मतिलो काम पनि हो। पशुपति फाटकमा बसेर लत्ता–कपडाको कारोबार गरे पनि उनी व्यवसायभन्दा बढी कविताकै फिक्री गर्छिन्। र, त्यसैले होला, लत्ता कपडाका लागि होइन, कविताका लागि सधैँ लागि पर्छिन्। पशुपति फाटकस्थित उनको पसल पसल मात्र होइन, नेपाल–भारतका साहित्यकारहरूको संगमस्थल र साहित्यिक संवादको थलो हो। त्यो थलो समग्र नेपाली साहित्यकै लागि एक भलो हो।
कविता पशुपति फाटकमा बस्छिन्। त्यहीँ बसेर उनले त्यहीँको मात्र होइन, जताततैको कविता लेखेकी छन्। कविताको कला र सामर्थ्य नै यही हो। कहीँ पनि बसेर जहीँ–त्यहीँको कविता लेख्न सक्नु। र, कहीँ न कहीँको कवितामा हर कोहीले, केही न केही पाउन सक्छ। संग्रहमा उनन्चास वटा कविता समावेश छन्। किन पचास बनाइनन् होला? सायद जति थियो, जतिमा कविता थियो, त्यत्तिकै राखिन्। र, त्यसलाई नै कविता भनिन्। कविताले कहिल्यै कविता ‘कनिनन्।’
नेपाली बृहत् शब्दकोशअनुसार नगरको सिमानामा रहेको ठूलो द्वार, कुनै भवनमा पस्ने बाहिरी ढोका वा गेट भन्ने अर्थमा बुझिन्छ। यसै अर्थ–बुझाइमा नै कविताको यो कृति ‘फाटकमा घाम’ मा ‘फाटक’ शब्द प्रयोग गरिएको छ। यो शब्द नेपालतिर भन्दा पनि दार्जिलिङ–सिलगढी क्षेत्रको जनजिब्रोमा बढी प्रचलनमा आएको पाइन्छ। इलामको सूर्योदय नगरपालिकाको फिक्कलस्थित सभागृहमा यस पुस्तकको लोकार्पण हुँदै गर्दा लागिरहेको थियो, ‘सूर्य पनि त घामै हो, होइन र?’ तर कवि हुनुको विशेषता यही हो, सामान्यलाई असाधारण बनाउने सामर्थ्य। सामान्य शब्द र दृश्यबाट विशेष अर्थ नयाँ अनुभूति दिलाउने कला। साहित्यमा यसलाई भनिन्छ—‘अपरिचितिकरण’। यो त्यस्तो आर्टिस्टिक टेक्निक हो, जसले पाठकलाई प्रचलित अनुभूतिमा नयाँपन भर्छ। रूसी साहित्यशास्त्री मात्होना दिलहायोको भनाइ सापटी माग्दा:
'फूल सधैँ सूर्यतिर बढ्छ,
किनभने सुन्दरताले सुन्दरतालाई चिन्छ।'
कविता राई गाउँलेले किताबको समर्पण पृष्ठमा लेखेकी छन्,
सधैँ मेरा आँखालाई टेकेर उभिने
ओ श्रीअन्तु,
माफ गर
आज मैले तिमीलाई टेकेर
प्रिय घामलाई छोएँ
मान्छेले सधैँ खोजिरहने चीज घाम हो। मान्छेको चाहना घाम, चाम पनि घाम। हेनरी वार्ड बीचर भन्छन्, 'घाम केही रुख, पात र फूलका लागि मात्र लाग्दैन,यो त संसारको खुसीको निम्ति चम्किन्छ।'
वारि–पारि भए पनि, सिमानाले छुट्या पनि, दशगजाले यता–उता उभ्याए पनि घामले कहिल्यै छुट्टाएको छैन। मान्छेलाई मान्छेले छुट्टाएको हो, अरू कुनै प्रकृतिले होइन। कविता राई गाउँले सिमानामा बसेर कवि मनले फाटकको घाम हेर्दै सोच्छिन्, ‘एक घाम, एकै घाम’। त्यही फाटकको घामबाट फुलेको छ कविता, फक्रिएको छ जीवन। र बनेको छ ‘फाटकमा घाम’।
कविता राई गाउँलेका कवितामा महिला मुक्ति, पीडा र समस्याको उठान चिच्याहटबाट गरिएको छैन। तर पनि पाठकले सहजै दमन र सकसको आहट महसुस गर्न सक्छन्। सुनाउन चिच्याउनु पर्छ होला, तर बुझाउन चिच्याउनु पर्दैन भन्ने सत्य कवि–कविताले राम्ररी बुझेकी छन्। उनका कविताले पारिवारिक, सामाजिक संरचना र राजनीतिक वञ्चनाविरुद्ध थाहै नपाइ मीठो तरिकाले तिखो प्रहार गरेका छन्। कोमलता र संवेदनाको सयरमा सजिएका ती कविता प्रगतिशील धारतर्फ उभिएका छन्। कविता सरल, स्वादिला छन्, र छन् जब्बर अनि खँदिलो। कवितामा कविताको भविता प्रष्टै प्रविष्ट देखिन्छ। जीवनका भत्कोसहरूमा उनी दुखी देखिन्नन्, बरु दर्बिलो र गर्विलो भएर आफैलाई त्यही भत्कोसमा समाहित गर्छिन्। उनी मान्छिन्, जीवन एकमुष्टमा होइन, छरपस्टमा छ। उनका एकाधिक कवितामा ‘भत्किने’ भाव गहिरो रूपमा व्यक्त छन्।
भित्ताहरू भत्केको, आफैलाई भत्काउन आग्रह गरिएको र यहाँसम्म कि सपनाको पहाड भत्कोस् भन्ने चाहना पनि छ कवितामा। तर कवितामा ‘भत्कनु’ भन्ने कुरा नकारात्मक मात्र होइन, त्यो प्राकृतिकताको स्वीकार र विचारको प्रतिवादसँग पनि गाँसिएको छ। कविको यस्तो दृष्टिकोण स्वतन्त्र अस्तित्व निर्माणतर्फको यात्रा हो, एक सचेत, सबल र सशक्त आत्म–प्रकाशन हो।
कविताका कवितामा शाब्दिक चडकधडक छैन। छ त केवल सुललित र सुसज्जित हरफ, जो शान्त रूपमा पढ्नेलाई समेट्छन् र बाँध्छन्। र, मनमा बस्छन्। अरू कविहरूबाट फरक देखिनकै लागि कविताको संरचना यहाँ हेरफेर गरिएको छैन। उनले गर्ने दैनिक व्यवसायबाट कहिले कति आय हुन्छ, थाहा छैन, तर उनका कविताको आयु चिरकालीन छ। अर्थपूर्ण र अमर। भरमग्दुर दर्शनको आत्मसातले उनको कविता बोझिलो भएको छैन, बरु कब्जियतजस्तो बौद्धिक थिचोमिचोबाट टाढा छ।
कविता के हो भन्दा ‘सम’ले भनेका छन्, ‘भावनाको बौद्धिक कोमलता।’ यही परिभाषा कविता राई गाउँलेका कवितामा जिउँदो छ। त्यो कोमलता, जुन छुन्छ तर समाएको थाहै नहुने हुन्छ। भाव–बोधको गहिराइ र नवीन विचारहरूको खोज उनका कवितामा पाइन्छ। कवितालाई आजै परिवर्तन ल्याउनुपर्छ, भोलि नै सुख भोग्न पाइहाल्नुपर्छ भन्ने हतारो छैन। उनको कविताको सत्य भनेको सातत्य हो। निरन्तरता र निरन्तरता। उनी जीवनको क्रमिकतामा विश्वास गर्छिन्। विश्वासको विकास बिस्तारै मात्र सम्भव छ भन्ने उनको भाव छ। यही विश्वास उनका कविताभरि विस्तारित छ।
परिचय, पहिचान, स्थान, थान–थपना, सपना–बिपनामा प्रयोग भएका विम्ब–प्रतीकहरू अरूबाट लिइएका होलान्, तर ती सबै उनकै मौलिक संवेदनासँग गडिएका छन्। उनी देख्दा बोलैया लाग्छिन्, तर उनका कविता मौन छन्। मौन भएर पनि धेरै बोलेका छन्। र, साँचो कविता त्यही हो, जो बोल्नुभन्दा बढी ‘भित्र’ बोल्छ। नबोलेर पनि बुझिइन्छ। मौनताको गहिराइ कविता राई गाउँलेका कविताका विशेषता हुन्।
कविता संग्रह ‘फाटकमा घाम’को पहिलो पृष्ठमै, जुन संग्रहको शीर्षक कविता पनि हो, हिज्जे भूल देखिन्छ। अन्य ठाउँमा पनि यस्ता हिज्जे गल्ती फेला पर्छन्। यदि प्रुफ रिडिङमा थोरै ध्यान दिइएको भए, किताब अझै सुदृढ र सुन्दर बन्न सक्थ्यो!
केही कवितामा अन्त्यसम्म पुगिएको महसुस हुँदैन। कविता बीचमै छाडिएजस्तो लाग्छ। कहिलेकाहीँ छिटो सकाइहाल्ने हतारो देखिन्छ। कुनै कुनै स्थानमा नियमबद्ध नापतौलको लेखनी प्रयोग गर्दा काव्यिक स्वाभाविकता र प्रवाह कमजोर भएको भान पर्छ। विषयगत पुनरावृत्ति भएको अनुभूति दिने कविता पनि छन्। जस्तै, ‘सुम्निमा सपना’ शीर्षकका कविता १ र २ अघिपछि राखिएको छ र पछिल्लो भागतिर ‘सुम्निमा मन’ शीर्षकको कविता पनि छ। यी कविता पढ्दा उही भाव र विचार दोहोरिएझैँ लाग्छ।
कविता लेख्दै जाँदा अन्तिमतिर पुग्दा त प्रायः कथाझैँ लाग्ने एक लामो कविता पनि छ। आख्यानको स्वरूपमा कविता लेख्ने ट्रेन्ड अचल चले पनि, यसमा चाहिँ सो कविता समावेश नगरिएको भए पनि केही बिग्रने थिएन। ४९ वटा कविताबाट ४८ वटा हुन्थे। कविता, कविता नै रहन्थ्यो। कविता गाउँलेको यो संग्रह पढिरहँदा भैरव अर्यालको भनाइ याद आउँछ। उनी भन्थे, "दुई वटा महत्त्वपूर्ण किताबमा बढी ध्यान दिनुपर्छ; एउटा जीवन, अर्को समाज।" त्यही जीवन र समाज समाहित भएको एउटा किताब हो, ‘फाटकमा घाम।’
पशुपति फाटक हुँदै भारततिर आउने धेरैलाई एक पटक भन्सार तिरेपछि पनि अनेकौँ ठाउँमा पैसा बुझाउनु पर्ने बाध्यताका कारण त्यो फाटक पार गर्नु झन्झटिलो लाग्छ। तर, कविता राई गाउँलेको कविता र कवि मनले भने सबैलाई पशुपति फाटकतिर फर्केर हेर्न बाध्य बनाउँछ, चाहे फाटकमा घाम लागोस् या नलागोस्।
कविता सधैँ त्यही र त्यतिमात्र हुँदैन। कविता कुनै निश्चित निष्कर्ष होइन। असीमित घोत्लाइ र अनुभूतिमा बाँच्ने यात्रा क्रम हो। एक कविको एउटै किताबभित्रका सबै कविता नै सशक्त हुन्छन् भन्ने जरुरी छैन। कविता–कवितामै पनि केही कविता हुन्छन्,केहीमा कविताको अनुभूति मात्र।
(दार्जीलिङका वियोगी राजनीति र साहित्यबारे लेख्छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
