प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

परम्परागत राडी, पाखी, काम्लो, हरदुब्लोको प्रयोग घट्न थालेको छ। बजारमा बिक्री नहुँदा भेडाको ऊन जंगलमै फाल्नुपरेको किसानको गुनासो छ।

म्याग्दी– मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइ नभ्याइ हुन्थ्यो। अहिले भने उनी फुर्सदिलो छिन्।  

न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो। गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो। बिस्तारै सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि मौलिक सामग्री लोप हुन थालेको उनले सुनाइन्। “परम्परागत राडी, पाखी, काम्लो, हरदुब्लोको प्रयोग घट्न थालेको छ। बजारमा बिक्री नहुँदा भेडाको ऊन जंगलमै फाल्नुपरेको छ,” उनी भन्छन्। 

असार र कात्तिकमा ऊनले भेडालाई गर्मी हुने र बाह्य परजीविको संक्रमण नहोस भनेर ऊन काट्ने गरिन्छ। बिक्री नहुने भएपछि घरायसी उपभोगबाहेकका ऊन जंगलमै फाल्ने गरेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका भेडापालक कृषक कमल पाइजाले बताए। 

“ऊन निकाल्ने आधुनिक औजारको अभावमा कैँचीको सहाराले काट्ने गरिन्छ,” उनले भने, “सीपयुक्त जनशक्तिको अभावका कारण ऊनबाट कपडा बनाउने चलन हराउँदै गएपछि खपत पनि घटेको हो।” ऊनबाट बुनेका मौलिक कपडा वातावरणमैत्री हुन्छ। म्याग्दीको गुर्जा, मल्कवाङ र कुइनेमंगलेमा बसोबास गर्ने अल्पसंख्यक छन्त्याल समुदायको मौलिक पोसाक ऊनबाट बनेका कपडा हुन्। 

आर्थिक वर्ष २०७९/८० मा १८ हजार ५६७ भेडा रहेको म्याग्दीमा २०८०/०८१ मा घटेर १७ हजार ५६५ वटामा झरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ। अघिल्लो वर्ष ६१ हजार ४२४ वटा बाख्रा रहेको म्याग्दीमा २०८०/०८१ मा ६० हजार ४२३ मा झरेको छ।