सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

अघिल्लो कारोबार दिन ४१ अंकको गिरावट देखिएको बजारमा आज भने १.९४ अंकले घटेर २,८३२.०६ को विन्दुमा पुगेको छ।

काठमाडौँ– शेयरबजार परिसूचक नेप्से बुधबार सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन ४१ अंकको गिरावट देखिएको बजारमा आज भने १.९४ अंकले घटेर २,८३२.०६ को विन्दुमा पुगेको हो।

यस्तै, आज कारोबार रकम पनि घटेको छ। कुल ३२० स्टकको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता खरिदबिक्री हुँदा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आज समाज वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, माहुली लघुवित्त र ट्रेड टावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबारमा आएकामध्ये थ्रिस्टार लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ३.७८ प्रतिशतले घटेको छ। यस्तै, रिलायबल सम्वृद्धि योजनाको शेयर मूल्य २.७४ प्रतिशत तथा समता लघुवित्त र युनिलिभर नेपालको शेयर मूल्य क्रमश: २.७२ ​र २.७१ प्रतिशतले घटेको छ।

आज लघुवित्त, लगानी र अन्य उपसमूहमा सामान्य वृद्धि देखिएको छ भने बाँकी उपसमूह घटेका छन्। लघुवित्त उपसमूह सबैभन्दा धेरै १.४१ प्रतिशतले बढेको छ। लगानी ०.४९ र अन्य उपसमूह ०.४४ प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै व्यापार उपसमूह ०.६६ प्रतिशतले घटेको छ।