प्रधानमन्त्री दाहालले मन्त्रालयका काम–कारबाहीबारे सचिवहरूबाट लिए जानकारी

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई बोलाएर त्यहाँको काम–कारबाहीको विवरण लिएका हुन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न मन्त्रालयका काम–कारबाहीबारे जानकारी लिएका छन्। प्रधानमन्त्री दाहालले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई बोलाएर त्यहाँको काम–कारबाहीको विवरण लिएका हुन्।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायको काम–कारबाही जानकारी लिने काम शुरू गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले जानकारी दिए। त्यसक्रममा सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरूले भोग्नु परेका समस्याबारे प्रधानमन्त्री दाहालसमक्ष ब्रिफिङ गरेका थिए।

"सरकार प्रमुखका रूपमा विभिन्न मन्त्रालय, निकायहरूले कसरी काम गरिरहेका छन्? के भइराखेको छ। हाम्रो विकासको गति कस्तो छ? त्यो सरकार प्रमुखले जान्ने स्वाभाविक प्रक्रिया नै हो। त्यही सन्दर्भमा छलफल भएको हो", उनले भने।

तर, सबै मन्त्रालयका सचिवहरूले सोमबार सबै विवरण प्रधानमन्त्रीसमक्ष पेस गर्न नसकेकाले भोलि पुनः छलफल हुने भएको छ। मुख्यसचिव बैरागीका अनुसार भोलि पुनः छलफल हुने र प्रधानमन्त्री दाहालले नेपाल सरकार सचिवहरूलाई निर्देशन दिने छन्।

"विभिन्न मन्त्रालयहरूबाट संक्षेपमा प्रस्तुति भएको छ। केही निकायहरू बाँकी छन्। त्यो भोलि सबैको विवरण लिइसकेपछि प्रधानमन्त्रीको निर्देशन आउँछ", उनले भने।

प्रधानमन्त्री भएपछि दाहालले पहिलोपटक विभिन्न मन्त्रालयका काम–कारबाहीबारे चासो लिएका हुन्। प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिबद्धता व्यक्त गरेका थिए।