पर्यटक तानिरहेको बुकीपाटनमा गोठबासले सहज

महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठबास सञ्चालन गरेका हुन्। गोठबास सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको उनले बताए।

ढोरपाटन– ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा। समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो। 

भीर, जंघार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन्। उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका लागि गोठबास सञ्चालनमा ल्याइएको छ। केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडीगोठबाहेक अरू कुनै पनि संरचना थिएन। 

गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठबास सञ्चालनमा ल्याइएको हो। अहिले दैनिकजसो औसतमा एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जाने गरेका छन्। विशेष गरी बर्खाको समयमा बुकीपाटन हरियाली देखिने र यहाँबाट अनगिन्ती हिमशृंखलासहित हजारौँको संख्यामा भेडाका बथानको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो। 

बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा नहुँदा उनीहरू भेडी गोठालेसँगै गोठमा रात बिताउने गर्थे। गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे। तर अहिले त्यो समस्याको कम भएको छ। पर्यटकको आगमनमा वृद्धि भएसँगै गत वर्षदेखि ढोरपाटनका सन्देश थापाले बुकीपाटनको प्रवेशद्वार गर्पाछेडामै गोठबास सञ्चालनमा ल्याएका हुन्। 

स्थानीय महेन्द्र घर्ती मगरले पनि यस वर्षदेखि गोठबास सञ्चालनमा ल्याएका छन्। थापा र घर्ती मगरको गोठबास नजिकै छ। ढोरपाटन उपत्यकाबाट जाने पर्यटकलाई उनीहरू स्वागत गर्छन्। घण्टौँको यात्रापछि गर्पाछेडा पुग्ने पर्यटक लागि गोठबास विश्रामस्थल बनेको छ। गोठबासबाट पर्यटकले उच्च पहाड, हिमशृंखला र गोठलाको जनजीवन अनुभूत गर्न पाउँछन्।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकीपाटन आउने पर्यटक बढेको गोठबास सञ्चालक सन्देश थापाले बताए। पछिल्लो समय बुकीपाटन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचारप्रसार हुन थालेपछि पर्यटक बढ्न थालेको उनको भनाइ छ। बुकीपाटन गोठबास सञ्चालन गर्नुको मुख्य उद्देश्य यस क्षेत्रको प्रवर्द्धन गर्नु र पर्यटकको सेवा गर्नु भएको उनी बताउँछन्। गोठबासमा बास बस्ने पर्यटकलाई ढोरपाटनमा उत्पादन भएको आलु, बुकीपाटनमा रहेका भेडा च्यांग्राको मासु, लेकाली साग, आँटो ढिडोलगायत परिकार खान दिने गरेको थापाले बताए। 

“केही समय अघिसम्म यो क्षेत्र पर्यटकका लागि ओझेलमै थियो, दुई/तीन वर्षदेखि यहाँ बढी मात्रामा पर्यटक आउन थालेका हुन्, पोहोरदेखि मैले गोठबास शुरू गरेँ, यसवर्ष अर्को एक जना साथीले पनि थाल्नुभएको छ,” उनले भने, “पहिले पर्यटक बुकीपाटन आउँदा गोठालासँग गोठमा बस्नु बाध्यता थियो, उहाँहरूलाई खाना र सुत्नका लागि निकै समस्या थियो, अहिले त्यो समस्याको समाधान गरेका छौँ।”

महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठबास सञ्चालन गरेका हुन्। ढोरपाटन उपत्यकामा होटल सञ्चालन गर्दै आएका घर्तीमगरले गोठबास सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको बताए।

गोठबासमा आउने पर्यटकसँग एक रातको बसाइँसँगै खाना र खाजाको २ हजार ५०० रुपैयाँ लिने गरेको उनको भनाइ छ। कोही पर्यटक बिहान ९ बजे बुकीपाटन पुग्ने र साँझ फर्किने गरेका छन्। 

“सडकको पहुँच नभएको हुँदा पदमार्गमार्फत यहाँ आउनुपर्छ, हिँडेर आउँदा धेरैलाई थकान लाग्छ, केही त बिरामी पर्नुहुन्छ,” घर्ती मगरले भने, “बुकीपाटन आउँदा स्वास्थ्यको ख्याल गरेर आउनुपर्छ, हामीहरुले गोठबासमा आउने पर्यटकका लागि सामान्य प्राथमिक उपचारको व्यवस्थाप गरेका छौँ, अब पर्यटकलाई पहिलेको जस्तो गोठमा बस्नुपर्ने अवस्था छैन।”

गर्पाछेडाबाट फागुने, टीकाधारलगायत स्थानमा पुग्न सकिन्छ। गोठबासले बुकीपाटन आउँदा बसाइ र यहाँको घुमफिरलाई सहज बनाइ दिएको पोखरा महानगरपालिका–७ बाट आएका मुकेश सुब्बाले बताए। ؘ