पाका र अनुभवी डाक्टरको सबैभन्दा ठूलो शक्ति तिनको लामो अनुभव र खारिएको सीप हो। बिरामीको कुरा सुनेर र कतिपय अवस्थामा मनोदशा पढेर उनीहरू रोगको गहिराइ अनुमान लगाउन सक्छन्।
‘डाक्टर त सिनियर र एकदमै राम्रो रैछन्, तर धेरै उमेरका। उति पाको उमेरकालाई त के देखाउनु हौ, भरै लाग्दैन। आँखाले नठम्याएका कारण एउटा भन्दा अर्को उपचार गरिदिए भने के गर्नु।’
एक वर्ष पनि नपुगेकी छोरीको उपचारका लागि काठमाडौँमा कुनै ‘राम्रो अस्पताल’ चहारिरहेका एक जना अभिभावकको हो यो अभिव्यक्ति। बच्चाको 'सिनियर डाक्टर' सुझाउने क्रममा बच्चाको अभिभावकले नै यस्तो मनसाय व्यक्त गरेपछि थप सुझाउने चेष्टा गरेनौँ। तर उनको यस्तो अभिव्यक्ति भने रोचक र संवेदनशील लाग्यो।
के साँच्चै पुराना पुस्ताका चिकित्सक र नयाँ पुस्ताका चिकित्सकले गर्ने उपचार पद्धति फरक छ? के दुई पुस्तालाई फरक तरिकाले परख्न जरुरी छ? वा पुराना पुस्ताका डाक्टर विश्वास गर्न अयोग्य र नयाँ पुस्ताका डाक्टर विश्वास गर्न योग्य भन्ने त्यस्तो कुनै मापदण्ड छ?
उनको अभिव्यक्तिले हामीलाई यी प्रश्नमा घोत्लिन बाध्य बनायो।
यससँग सम्बन्धित केही अनुसन्धान पो छन् कि भनेर हामीले इन्टरनेट चहार्यौँ। पुराना र नयाँ पुस्ताका डाक्टरका क्षमता आकलन गर्ने, उनीहरू बीचको गुणस्तर नाप्ने कुनै उपाय/विधि भेटिन्छ कि भनेर खोज्ने चेष्टा गर्यौँ। तर त्यस्तो केही पाएनौँ। बिरामीका लागि कुन डाक्टर सही हुन्छ भन्ने कुराको निर्धारण बिरामीको रोगको प्रकृति, डाक्टर पहिचानमा बिरामी पक्षको ज्ञान/पहुँच/आर्थिक क्षमता, बिरामीको आवश्यकता र व्यक्तिगत प्राथमिकतामा भर पर्ने कुरा हो।
तथ्य फेला नपरे पनि हाम्रो मनमा उत्सुकता भने बाँकी नै थियो। त्यसैले यसबारे अन्य व्यक्तिको धारणा बुझ्न विभिन्न अस्पतालमा कुनै न कुनै प्रकृतिका रोगको उपचारका लागि गएका व्यक्तिहरूसँग हामीले कुराकानी गर्यौँ। साथै, नयाँ र पुराना छिमलका केही डाक्टरसँग पनि भलाकुसारी गर्यौँ।
हुन त एउटाले ‘राम्रो’ ठानेको डाक्टरलाई अर्कोले प्राथमिकतामा नराख्ने कुरा पनि नौलो होइन। कसैले ‘फलानो डाक्टर त कति राम्रो, उसले छुँदा मात्रै पनि मलाई त सन्चो हुन्छ’ भनिरहँदा, अर्को व्यक्तिले सोही डाक्टरको उपचार पद्धति नरुचाउने गरेको पनि पाइन्छ। व्यक्तिगत विचार र भावना एक अर्कासँग मिल्नु र नमिल्नुको संयोग मात्रै पनि हुनसक्छ यो।
तर के माथिका एक व्यक्तिले भनेझैँ सिनियर डाक्टरहरूप्रति बिरामीको विश्वास घट्दै गएको हो त?
काठमाडौँ, डल्लुकी सरिता ज्ञवालीलाई उनको रोजाइमा कस्ता डाक्टर पर्छन् भनेर सोध्यौँ। उनले आफूले 'सिनियर' (पाका/अनुभवी) डाक्टर नै रोज्ने गरेको बताइन्। उनले भनिन्, “सिनियर डाक्टरहरूसँग आफूले पढेको विषय व्यवहारिक रूपमा उतारेर काम गरिसकेको अनुभव हुन्छ। भर्खर पढाइ सकेर काम सुरु गरेका डाक्टरलाई नयाँ र उन्नत प्रविधिबारे ज्ञान भए पनि, त्यसको प्रयोगमा निखारिएका नहुन सक्छन्।”
ज्ञवालीका अनुसार नयाँ डाक्टरले आफ्नो सिकाइलाई बिरामीमाथि प्रयोग गर्दै सिक्ने माध्यम बनाउँछन् कि भन्ने आशंका रहिरहन्छ। “यसको मतलब नयाँले जानेका हुँदैनन् भन्न खोजेको होइन। तर म सिनियर नै रोज्छु,” ज्ञवालीले बताइन्।
आफ्नी गर्भवती श्रीमतीको पाटन अस्पतालका एक जना सिनियर डाक्टरसँग नियमित जाँच गराइरहेका बानेश्वरका एक व्यक्तिको अनुभव भने अघिको भन्दा अलिक फरक छ। उनी कुनै पनि डाक्टर छनोट गर्दा डाक्टरको योग्यता/विशेषज्ञता केमा छ भन्ने विषयमा जानकारी राख्न चाहन्छन्। उनी भन्छन्, “म अलिक एक्याडेमिक पृष्ठभूमिको मान्छे भएकाले डाक्टरका के कति रिसर्च पेपर आएका छन् भन्ने कुराले मलाई प्रभाव पार्छ।”
कसैले आफूलाई कोही डाक्टर राम्रो छ भनेर सल्लाह दिएको छ भने त्यस्ता डाक्टरकोमा पनि जाने गरेको उनले बताए। “मलाई भर्खरै काम सुरु गरेका डाक्टरभन्दा कपाल फुलेका डाक्टर नै बढी विश्वासिला लाग्छन्। उहाँहरूमा अनुभव हुन्छ। कसको शरीरले कस्तो काम गर्छ, बिरामीलाई कस्तो उपचार र परामर्शको जरुरी छ भन्ने कुरा अनुभवले नै उहाँहरूलाई थाहा हुन्छ। त्यसैले पनि कपाल फुलेका डाक्टर भरलाग्दा लाग्छन्,” उनले भने।
ललितपुर, इमाडोलकी कान्ती अधिकारी सकेसम्म सिनियर डाक्टर नै रुचाउँछिन्। “मैले मेरा दुई जना छोराछोरीलाई अनुभवी डाक्टरलाई नै देखाएँ। आफू गर्भवती हुँदा भने अधबैँसे उमेरका डाक्टरलाई देखाएँ, तर आफूलाई महिलासम्बन्धी केही समस्या भयो भने अनुभवी महिला डाक्टरलाई नै देखाउँछु। किनकि, नयाँ पुस्ताका भर्खर भर्खर काम सुरु गरेका डाक्टर ‘एक्सपेरिमेन्ट’मा जान्छन् जस्तो लाग्छ। जेजस्तो भए पनि अनुभव मूल्यवान् हुन्छ भन्ने मेरो बुझाइ हो। उहाँहरू त्यही काम गर्दागर्दै निखारिनु भएको हुन्छ। कुन बिरामीलाई कसरी र कस्तो तरिकाले उपचार गर्ने भन्ने उहाँहरूलाई थाहा हुन्छ, हामीले केही बिस्तारमा बताउनु पनि पर्दैन, केही भन्नेबित्तिकै समस्या बुझिहाल्नु हुन्छ। अनि औषधी दिने र अन्य परीक्षण पनि कम गराएको पाउँछु। त्यसैले छोराछोरीलाई देखाउन र आफ्नै उपचारको लागि सिनियर डाक्टर नै मेरो रोजाइमा पर्छ।”
उहाँ र उहाँजस्तै सिनियर डाक्टर खोज्नेहरूलाई हेर्ने हो भने पनि पुराना पुस्ताका डाक्टर वर्षौँको अभ्यासले जटिल र दुर्लभ प्रकृतिका रोग पनि सजिलै पहिचान गर्न सक्ने, त्यस्ता केस आउँदा व्यवस्थापन कसरी गर्ने भन्ने क्षमता राख्छन्। सीमित स्रोतमा पनि कसरी राम्रोसँग केस सुल्झाउने भन्ने ज्ञान तिनमा बढी हुन्छ।
हामीले कुरा गरेमध्ये धेरैले बिरामीसँगको सम्बन्ध र विश्वासका कारण पनि अनुभवी डाक्टर नै रुचाउने बताए। पाका डाक्टरले बिरामीसँगको सम्बन्धसँगै उसको पारिवारिक आर्थिक हैसियत तथा सामाजिक अवस्थालाई बुझ्ने सामर्थ्य राख्ने उनीहरूको बुझाइ थियो। साथै, बिरामीले बुझ्ने गरी रोगको अवस्था र निराकरणबारे सल्लाह दिन, सम्भावित जोखिमबारे अनुभवका आधारमा सचेत र सतर्क गराउन सक्छन् भन्ने उनीहरूको बुझाइ थियो।
यसो भन्दैमा नयाँ पुस्ताका डाक्टर रोज्ने बिरामी र उनीहरूका परिवारको तर्क कमजोर छ भन्नेचाहिँ होइन। नयाँ पुस्ताका डाक्टर रोज्दा ‘अपडेटेड’ जानकारी पाइने, अनावश्यक औषधी र जाँचको झन्झट नहुने कतिपयको अनुभव छ। प्युठानकी संगीता आचार्यका अनुसार नयाँ पुस्ताका डाक्टरले ‘एभिडेन्स बेस्ड मेडिसिन’ बढी सुझाउने गरेको पाइन्छ। “आफ्नो जीवनशैली र अस्वस्थ खानपान बदलेरै कतिपय रोग न्यूनीकरण हुन्छ भनेर नयाँ पुस्ताका डाक्टरले बढी सुझाएको पाउँछु। त्यसैले नयाँ पुस्तासँग उपचार गराउन बढी विश्वसनीय लाग्छ”, आचार्यको अनुभवले बताउँछ।
भक्तपुरका लक्ष्मण कार्कीको विचार भने मिश्रित छ। आफू वा परिवारका सदस्य बिरामी हुँदा नयाँ र पुराना दुवै पुस्ताका डाक्टरसँग सल्लाह गर्ने गरेको उनी बताउँछन्। उनको विचारमा डाक्टर सिनियर र जुनियर भनेर विभाजन गर्नु भन्दा पनि बिरामीलाई तिनले गर्ने व्यवहार कस्तो छ, परामर्श कसरी गर्छन् लगायतका विषय अर्थपूर्ण हुन्छन्। डाक्टरले अनावश्यक चेकजाँच गर्छन् कि गर्दैनन्, धेरै औषधी दिन्छन् कि दिँदैनन् जस्ता कुराले बिरामी अर्को डाक्टरकोमा जाने कि नजाने भन्ने निर्णय लिन्छ। कार्की भन्छन्, “तर नयाँ पुस्ताका डाक्टर दुई तीन वटा कारणले राम्रो लाग्छ। उनीहरू धेरै मित्रवत् व्यवहार गर्छन्, रोग र उपचार पद्धतिबारे सजिलोसँग बुझाउँछन्। महत्त्वपूर्ण कुरा त, नयाँ पुस्ताका डाक्टर नयाँ नयाँ अनुसन्धानले के भनेको छ भन्नेबारे जानकारी राख्छन्, अपडेटेड हुन्छन्। तर सल्लाह भने दुवैको लिनुपर्छ।”
बिरामी र बिरामीका आफन्तसँग कुरा गरिसकेपछि पनि हामीले त्यसको आधार खोतल्ने प्रयास गर्यौँ, जसका लागि पुराना र नयाँ पुस्ताका डाक्टरका कुरा पनि सुन्यौँ। कतिले आफ्नो विचार राख्ने अनुमति दिए भने कतिले विषयवस्तु प्रष्टमात्रै पार्ने काम गरे।
उमेरले ४० नपुगेका, इन्टर्नल मेडिसिनमा एमडी र एन्डोक्राइनोलोजीमा डक्टरेट गरेका, सिनियर रेसिडेन्ट डा. प्रभात रिजाललाई हामीले ‘नयाँ र पुराना पुस्ताका डाक्टरको उपचार पद्धति फरक हुन्छ?’ भनेर सोध्यौँ। रिजाल भन्छन्, “नयाँ पुस्ताका डाक्टर ‘अपडेटेड’ र नयाँ कुराहरू खोजीनिती गर्ने स्वभावका हुन्छन्। तथ्यमा आधारित मेडिकल अभ्यासमा बढी विश्वास राख्ने हुँदा, नयाँ उपचार विधि र नियमबारे बढी जानकार हुन्छन्। प्रविधिको प्रयोगमा पनि अगाडि हुने गर्छन्। अर्को, सिनियर डाक्टरसँग भन्दा नयाँ पुस्ताका डाक्टरसँग आफ्नो समस्या सेयर गर्न बिरामीले बढी सहज मान्ने गरेको मेरो अनुभव छ”।
उनका अनुसार सिनियर डाक्टरसँग बिरामीको संख्या धेरै हुने हुँदा बिरामीलाई पर्याप्त समय दिन नसक्ने हुँदा पूरै स्वास्थ्य समस्या छलफल गर्न सिनियरसँग समय कम हुने हुनसक्छ। साथै, सिनियर डाक्टरहरूले चिकित्सा विज्ञान पढ्ने समयमा रोगको ‘डाइगनोस्टिक मोडालिटी’ (उपचार/निदान विधि) खासै विकास नभएको हुँदा धेरैजसो ‘इम्पेरिकल ट्रिटमेन्ट’ अर्थात् ‘अनुभवका आधारमा उपचार गर्ने’ गर्छन्। अनुभवका आधारमा गरिनुपर्ने उपचार प्रक्रियामा सिनियर डाक्टरहरूको उपचार शैली बढी प्रभावकारी मानिन्छ।
पाटन हस्पिटलका सिनियर डाक्टर, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ पवन शर्माको विचार भने अलि फरक छ। उनी भन्छन्, “डाक्टर एउटा पेसा हो। कुनै पनि चिकित्सकलाई सक्षम र राम्रो बनाउन तीन कुरा अनिवार्य हुन्छन्। सीप, व्यावसायिक व्यवहार र समयको मूल्य बुझ्ने क्षमता। यति कुराले मात्रै डाक्टरको क्षमता बुझाउँछजस्तो लाग्छ।”
शर्माका अनुसार सीप भन्नाले बिरामीको अवस्था चिन्ने, उपचारको निर्णय लिने र कार्यान्वयन गर्न सक्ने क्षमता हो। यस्तै, व्यावसायिक व्यवहार भन्नाले बिरामीसँगको इमानदार, संवेदनशील र मर्यादित व्यवहार हो भने डाक्टरका लागि समयको अनुशासन उत्तिकै महत्त्वपूर्ण छ। सही समयमा सेवा दिन सक्ने, जिम्मेवारीमा ढिलासुस्ती नगर्नेजस्ता कुरा यसमा आउँछ। महिला वा पुरुष, जवान वा बुढो भन्ने भन्दा पनि उसको टेक्निकल सीप कस्तो छ, कत्तिको जानकार छ भन्ने कुराले डाक्टर कस्तो हो भन्ने निर्धारण गर्छ।
उनी भन्छन्, "पहिलेदेखि नै मानिसको माइन्ड सेट यसरी गरिएको छ त्यसलाई बदल्न समय लाग्छ। मानिसलाई तत्काल समाधान चाहिएको छ। डाक्टर कस्तो भन्ने भन्दा पनि कसले तुरुन्तै निको पार्न सक्छ भन्ने कुरामा ध्यान जान्छ।" डाक्टर शर्माको अनुभवका आधारमा बिरामी र उनको परिवारलाई उपचारको क्रममा कुनै कुरा चित्त बुझेन भने अन्य डाक्टर र अस्पतालमा गएर ‘सेकेन्ड अपिनियन’ लिनुपर्छ भन्ने लाग्छ।
यसलाई प्रस्ट्याउँदै डाक्टर शर्मा भन्छन्, “राम्रो डाक्टर हुन औषधिसम्बन्धी ज्ञान, सिप (जस्तै शल्यक्रिया गर्ने सिप) र बिरामीप्रति देखाउने पेसागत व्यवहार आवश्यक छन्। यति मात्रै पर्याप्त होइन। राम्रा डाक्टरले बिरामीलाई केवल विषय होइन, मान्छेका रूपमा हेर्ने संवेदना पनि राख्नुपर्छ। आँखा र बोलीले मात्रै बिरामी चिरेर हुँदैन। औजारले पनि चिर्न सक्ने क्षमता पनि राख्नु जरुरी छ।”
पाका र अनुभवी डाक्टरको सबैभन्दा ठूलो शक्ति तिनको लामो अनुभव र खारिएको सिप हो। बिरामीको कुरा सुनेर र कतिपय अवस्थामा मनोदशा पढेर उनीहरू रोगको गहिराइ अनुमान लगाउन सक्छन्, जसले गर्दा अनावश्यक परीक्षणको खर्च र झन्झटबाट बिरामी र बिरामीको परिवार जोगिन्छन्। जटिल, पुरानो वा पत्ता नलाग्ने रोगको निदान र उपचारमा उनीहरूको अनुभव निकै मूल्यवान् हुन्छ र तिनको आत्मविश्वासले बिरामीलाई पनि केही हदसम्म ढुक्क बनाउँछ।
अर्कोतर्फ, नयाँ पुस्ताका डाक्टर नवीनतम ज्ञान र आधुनिक प्रविधिमा पोख्त हुने सम्भावना धेरै हुन्छ। उपचारका विभिन्न विकल्पबारे उनीहरू बिरामीसँग सजिलोसँग छलफल गरी बिरामी र आफन्तको इच्छाअनुसार निर्णय लिन रुचाउँछन्, जसले गर्दा बिरामीलाई उपचारमा शंका गर्ने ठाउँ रहँदैन।
डाक्टरको उमेर वा पुस्ता हेरेर होइन, उनीहरूको दक्षता, अनुभव, सिक्ने चाहना र बिरामीप्रतिको व्यवहार हेरेर उपचार प्रक्रिया शुरू गर्नु प्रभावकारी हुन्छ। जसले गर्दा बिरामीले दुवै पुस्ताका डाक्टरबाट स्वास्थ्य लाभ लिन सक्छन् र रोगको निदान पनि सहज तरिकाले हुन्छ। साथै, यस्तो अभ्यासले सन्तुष्टि मिल्नुका साथै स्वास्थ्य सेवा र डाक्टरप्रति सकारात्मक हुन पनि सकिन्छ।
(लेखकहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’का निर्माता तथा प्रस्तोता हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
करुणा देवकोटा
