कुलिङ अफ पिरियडसम्बन्धी छानबिन प्रतिवेदन तयार, संसद्‌मा पेश हुँदै

छानबिन समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर तयार पारेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ। प्रतिवेदन मंगलबारको प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी छ।

काठमाडौँ– संघीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी गरेको छ। 

सोमबार रातभर सिंहदरबारमा बसेर प्रतिवेदन तयार गरेको र मंगलबारको बैठकमा पेश गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिए। समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिएको हो। 

त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ। समितिमा संसद्‌मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको कमजोरी र यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट छलफल भएको छ।

प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो। 

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन्।