अमेरिकी प्रतिबन्धको विरोधमा ब्राजिलमा प्रदर्शन

प्रदर्शनकारीहरूले अमेरिकाले भन्सारलाई राजनीतिक दबाबको साधन बनाएर ब्राजिलको न्यायिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि भन्सार शुल्क वृद्धि र प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा ब्राजिलका विभिन्न शहरहरूमा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले ब्राजिलस्थित अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूअगाडि भेला भएर आफ्नो असन्तोष व्यक्त गरेका छन्।

प्रदर्शनकारीहरूले ‘सम्प्रभुता सम्झौताको विषय होइन’ भन्दै नाराबाजी गरेका छन्। उनीहरूले अमेरिकाले भन्सारलाई राजनीतिक दबाबको साधन बनाएर ब्राजिलको न्यायिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाएका छन्।

अमेरिकाले बुधबार ब्राजिलबाट आयात हुने वस्तुहरूमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेको थियो। साथै, अमेरिकाले सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्द्र डि मोराइसमाथि प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ।

न्यायाधीश डि मोराइसले पूर्वराष्ट्रपति जाएर् बोल्सोनारोविरुद्धको मुद्दाको अनुगमन गरिरहेका छन्। बोल्सोनारोमाथि २०२२ को निर्वाचनमा पराजयपछि सत्ता कब्जा गर्न खोजेको आरोप लागेको छ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकी नीतिको कडा विरोध जनाउँदै यसलाई ब्राजिलको आन्तरिक मामिलामा अवाञ्छित हस्तक्षेप भनेका छन्। उनले राष्ट्रिय हित र न्यायिक प्रक्रियाको सम्मान गर्नुपर्ने बताए।

"हाम्रो देशको निर्णय प्रक्रिया पूर्ण रूपमा स्वाधीन र संवैधानिक हो। ब्राजिल कुनै पनि प्रकारको बाह्य दबाब वा प्रभावमा चल्न सक्दैन," उनले भने। उनले समानताको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।