८० वर्षअघि हिरोशिमामा खसालिएको आणविक बमबाट बाँचेका कोरियालीहरू अहिले पनि शारीरिक, मानसिक र सामाजिक रूपमा पीडामा छन्।
सन् १९४५ अगस्ट ६ मा हिरोशिमामा खसालिएको आणविक बम ‘लिटिल ब्वाई’को त्रासदीपूर्ण घटनाको ८० वर्ष बितिसक्दा पनि त्यसबाट बाँचेका कोरियाली अझै पनि शारीरिक, मानसिक र सामाजिक पीडामा बाँचिरहेका छन्। तत्कालीन औपनिवेशिक जापानका लागि मजदुरका रूपमा हिरोशिमामा रहेका हजारौँ कोरियालीले दोस्रो विश्वयुद्धको अन्त्यपछि पनि आफ्नो जीवनमा कहिल्यै शान्ति पाउन सकेनन्।
त्यसबेला पाँच वर्षकी रहेकी बाए क्युङ–मी अहिले ८५ वर्ष पुगिन्। उनले त्रासदीपूर्ण क्षण सम्झँदै भनिन्, “त्यस दिन म घरमा खेलिरहेकी थिएँ। माथिबाट जहाज आएको आवाज सुनेँ, र मैले मेरी आमालाई 'आमा! त्यहाँ हवाईजहाजहरू छन्!' भनेँ। त्यसको केही मिनेटमै मेरो घर ढल्यो र आमा भग्नावशेषमा पुरिनुभयो।”
बाएलाई घरको भग्नावशेषले नै आगोबाट बचाए पनि उनले आमा, काका र काकीलाई गुमाइन्। यो घटनापछि जापानबाट कोरिया फर्किए पनि बाए र उनको परिवारले आफ्नो पीडालाई जीवनभर गोप्य राखे।
“मैले मेरो पतिलाई समेत म हिरोशिमामा थिएँ र बम विस्फोटको सिकार भएको थिएँ भनेर कहिल्यै भनिनँ,” बाए भन्छिन्। त्यस समयमा समाजले आणविक बमबाट बचेका(हिबाकुशा)लाई गलत दृष्टिकोणले हेर्थ्यो र उनीहरूसँग विवाह गर्न चाहँदैनथ्यो। यही डरले उनले आफ्नो जीवनको ठूलो भाग यो सत्य लुकाएर बिताइन्।
सन् १९९६ मा दक्षिण कोरियाको हाप्चेओनमा बमपीडितका लागि स्थापना गरिएको विशेष केन्द्रमा नाम दर्ता भएपछि मात्र उनका दुई छोराले यो सत्य थाहा पाए।
बाए विकिरणसम्बन्धी रोगको डरले क्यान्सरको उच्च जोखिममा रहेको भन्दै आफ्नो अण्डाशय र स्तन निकाल्न बाध्य भएको बताउँछिन्। तर यो कुरा पनि उनले आफ्नो परिवारलाई कहिल्यै भनिनन्। “हामी सबैले यसलाई दबाइदियौँ,” उनले भनिन्।
पीडामाथि पीडा
हिरोशिमा र नागासाकीमा भएको दुई बम विस्फोटमा करिब सात लाख ४० हजार मानिसको ज्यान गएको थियो। जापानको उपनिवेश रहेको समयमा ठूलो संख्यामा कोरियाली जापानमा मजदुरी गर्न गएका थिए। यद्यपि, उनीहरूले जापानमा ‘हिबाकुशा’ र ‘कोरियाली’ दुवैका रूपमा दोहोरो भेदभाव सहनुपरेको थियो।
सन् १९५० देखि १९५३ को कोरियाली युद्धले कोरियाली प्रायद्वीप विभाजित भएपछि धेरै कोरियालीले राजनीतिक रूपमा प्योङयाङ समर्थक र सियोल समर्थकमध्ये एकलाई रोज्नुपरेको थियो।
क्वोन जून–ओहकी आमा र बुबा दुवै हिरोशिमा आक्रमणमा बाँच्न सफल भएका थिए। उनका अनुसार, ७६ वर्षका उनका आमाबाबुले आफ्नो पुस्ताका अन्य सदस्यले जस्तै जापानीले ‘फोहोर र खतरनाक काम’ मात्र गर्न पाउँथे। सन् १९९० को दशकको अन्त्यसम्म हिरोशिमा शान्ति पार्कमा कोरियाली पीडितलाई आधिकारिक स्मारक बनाउनबाट पनि वञ्चित गरिएको थियो।
सन् १९४५ अगस्ट ६ मा किम ह्वा–जा चार वर्षकी थिइन्। उनले विस्फोटपछि हिरोसिमाबाट भाग्ने प्रयास गर्दा घोडाको पासोमा परेको सम्झना गर्छिन्। “एक्कासि ठूलो आवाज आयो। धुवाँ सबैतिर फैलियो र शहर जल्यो,” उनले भनिन्। त्यस समयमा आमाबाबुले कम्बलले मुख छोप्न भनेपछि उनले त्यसै गरिन् र सम्भवतः ज्यान बच्यो।
तथ्याङ्कको अभाव र लामो समयदेखिको पीडा
कोरियाली समूहको अनुमानअनुसार त्यस दिन ५० हजारभन्दा बढी कोरियाली शहरमा थिए। हजारौँले सैन्यस्थलहरूमा मजदुरी गरिरहेका थिए।
हिरोशिमाका अधिकारीले एपीएफसँग भने, “शहरको कार्यालय पूर्ण रूपमा ध्वस्त भएकाले स्पष्ट रेकर्ड पत्ता लगाउन सम्भव भएन।” जापानको औपनिवेशिक नीतिले कोरियाली नामको प्रयोगमा पनि प्रतिबन्ध लगाएको हुँदा रेकर्ड राख्न थप जटिल भयो।
आक्रमणपछि बाँचेका हजारौँ कोरियाली आफ्नो नयाँ स्वतन्त्र देशमा फर्के। तर त्यसयता उनीहरूले स्वास्थ्य समस्यासँगै सामाजिक लाञ्छनाको सामना गरिरहेका छन्। “त्यतिबेला विकिरणको जोखिम संक्रामक हुन सक्छ भन्ने निराधार अफवाह थिए,” हाप्चेओन आणविक बम पीडित केन्द्रका निर्देशक जियोङ सो–वोनले भने।
जियोङले राष्ट्रव्यापी रूपमा करिब एक हजार ६०० दक्षिण कोरियाली जीवित रहेको अनुमान गरिएको बताए, जसमध्ये ८२ जना केन्द्रमा बस्छन्। सियोलले सन् २०१६ मा पीडितलाई मासिक ७२ अमेरिकी डलरको भत्तासहित एक विशेष कानून लागू गरेको थियो, तर यसले उनीहरूका सन्तान वा विस्तारित परिवारलाई कुनै सहयोग प्रदान गर्दैन। “बम विस्फोटबाट प्रभावित दोस्रो र तेस्रो पुस्ताका थुप्रै सन्तान जन्मजात रोगबाट पीडित छन्,” उनले भनिन्, “भविष्यमा उनीहरूलाई सहयोग गर्ने प्रावधान कानूनमा समावेश गर्नैपर्छ।”
संसारले नसिकेको पाठ
जापानको हिबाकुशा समूहले विश्वलाई आणविक युद्धको भयावहता देखाउन गरेको प्रयासका लागि गत वर्ष नोबेल शान्ति पुरस्कार जितेको थियो। तर आक्रमणको ८० वर्ष बितिसक्दा पनि जापान र कोरियाका धेरै बाँचेकाले संसारले यो त्रासदीबाट केही नसिकेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इरानको आणविक केन्द्रहरूमा गरेको आक्रमणलाई हिरोशिमा र नागासाकीमा भएको बमबारीसँग तुलना गरेपछि पीडितले यसको निन्दा गरेका छन्।
“हिरोशिमामा भएको बम विस्फोटको त्रासदी के उहाँले बुझ्नुभएको छ? के उहाँले नागासाकीको त्यो कुरा बुझ्नुभएको छ?” विस्फोटपछि बाँच्न सफल किम जिन–होले प्रश्न गरे।
कोरियामा हाप्चेओन केन्द्रले हरेक वर्ष अगस्ट ६ मा स्मृति दिवस मनाउँछ र यस वर्षको कार्यक्रमले थप ध्यान आकर्षित गर्ने आशा गरिएको छ। “राजनीतिज्ञले केबल गफ मात्र दिएका छन्, तर कुनै गम्भीर चासो देखाएका छैनन्,” एक पीडितले भने। रासस/एएफपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
