विकिलिक्सका संस्थापक असान्ज प्यालेस्टाइन समर्थकको प्रदर्शनमा सहभागी

बेलायती जेलबाट रिहा भएपछि गत वर्ष अस्ट्रेलिया फर्केका असान्ज आफ्नो परिवारका सदस्य र अस्ट्रेलियाका पूर्वविदेशमन्त्री बब कारसँगै सिड्नी हार्बर ब्रिजमा आयोजित प्रदर्शनमा सहभागी भएका छन्।

विकिलिक्सका संस्थापक जुलियन असान्जसहित दशौँ हजार प्यालेस्टाइन समर्थक प्रदर्शनकारीले आइतबार सिड्नी हार्बर ब्रिजमा प्रदर्शन गरेका छन्। यस प्रदर्शनका कारण विश्वप्रसिद्ध यो पुलमा सवारी आवागमन अवरुद्ध भएको थियो। सन् १९३२ मा बनाइएको यो पुल एक किलोमिटरभन्दा लामो छ ।

उच्च सुरक्षासहितको बेलायती जेलबाट रिहा भएपछि गत वर्ष अस्ट्रेलिया फर्केका असान्ज आफ्नो परिवारका सदस्य र अस्ट्रेलियाका पूर्वविदेशमन्त्री बब कारसँगै प्रदर्शनमा सहभागी भएको तस्वीर सार्वजनिक भएको छ।

गाजामा जारी युद्ध र कुपोषणबारे अन्तर्राष्ट्रिय चासो बढ्दै गएपछि फ्रान्स, बेलायत र क्यानडाजस्ता राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई कूटनीतिक मान्यता दिने विषयमा आफ्नो मनसाय व्यक्त गरेका छन्। अस्ट्रेलियाले पनि युद्ध अन्त्यको आह्वान गरे पनि प्यालेस्टाइनी राज्यलाई मान्यता दिने निर्णय भने गर्न सकेको छैन।

यद्यपि, अस्ट्रेलियाले एक दर्जनभन्दा बढी अन्य राष्ट्रहरूसँगको संयुक्त वक्तव्यमा दुई-राज्य समाधानको दिशामा प्यालेस्टाइन राज्यलाई मान्यता दिने कुरालाई ‘सकारात्मक विचार’ भनेको छ।

भारी हावाहुरी र वर्षाको सामना गर्दै प्रदर्शनकारीहरूले ‘युद्धविराम गर्न ढिलो भइसकेको’ र ‘स्वतन्त्र प्यालेस्टाइन’को प्रत्याभूत गर्नुपर्ने भन्दै नारा लगाएका थिए।

न्यु साउथ वेल्सका वामपन्थी ग्रिन्स पार्टीकी सिनेटर मेहरीन फारुकीले इजरायलमाथि कडा प्रतिबन्ध लगाउनुपर्ने र इजरायली सेनाले गाजामा नरसंहार गरेको आरोप लगाएकी थिइन्। यता, न्यु साउथ वेल्सका प्रधानमन्त्री क्रिस मिन्सले भने प्रदर्शनलाई अगाडि बढाउन नहुने भन्दै यसको आलोचना गरेका थिए।

लेबर पार्टीका सांसद एड हुसिकले पनि प्रधानमन्त्री एन्थोनी अल्बानिजको सत्तारुढ दललाई प्यालेस्टाइनी राज्यलाई मान्यता दिन आह्वान गरेका छन्। यद्यपि, असान्जले भने प्रदर्शनमा सहभागी भए पनि भीडलाई सम्बोधन गरेनन्।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणपछि शुरू भएको युद्धमा ६० हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ। हमासको आक्रमणमा भने १,२१९ जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ। त्यस आक्रमणका क्रममा बन्धक बनाइएका २५१ मध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ।