गृहमन्त्रीको उपस्थितिमा सुरक्षा निकायका प्रमुखको बैठक शुरू

गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सुरक्षा निकायका प्रमुखको बैठक शुरू भएको छ। बैठकमा सबै जिल्लाका सीडीओका साथै सुरक्षानिकायका प्रमुखको उपस्थिति छ।

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक शुरू भएको छ। 

गृह मन्त्रालयबाट भर्चुअल रूपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधिसमेत सहभागी रहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। 

उनका अनुसार जारी बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिने जनाइएको छ।

गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उनले गृह प्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए। 

उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ।

यस्तै गृहमन्त्री लामिछानेले राहदानी विभागको समेत स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिइसकेका छन्। आजको बैठकमा भने गृहमन्त्रीसमक्ष देशभरको सुरक्षा अवस्थाका बारेमा सम्बद्ध अधिकारीबाट जानकारी गराइने (सुरक्षा ब्रिफिङ) कार्यक्रम तय भएको छ। 

यस्तै गृहमन्त्री लामिछानेले गृह प्रशासनको काम कारबाही र सेवालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशनसमेत दिने गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्री लामिछानेले अधिकांश नागरिक गृह प्रशासनसँग ठोकिने र जनताका गुनासा पनि बढी गृहअन्तर्गतका निकायमा रहने भएकाले आफूले गृह मन्त्रालय रोजेको यसअघि नै सार्वजनिक गरिसकेका छन्। 

मुख्यतः आजको बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृह प्रशासनको सेवा छिटो र छरितो रूपमा उपलब्ध गराउनेलगायतका विषयमा केन्द्रित रहेको जनाइएको छ।