जलवायु परिवर्तनको समाधान केवल प्रविधिमा छैन। यसको समाधान सामाजिक न्यायमा छ, जसबाट उत्सर्जन गर्ने र असर भोग्नेबीचको असमानता अन्त्य गर्न सकियोस्।
विश्वले जलवायु परिवर्तनलाई यस युगको सबैभन्दा गम्भीर संकटका रूपमा चिन्न थालेको छ। तापमान वृद्धि, चरम मौसमी घटना, समुद्री सतहमा वृद्धि र जलवायु शरणार्थीको संख्या दिनप्रतिदिन बढ्दो छन्। तर यो संकट कसले उत्पन्न कसले गर्यो? यसको सबैभन्दा ठूलो जिम्मेवार को हो?
अक्सर जलवायु बहसमा जनतालाई लक्षित गरिन्छ—तिनलाई पेट्रोल वा डिजेल गाडी किन्नु ठीक कि इलेक्ट्रिक? प्लास्टिक झोला प्रयोग ठिक हो कि कपडा या कागजको जस्ता प्रश्न उठाइन्छ। त्यसका लागि प्रेरित गरिन्छ। तर गहिरो विश्लेषण गरेर हेर्दा यस्ता अभ्यासले जलवायु संकट कम गर्न थोरै मात्र भूमिका खेल्नेछन् भन्ने बुझिन्छ। बरु धनी/सभ्रान्त वर्गको उपभोग, जीवनशैली, इज्जत र अहंकार प्रदर्शनको मूल कारण पृथ्वी संकटमा फस्दै गएको बुझ्न सकिन्छ। तिनको अत्यधिक विलासी र अतिदोहनयुक्त जीवनशैली नै जलवायु संकटको मूल कारण हो भन्ने थाहा लाग्छ।
धनीहरूको कार्बन पाखण्ड
विश्वव्यापी अध्ययनहरूले देखाएका छन् कि सबैभन्दा धनी १० प्रतिशत जनसंख्या संसारको झन्डै ५०प्रतिशत कार्बन उत्सर्जनका लागि जिम्मेवार छन्। अक्सफाम र स्टकहोम इन्भाइरनमेन्ट इन्स्टिच्युटको २०२० को रिपोर्टले स्पष्ट पार्छ—धनी १ प्रतिशत मानिसले मात्र विश्व उत्सर्जनको १७–२३ प्रतिशत हिस्सा ओगटेका छन्, जबकि गरिब ५० प्रतिशत मानिसको योगदान १० प्रतिशत भन्दा पनि कम छ।
जलवायु संकट 'सबैको साझा जिम्मेवारी' नाममा पस्किए पनि माथिको तथ्यले देखाउँछ कि वास्तविक जिम्मेवारी सम्भ्रान्त, पुँजीपति र धनीमानीको हो। धनीहरूको निजी जेट, याट, लक्जरी क्रुज, विशाल बंगलाहरूमा प्रयोग हुने ऊर्जा, लक्जरी कारहरूको काफिला, विदेशी सम्मेलन—यी सबै गतिविधिले औसत मानिसको वर्षभरिको कार्बन फुटप्रिन्टभन्दा सयौँ गुणा बढी उत्सर्जन गर्छन्। यसलाई सिद्ध गर्न दुई वटा सभ्रान्त वर्गका दुई वैवाहिक समारोहको दृष्टान्त पेस गरौं:
अम्बानीको आपत्तिजनक कार्बन उत्सर्जन
भारतको चर्चित अम्बानी परिवारको केही विवाहका लागि आयोजित महोत्सवहरू केवल 'पारिवारिक उत्सव'मात्र नभई कार्बन उत्सर्जन, असमानता र प्रदर्शनवादी विलासिताको चरम नमुना बन्यो।
१. इसा अम्बानीको विवाह
यो विवाहमा मात्र १०० भन्दा बढी निजी विमान चार्टर गरियो, जसले भारतको साना–ठूला विमानस्थल पूर्ण रूपमा भरिएको थियो। महोत्सवको लागि उदयपुरमा विशाल दरबार भाडामा लिइयो, हजारौँ विदेशी पाहुनालाई आलिसान होटेलहरूमा राखियो। बेयोन्सेजस्ता अन्तर्राष्ट्रिय स्टारहरूले निजी सांगितिक प्रस्तुति दिए। एक अनुमानअनुसार यो विवाहमा १०० मिलियन डलर (१० अर्ब भारु) खर्च भयो।
२. अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्वको उत्सव
यो महोत्सव ३ दिनसम्म जामनगरमा आयोजना गरियो, जसमा संसारभरबाट पाहुनालाई चार्टर फ्लाइटमार्फत ल्याइयो। धनी उद्योगपति, बलिउड सेलिब्रिटी, अन्तर्राष्ट्रिय अतिथि सबैको लागि आलिसान प्रबन्ध गरिएको थियो। जापानदेखि इटालीसम्मका खाना, विदेशी फूल, विशाल आतिशबाजीका लागि लाखौँ डलर खर्च गरियो। यस क्रममा २०–२५ हजार टन कार्बनडाइअक्साइड (सीओटु) उत्सर्जन भएको अनुमान गरिएको छ—जुन नेपालजस्तो सानो राष्ट्रको सहरको वार्षिक उत्सर्जन बराबर हुनसक्छ।
स्मरणीय छ, यो त केबल अम्बानीका सन्तानका बिहेको कुरा भयो, मुकेश अम्बानीले आयोजना गर्ने एउटै निजी समारोह, पार्टी र सेमिनारको नाममा सयौँ मेगावाट बिजुली बराबरको ऊर्जा खपत हुन्छ। हजारौँ टन खाना बरबाद हुन्छ र दर्जनौँ अन्तर्राष्ट्रिय उडान हुने गर्छ।
जेफ बेजोस र लरेन सान्चेजको वातावरणीय अपराध (२०२५)
जेफ बेजोस र लरेन सान्चेजको विवाह समारोहले संसारकै सबैभन्दा खर्चिलो र भव्य निजी समारोहको रूपमा चर्चा पायो। दुवैको अघिल्लो वैवाहिक सम्बन्धबाट नै ६ जना सन्तान छन्, तर विवाह पुनः एक पटक 'शाही तामझाम' को प्रतिस्पर्धा बनाइयो।
विवाहको लागि ९० वटा प्राइभेट जेट प्रयोग गरियो। पाहुनाहरूलाई दुनियाँभरिबाट उडाएर ल्याइयो, प्रत्येक उडानले औसत हजारौँ किलो कार्बनडाइअक्साइड उत्सर्जन गर्छ।
जेफ बेजोसले २०२४ मा खरिद गरेको अत्याधुनिक गल्फस्ट्रिम जि७०० नामक प्राइभेट जेटले पहिलो ४० दिनमा मात्र २८ उडान गर्यो।यस क्रममा उत्सर्जन भएको कार्बनको मात्रा २६४ मेट्रिक टन थियो — जुन: एक औसत अमेरिकी नागरिकले १७ वर्षमा गर्ने उत्सर्जन बराबर हो। एक नेपाली नागरिकले ४९८ वर्षमा गर्ने उत्सर्जन बराबर हो।
यो पनि: झुपडीअगाडि अम्बानी परिवारको ‘नकच्चरो’ नाच
वास्तवमा, यति ठूलो मात्रा कार्बनको उत्सर्जन केवल व्यक्तिगत आनन्द र विलासिताका लागि गरिनु पर्यावरणीय अपराध नभएर के हो? यस्तो कार्बन अपराधबिरुद्ध केही समूह र व्यक्तिले आवाज उठाए पनि ती स्वरहरू दबिए, बिलाए। मुख्य धारका मिडियाले यसको चर्चा गरेको देखिएन। बेजोसजस्ता 'बेहोस' सत्तासीन पुँजीपतिहरूको उपभोग शक्ति आजको वातावरणीय न्यायका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।
कार्बन उत्सर्जनको वर्गीय विभाजन
सम्भ्रान्तहरूको यस्ता भव्य समारोह र निजी विलासिताको खपत 'कार्बन उत्सर्जनको वर्गीय विभाजन'को प्रमाण हुन्। संसारमा एकातिर सामान्य मानिसलाई खाना पकाउने ग्याँस महँगो हुँदै गएको छ, अर्कोतर्फ धनीहरूको पार्टीमा लाखौँ किलो मासु र लाखौँ लिटर मदिरा सजिलै बरबाद भइरहेको छ।
यसले 'जसले सबभन्दा बढी उपभोग गर्छ, उसले नै सबभन्दा कम असर भोग्छ' भन्ने वास्तविकता पनि झल्काउँछ। किनभने जलवायु परिवर्तनका प्रत्यक्ष प्रभाव (खडेरी, बाढी, भोकमरी, भूकम्पपछि समस्या र ऊर्जा संकट) सबैभन्दा बढी गरिब र सामान्य वर्गमा पर्छ। जति नै ठूला समस्या र प्रकोप आउँदा पनि अरबपतिहरूलाई हत्तपत्त छुँदैन।
'हरित विकल्प'को बहस: जनता मात्रको जिम्मेवारी ?
बजारमा इलेक्ट्रिक गाडी र साइकलको प्रवर्द्धन भइरहेको छ। जनतालाई विद्युतीय गाडी किन्न, साइकल चढ्न र पुनः प्रयोग गर्न मिल्ने झोला बोक्न सुझाइन्छ। मासु कम खान, पानीको कम प्रयोग गर्न र घरेलु ऊर्जा बचत गर्न सुझाइन्छ। यी सुझाव पनि ग्रहणयोग्य नै हुन्, तर सम्भ्रान्त र पुँजीपतिहरूको जीवनशैली पृथ्वीलाई बोझ बनिरहेको छ। प्रश्न उठाउन आवश्यक भइसक्यो।
विद्युतीय गाडी चढ्ने एक नागरिकले वर्षभर उत्पन्न गर्ने कार्बन फुटप्रिन्ट २–३ टनमात्र हुन्छ। तर बेजोजले चढ्ने एउटा प्राइभेट जेटमा केवल एक चोटि अमेरिका–भारत यात्रा गर्दा करिब १५ टन कार्बन हुन्छ। एउटै धनी व्यक्तिले ५ मिनेटको आतिशबाजीका लागि हजारौँ किलो ग्यास जलाउँछ।
यसबाट के बुझिन्छ भने जलवायु परिवर्तनको समाधान केवल 'व्यक्तिगत चयन/प्रयास' बाट मात्र भन्दा पनि मूल रूपमा संरचनात्मक हस्तक्षेपबाट सम्भव छ। तर राज्य संचालनमा संलग्न व्यक्ति र दलहरू यिनै धनी र व्यापारीहरूको चन्दा र सहायतामा टिक्ने अभ्यास संसारभर रहेका कारण धनीमानीउपर सरकार र दलहरू पनि निम्छरा देखिने गरेका छन्। अर्को कुरा, कतिपय राज्य संचालकहरू जलवायु संकटको विज्ञान नै बुझ्दैनन्। जस्तोकि भारतीय प्रम नरेन्द्र मोदीले सन् २०१४ मा शिक्षक दिवसको दिन आयोजित एक कार्यक्रममा भनेका थिए, "जलवायु परिवर्तन भएको छैन, बरु हाम्रो मानसिकता र सहनशीलता परिवर्तन भएको छ। हामीले पहिले गर्मी सहन सक्थ्यौँ, तर अब हाम्रो सहनशीलता कम भएको छ।"
यस्तो अवैज्ञानिक सोच भएका शासकले जलवायु परिवर्तनका कारण र समस्या कसरी बुझ्न सक्ला?
न्यायको सवाल: जलवायु कर कसलाई ?
वर्तमान प्रणालीमा धनीहरूलाई सजिलै कर छुट, अनुदान र निजी जीवनमा कुनै प्रतिबन्धबिना कार्बन खर्च गर्ने छुट दिइन्छ। तर प्राइभेट जेट प्रयोगमा कर लगाउने या प्रतिबन्ध लगाउने भन्नेबारे बहस हुँदैन। उल्टो, फजुल खर्च र सानसौकतलाई प्रोत्साहन गरिन्छ। विलासी विवाहमा कार्बन शुल्क लगाउने गरी कानून बनाइन्न। हुँदाहुँदै नेपालजस्तो विपन्न देशमा समेत प्राइभेट विमान किन्न पाउने गरी केही वर्ष पहिले नीति बनाइयो। सर्वसाधारणले तरकारी बोक्न प्रयोग गर्ने बाइक चलाउन प्रयोग हुने पेट्रोलमा प्रदूषण कर लगाउने, तर धनाढ्यका कार्बन उत्सर्जनकारी उत्सव र आतसबाजीमा स्वयं राज्य संचालकहरू नै पुगेर ताली ठोक्ने! यो असमानता होइन?
निष्कर्ष
जलवायु परिवर्तनको समाधान केवल प्रविधिमा छैन। यसको समाधान सामाजिक न्यायमा छ, जसबाट उत्सर्जन गर्ने र असर भोग्नेबीचको असमानता अन्त्य गर्न सकियोस्। भारतका अम्बानी परिवार, अरबका शासक, अमेरिकी अर्बपतिहरूको जीवनशैली केबल विलासिता होइन, जलवायु विनाशका अभियान हुन्। जबसम्म यी वर्गलाई जबाफदेही बनाइँदैन, कार्बन फुटप्रिन्ट घट्दैन। विलासी विवाह र निजी जेट उडानलाई 'सामाजिक गरिमा'का रूपमा प्रशंसा गरिन्छ, तबसम्म जलवायु चेतनाको नाममा केवल आम जनतालाई मात्र दोषारोपण गरिँदै रहनेछ।
त्यसैले, हामीले जलवायु परिवर्तनको समाधान खोज्दा 'कसले कति उत्सर्जन गर्छ?' भन्ने वर्गीय चस्माबाट हेर्ने कि केवल 'को कस्तो गाडी चढ्छ?' भन्ने सतही बहसमा सीमित रहने? अब साँचो जलवायु न्यायका लागि सत्तासीन र धनाढ्य वर्गको जीवनशैलीमाथि प्रश्न उठाउने समय आएको छ। प्रश्न गर्न नछाडौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
