कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

गण्डकी र लुम्बिनीसहित पहाडी भूभागका धेरै तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी र लुम्बिनीसहित पहाडी भूभागका धेरै तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकीका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। कोशीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।