कोभिडपछि अवरुद्ध पर्यटन क्षेत्र पुनः लयमा, जुलाईमा भित्रिए ७० हजार पर्यटक

नेपाल पर्यटन बोर्डका अनुसार, कोरोना महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ।

काठमाडौँ– सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार १९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ। यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो। 

नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ। यसले कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्रले पुनः लयमा आएको छ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८८२ जना विदेशी पर्यटक आगमन भएको छ। जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए। 

जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन्। दोस्रो स्थानमा चीनबाट ६ हजार ८९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट ६ हजार ६२६ जना (९.४ प्रतिशत), बांग्लादेशबाट चार हजार ४१३ जना (६.३ प्रतिशत) र बेलायतबाट तीन हजार ५४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आगमन भएको छ।

क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एशियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार ७८७ जना (४८.१ प्रतिशत) र  छन् अन्य एशियाली मुलुकबाट १३ हजार ५२ जना (१८.६ प्रतिशत), युरोपबाट नौ हजार २९२ जना (१३.२ प्रतिशत), अमेरिकाबाट १२ हजार ७७५ जना (११.१ प्रतिशत), ओसिनिया क्षेत्रबाट एक हजार ८०७ जना (२.६ प्रतिशत), मध्यपूर्वबाट ८२६ जना (१.२ प्रतिशत), अफ्रिकाबाट ३१८ जना (०.५ प्रतिशत) र अन्य क्षेत्रबाट तीन हजार ३२९ जना (४.७ प्रतिशत) पर्यटक आगमन भएको छ।

“भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह र विविध पर्यटकीय उत्पादनहरूले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको छ,”  बोर्डका सीईओ जोशीले भने।