राष्ट्रिय कोदो दिवस मनाइँदै

आर्थिक वर्ष २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको छ।

काठमाडौँ–  सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउँदै छ। 

कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि साउन १६ गतेलाई कोदो दिवस मनाउन लागिएको हो। कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको छ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रूपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए। कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ।

दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासंघ, पत्रकारलगायत विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ। प्रदेश र स्थानीय तहबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सन्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताए।