नेप्से परिसूचक ३१.५० अंकले घट्यो, करिब १६ अर्बको शेयर किनबेच

बिहीबार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा झरेको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा झरेको छ। यससँगै कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार नेप्से २९५४.१४ बिन्दुमा रोकिएको थियो।

यस दिन कुल ३१८ कम्पनीको १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा रकममा करिब ४५ करोड रुपैयाँले कमी आएको छ।

यस दिन सेन्सेटिभ इन्डेक्स ६.७१ अंकले घटेको छ। त्यसैगरी फ्लोट इन्डेक्स २.०७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३६ अंकले घटेको छ।

यस दिनको कारोबारमा वित्त समूहको उपसूचक १.१८ प्रतिशतले बढेको छ भने अरू सबै समूह घटेका छन्। ्बैंकिङ १.४४, विकास बैंक ०.४७, होटल तथा पर्यटन ०.९९, जलविद्युत् १.१५, लगानी १.३२, जीवन बीमा १.२९, उत्पादन तथा प्रशोधन १.१४, लघुवित्त ०.५०, म्युचुअल फन्ड ०.६०, निर्जीवन बीमा ०.७०, अन्य ०.३० र व्यापार समूहको उपसूचक २.४४ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा ट्रेड टावर, नेपाल फाइनान्स शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै, कर्पोरेट विकास बैंक ९.९७, ग्रिन डेभलपमेन्ट बैंक ९.९२ र सप्तकोशी विकास बैंकका लगानीकर्ताले ९.८६ प्रतिशतले कमाएका छन्। त्यस्तै,  भूगोल इनर्जी विकास कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ७.१० प्रतिशतले घटेको छ। त्यसैगरी, माइखोला हाइड्रोपावरको शेयर मूल्य ५.७० प्रतिशतले र सुपर सोलु हाइड्रोको शेयर मूल्य ४.९४ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र लुम्बिनी विकास बैंक रहेका छन्। शेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेडको प्रमोटरको १९ लाख ४० हजार ४२२ कित्ता खरिदबिक्री भएको छ।