रूससँगको सम्बन्धलाई लिएर ट्रम्पले भारतमाथि लगाए २५ प्रतिशत कर

ट्रम्पले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा मार्ग परिवर्तन गर्न वा नयाँ भन्सार शुल्कको सामना गर्न १० दिनको समय दिएका थिए।

रूससँगको सम्बन्धलाई लिएर ट्रम्पले भारतमाथि लगाए २५ प्रतिशत कर
तस्वीर: एएफपी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएका छन्। भारतले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिबाना’ लगाउनेसमेत उनले घोषणा गरेका छन्। 

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी कर तथा जरिबाना शुक्रबारदेखि लागू हुने उल्लेख गरेका छन्। साथै सोही दिन अन्य भन्सार वृद्धि पनि लागू हुनेछन्।

छुट्टै पोस्टमा ट्रम्पले अगस्ट १ को समयसीमामा पुनर्विचार नहुनेसमेत स्पष्ट पारेका छन्। भारतमा २५ प्रतिशत कर अप्रिलमा घोषणा गरिएको दरभन्दा थोरै कम हो। वासिंटनसँग प्रारम्भिक व्यापार सम्झौता गरेका अन्य एशियाली देशको तुलनामा यो बढी छ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारत ट्रम्प प्रशासनलाई व्यापक व्यापार वार्तामा संलग्न गर्ने पहिलो प्रमुख अर्थतन्त्रमध्ये एक हो। 

“याद गर्नुहोस्, भारत हाम्रो मित्र भए पनि हामीले वर्षौंदेखि उनीहरूसँग तुलनात्मक रूपमा थोरै व्यापार गरेका छौँ किनभने उनीहरूको भन्सार धेरै उच्च छन्, संसारमा सबैभन्दा उच्च मध्ये, र तिनीहरूसँग कुनै पनि देशको सबैभन्दा कडा र अप्रिय गैरमौद्रिक व्यापार अवरोध छन्,” ट्रम्पले भने, “भारतले सधैँ आफ्नो सैन्य उपकरणको विशाल हिस्सा रुसबाट किनेको छ, र चीनसँगै रुसको ऊर्जाको सबैभन्दा ठूलो खरिदकर्ता हो, यस्तो समयमा जतिबेला सबैले रुसलाई युक्रेनमा हत्या रोक्न चाहन्छन्।”

यो भनाइ ट्रम्पले युक्रेनमा लडाइँ रोक्न र शान्ति सम्झौता गर्न मस्कोमाथि अमेरिकी दबाब बढाउने संकेत गरेको समयमा आएको हो। ट्रम्पले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा मार्ग परिवर्तन गर्न वा नयाँ भन्सार शुल्कको सामना गर्न १० दिनको समय दिएका थिए।(रासस/एएफपी)