तनहुँमा उत्पादित कागतीले पाएन बजार

तनहुँमा उत्पादित कागती गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा बिक्री भएको थियो। यस वर्ष त्यहाँका व्यपारीले खरिद नगर्ने जनाएका छन्।

दमौली– तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्लले २० रोपनी जमिनमा कागतीखेती गरेका छन्। उक्त कागतीले बजार नपाउँदा उनी निराश छन्। कागती बोटमा टिप्ने बेला भएको छ। तर बजार छैन,” उनले भने। 

स्थानीयस्तरमा बजार नपाएपछि काठमाडौँस्थित कालीमाटी तरकारी बजारमा पुगेर बिक्रीका लागि व्यापारीसँग अनुरोध गरेको उनले बताए। गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा कागती बिक्री भए पनि यस वर्ष त्यहाँका व्यपारीले खरिद नगर्ने जनाएका छन्। 

“बारीमै कुहिनुभन्दा काठमाडौँमा बिक्री गर्न सके केही न केही राहत हुने आशा गरेको छु। ३० केजीभन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने भनेको छु,” मल्लले भने,“गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्थेन।”

बारीसम्म गाडी पुग्ने बाटो नहुँदा पनि समस्या भएको उनले सुनाए। “मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ। त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ,” उनले भने।

जेठ १ र २ गते आएको हावाहुरीले कागतीखेतीमा क्षति पुगेको छ।