मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध बलात्कार मुद्दा दायर

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)विरुद्ध काठमाडौँ जिल्ला अदालतमा बलात्कारसम्बन्धी मुद्दा दायर भएको छ।

काठमाडौँ– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)विरुद्ध काठमाडौँ जिल्ला अदालतमा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले मंगलबार उनीविरुद्ध मुद्दा दायर गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँमा अहिराजविरुद्ध माघ ३ गते जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएलगत्तै अहिराज फरार थिए। प्रहरीले

काठमाडौँमै लुकेर बसेको सूचनाका आधारमा प्रहरीले असार ४ गते उनलाई पक्राउ गरेको थियो र अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीले करिब एक साता लगाएर अनुसन्धान सकी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।

अहिराजले कोही नभएको बेला पटक–पटक बलात्कार गरेको र कसैलाई बताए ज्यान मार्ने धम्की पनि दिएका पीडितको आरोप छ।

अहिराजविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय मागदाबी गरिएको छ।

साथै, दफा २१९ को उपदफा (३ क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग तीन लाख रुपैयाँ जरिबानाको पनि मागदाबी गरिएको छ।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ गतेसम्म मधेश प्रदेशको प्रमुखका रूपमा कार्यरत थिए।