थवाङमा स्याउ खेतीका अभियन्ता जुम्ल्याहा : उठिबास लगायो राजनीतिले

२०३६ सालको जनमत संग्रहमा निर्दलको पक्षमा मत दिएपछि धनपुरा र जानपुराका दाजु रामकुमार तथा कम्युनिष्ट नेता वर्मन बुढाबीच द्वन्द्व बढेको थियो। त्यसको मूल्य भने यी जुम्ल्याहा दिदीबहिनीले चुकाउनु परेको छ।

धनपुरा र जानपुरा।

रोल्पा– जनमत संग्रहपछि थवाङमा २०३८ सालमा सैन्य अपरेशन भयो। त्यसबेला धेरै पक्राउ परे। यो अपरेशनले विद्रोही थवाङलाई झनै बिच्काइदियो।

सैन्य अपरेशनको कारण भने थवाङका मुखिया वर्मन बुढा (२०४८ सालका सांसद) र गाउँका जैसी रामकुमार बुढाबीचको द्वन्द्व नै थियो। तर, यो द्वन्द्वमा रामकुमार सधैँ पछि परे। किनभने विद्रोही थवाङले कम्युनिष्ट राजनीति गर्ने वर्मनलाई नै साथ दिइरह्यो। रामकुमार प्रतिपक्ष भइरहे।

यी दुईबीचको द्वन्द्वमा रामकुमारका परिवार भने ‘दुई ढुंगाबीचको तरुल’ भए। त्यो द्वन्द्वका साक्षी धनपुरा र जानपुरा अहिले थवाङमा भेटिँदैनन्।

थवाङको 'प्रतिपक्षी' परिवार
पहिलोपटक देख्नेहरूले धनपुरा र जानपुरा बुढाको अनुहार हेरेर पहिचान गर्न सक्दैनन्। उस्तै पोशाक, उस्तै अनुहार, उस्तै चालढाल। उमेर पनि एउटै।

७१ वर्ष पुगिसकेका यी जुम्ल्याहा दिदीबहिनी अविवाहित छन्। उनीहरूकी माइली दिदी रामपुरा पनि अविवाहित थिइन्। तीन दिदीबहिनी साविकको थवाङ गाविस र अहिलेको थवाङ गाउँपालिका वडा नं. २ मा एउटै छानामुनि बस्थे। केही वर्षअघि रामपुराको मृत्यु भएपछि धनपुरा र जानपुरा मात्र छन्।

धनपुरा र जानपुरा दुई दिदी र तीन दाजुपछि २००८ सालमा जन्मिएका हुन्। थवाङमा २०१३ सालमै कम्युनिष्ट पार्टीको संगठन बनिसकेको थियो। माहिला दाजु रामकुमार र मुखिया वर्मनबीच राजनैतिक दाउपेच लामो समयसम्म चल्यो। 

रामकुमार गाउँका जैसी थिए। उनले गाउँमा हुने शुभकार्यका साइत हरिदिन्थे। त्यसैले गाउँलेहरू उनलाई भेट्न आइरहन्थे। वर्मन भने गाउँको तालुकदार मुखिया। जग्गाको तिरोभरो उनकै नियन्त्रणमा थियो।

२०३६ सालको जनमत संग्रहका बेला रामकुमार निर्दलको पक्षमा उभिए। वर्मन भने बहुदलवादी बने। उनीहरूको संघर्षको शुरूआत यहीँबाट भयो। वर्मन समूहले पञ्चायतकालका धेरै चुनाव बहिस्कार गर्दा रामकुमार सहभागी हुन खोज्थे। वर्मनको समूह उनलाई रोक्न सक्रिय हुन्थ्यो।

रामकुमार नाताले काका पर्थे। यी काका भतिजको द्वन्द्वले थवाङमा द्वन्द्वको अवस्था रहिरह्यो। वर्मनलाई समर्थन गर्ने समूह ठूलो थियो। उनले जे भन्यो गाउँमा त्यही चल्थ्यो। रामकुमार भने रक्षात्मक थिए। उनको पक्षमा खुलेर बोल्ने कम थिए। २०४६ सालको परिवर्तनपछि राजनैतिक रूपमा कित्ताकाट अझ व्यापक भयो।

जब स्याउखेतीमा राजनीति जोडियो
रामकुमार भारतको सिम्ला आउने–जाने गर्थे। उनले २०३५ सालतिर सिम्लाबाट एक हजार ३०० स्याउका बिरुवा ल्याए। सबै विरुवा आफ्नो बारीमा लगाए। मकै, गहुँ, जौ हुने बारीमा स्याउ लगाएपछि रामकुमारलाई आमाले गाली गरेको धनपुरा बताउँछिन्। “स्याउ फलेपछि भने बुवाआमा खुसी हुनुभयो”, धनपुराले भनिन्।

पछि त बुवाआमाले फुन्टिवाङमा स्याउका ३५० नयाँ बिरुवा थपे। बुवाआमाको स्याउ बगैँचामा एउटा रुखमै १३/१४ भारी स्याउ फल्न थाल्यो। स्याउ बेच्न बजारको समस्या हुँदा रामकुमारले भरिया लगाएर दाङ, रुकुम, सल्यानसम्म लैजान थाले। स्याउ बेचेको पैसाभन्दा भरिया खर्च धेरै आउन थाल्यो। अनि, सस्तो मूल्यमा घरबाटै बेच्ने निर्णयमा पुगे। घरबाटै स्याउ बेच्दा वर्षमा ३५ देखि ४० हजार आम्दानी हुन थाल्यो।

थवाङ गाउँ।

स्याउबाट राम्रो आम्दानी हुने देखेपछि रामपुरा, धनपुरा र जानपुरा तीन बहिनी मिलेर २०४८ सालतिर ९४५ स्याउको बिरुवा रोप्ने निर्णय गरे। उनीहरू आफैँले हकभोग गर्दै आए पनि सो जग्गाको तिरो तिरिएको थिएन। उनीहरूले तिरोवापत वर्मनलाई १० हजार र तिरो कागज लेखेवापत धरमबहादुर रोकालाई ५ हजार गरी १५ हजार रुपैयाँ दिएको धनपुरा बताउँछिन्।

जग्गाको तिरो तिरेपछि स्याउको बिरुवा रोप्न ९४५ खाडल खने। तर, वन फडानी गरेको भन्दै गाउँलेले उनीहरूविरुद्ध वन कार्यालयमा उजुरी दिए। वन कार्यालयका कर्मचारी अनुगमन गर्न थवाङ पुगे। अब धनपुरा र जानपुरा जिल्ला वन कार्यालय लिवाङ जानुपर्ने भयो।

वन कार्यालयले उनीहरूलाई ६ लाख ५० हजार जरिवाना तोक्यो। उनीहरू मुद्दा पुनरावेदन गर्न नेपालगन्ज हुँदै काठमाडौँ पुगे। उनीहरूले सर्वोच्च अदालतवाट मुद्दा जिते। जिल्ला वनले तोकेको ६ लाख ५० हजार जरिवाना तिर्न नपर्ने भयो।

थवाङ फर्किएका स्याउ रोप्न थाल्दा स्थानीयले अवरोध गरे। प्रहरीको सुरक्षामा उनीहरूले खाडल खनेको दुई वर्षपछि २०५० सालमा स्याउका ९४५ बिरुवा रोपे। २०५१ सालमा नापी गयो। नापीले जग्गा नापजाँच गर्‍यो। ३५० बोट भएको बगैँचा एउटा कित्ता र बाँकी बोट भएको अर्को कित्ता हुने गरी नापी भयो।

२०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध गर्‍यो। त्यही रात उनीहरूको बगैँचाको ९४५ स्याउको बोट सबै फडानी भयो।

अनि थवाङ फर्कनै पाएनन्
सशस्त्र युद्ध शुरू भएसँगै धेरै थवाङ्गी भूमिगत भए। धनपुरा र जानपुरालाई प्रहरीले सुरक्षा दिन नसक्ने भन्दै आफ्नो सुरक्षा आफैँ गर्न भन्यो। उनीहरू २०५३ कात्तिकमा सदरमुकाम लिवाङ आए। लिवाङ आउँदा उनीहरूसँग शरीरमा भएका कपडाबाहेक केही थिएन।

त्यहाँ आएपछि थवाङको घरजग्गा माओवादीले कब्जा गरे। यता लिवाङमा उनीहरूलाई खानबस्नकै चिन्ता हुन थाल्यो। केही समय माइली दिदी रामपुराले थवाङबाट खर्च पठाइदिन्थिन्, त्यसैले पालिन थाले। पछि माओवादीले खर्च पठाउनसमेत रोक लगाएपछि दुई दिदीबहिनीले होटल चलाउन थाले।

लिवाङस्थित घरमा धनपुरा र जानपुरा।

होटेल खोल्न पनि रामपुराले नै साथ दिएकी थिइन्। त्यसपछि भेडाको ऊन खरिद गरेर कम्बल बनाउन थाले। यो काम उनीहरूले दुईतीन वर्ष गरे। त्यसपछि काम्लो बनाउन थाले। त्यसले जीविका चलाउन सहज भएको धनपुरा बताउँछिन्।

पछि उनीहरूले गाउँ फर्केर मिलेर बस्न आफूहरू राजी भएको माओवादीका नेताहरूलाई खबर पठाए। तर माओवादीको स्थानीय सत्ताले स्वीकृति दिएन। अनि रोल्पामा भांग्रो र अल्लोको धागो संकलन गर्ने र त्यसलाई काठमाडौँ लगेर बिक्री गर्ने योजना बनाए। दिदी रामपुरालाई पनि थवाङवाट लिवाङ बोलाए।

रामपुरा र जानपुरा काठमाडौँ जाने र धनपुराले लिवाङमा बसेर अल्लो, भांग्रोको धागो संकलन गर्ने सल्लाह भयो। यो काम उनीहरूले १५ वर्षसम्म गरे। काठमाडौँमा उनीहरूको धागोको गोदाम थियो।

२०७० सालतिर उनीहरू फेरि रोल्पा फर्किए। सदरमुकाम लिवाङमा घडेरी किने र दुई वटा पक्की घर बनाए। अहिले लिवाङमा बसेर अल्लो र भांग्राको धागो संकलन र बिक्री गर्छन्। उनीहरूको गंगाजमुना अल्लो धागो उद्योग पनि छ। त्यसमा धेरै दिदीबहिनीले रोजगारी पाएका छन्।

शान्ति प्रकृयापछि आफ्नो जन्म घर थवाङ पुगेका थिए। घर सम्पत्ति सबै कब्जा भए पनि उनीहरूले क्षतिपूर्ति पाएनन्। “धेरैले नक्कली कागज बनाएर क्षतिपूर्ति लिए, हामी घरजग्गा क्षति हुनेलाई दिएनन्”, धनपुराले भनिन्। एकपटक घर फर्कनका लागि ७/७ हजार रुपैयाँ दिनेबाहेक राज्यबाट कुनै पैसा नदिएको उनले बताइन्। “जनमत संग्रहमा एकपटक भोट हालेको कारण जिन्दगी भर दुःख पाउनु पर्‍यो”, धनपुरा भन्छिन्, “अहिले भने सबैसँग राम्रो सम्बन्ध छ, आउजाउ चलिरहन्छ।”