जेन अस्टेन, एलिजाबेथ बेनेट र नारी विद्रोह

सीमित सम्पत्ति भएकी शिक्षित युवतीहरूका लागि विवाह मात्र सुरक्षाको व्यवस्था थियो र विवाहले खुशी दिने कुरामा निश्चितता नभए पनि गरिबी र दु:खबाट बच्ने यो नै सबैभन्दा उत्तम र सामाजिक रूपमा स्वीकार्य व्यवस्था थियो।

न्युयोर्क टाइम्सले सम्झाइदियो यो साल जेन अस्टेनको २५० औं जन्म जयन्ती। अस्टेन, मेरी प्रिय लेखक।

जिन्दगीको तेज रफ्तारमा दौडिँदै गर्दा आजकल आफ्नै जन्म दिन त याद रहँदैन, मनको कुनै कुनामा गाडिएर बसेकी, आजभन्दा दुई शताब्दीअघि बितेकी लेखकको स्मृति मानसपटलबाट बिस्तारै धमिलिँदै गएको त झन् पत्तै भएन। न्युयोर्क टाइम्सको लेखले सुषुप्त स्मृतिहरूलाई जगाइदिँदै मलाई पुर्‍याइदियो फेरी मेरो बाल्यकाल। बुवाको बुकसेल्फका धेरै पुस्तकमध्ये त्यो पुस्तक त्यत्तिकै निकालेर पढेको दिन। त्यो दिन, जब मैले पहिलो पटक पुस्तकमा हराउन सिकेँ। पुस्तकको पात्रमा आफूलाई देख्न सिकेँ। गाम्भीर्य र गहिराइ नबुझीकनै वर्गीय र लैंगिक असमानता कस्तो हुन्छ चिनेँ। 'विभेद के हो?' शब्दको अर्थ पनि नबुझी विभेदसँग लड्न सिकेँ। 

उनीसँगको मेरो पहिलो साक्षात्कार त्यही थियो-प्राइड एन्ड प्रेजुडिस्। पहिलो पानाको पहिलो वाक्य देखि नै म यसरी सम्मोहित भएँ कि पूरा किताब नपढुन्जेल चैनले बस्नै सकिनँ। त्यति बेला शायद धेरै कुराको तात्त्विक सार बुझेकी थिइनँ, तर पहिलो भेटमै मुख्य पात्र एलिजाबेथ बेनेट (लिज्जी) को निडर र हकी स्वभावबाट यसरी प्रभावित भएँ कि ११ वर्ष हुँदा नै मेरो दिमागमा केटी मान्छे भनेको त एलिजाबेथ बेनेटजस्तो हुनुपर्छ भन्ने अमिट छाप पर्‍यो। त्यो नै नारीवादको मेरो पहिलो पाठ थियो। 

केहीले जेन अस्टेनलाई केवल रोमान्स उपन्यासकी लेखक भनेर होच्याउन खोजे। उनका उपन्यासलाई नारी सुलभ ठाने। शुरूका समयमा त कतिले उनले पाउनुपर्ने श्रेय र सम्मान दिन हिचकिचाए। उनका कथाहरूमा त्यसताकाका प्रचलित अन्य साहित्यमा जस्तो महाकाव्यात्मक गम्भीरता र साहित्यिक प्रयोगशीलता नभएको भन्दै समालोचना गरे। श्रमिक वर्ग, गरिबी र तत्कालीन ऐतिहासिक राजनीतिक सन्दर्भहरूलाई नजरअन्दाज गर्दै भावना र आवेगलाई बग्न दिनुको साटो अत्यन्तै संयमित रूपमा अभिव्यक्त गरेको भन्दै उनका रचनाको साहित्यिक परिपक्वतामा समेत प्रश्न गरियो। 

अस्टेनका उपन्यासहरू इंग्ल्यान्डको कुनै एक भेगको भूपति र अभिजात वर्गको जीवनकै वरिपरि गुथिएका हुन्छन्। सरसर्ती पढ्दा उनका कहानी सामान्य प्रेम कथा जस्ता नै छन्। अस्टेनका कथाका मूल पात्रहरूको बीच आर्थिक हैसियतको अन्तर, विचारको टकराव र अन्त्यमा मिलन। तर उनका यी प्रेम कथाहरू जति सरल देखिन्छन्, त्यति सामान्य छैनन्। त्यही साँघुरो परिधिभित्र पनि अस्टेनले आफ्ना पात्रहरू र परिस्थितिहरू मार्फत जीवनको यथार्थ, समाजमा व्याप्त लैंगिक असमानता, सामाजिक परम्पराको विडम्बना र त्यसबाट उब्जिने समस्या र चुनौतीहरूलाई उदाङ्गो पारिरहेकी हुन्छिन्। 

आजभन्दा अढाई सय वर्ष पहिले, जर्जियन युगको इंग्ल्यान्ड। महिलाहरू पूर्णरूपमा पुरुषमाथि निर्भर थिए। सहज जीवन बिताउन पिता या परिवारबाट धन प्राप्त गरेको हुनुपर्थ्यो। होइन भने कुनै सम्पन्न व्यक्तिसँग विवाह गर्नुपर्थ्यो। सुन्दर मुहार भए उच्च घरानाको दुलाहा पाउने सम्भावना बढ्थ्यो। एउटा छोरीको सम्भ्रान्त परिवारमा बिहे भए अरू छोरीहरूको राम्रो ठाउँमा बिहे हुने सम्भावना बढ्थ्यो। धन र वर्गको आधारमा पुरुषको तथा वर्ग, सौन्दर्य र 'चरित्र'को आधारमा महिलाको मूल्यांकन हुन्थ्यो। त्यस्तो समयमा पनि अस्टेनले आफ्ना कथाहरूमार्फत तत्कालीन पितृसत्तात्मक समाजमा महिलाबाट गरिने अपेक्षा र सामाजिक मान्यताको असंगतिलाई प्रखर रूपमा प्रस्तुत गरिन्। आफ्ना सशक्त महिला पात्रहरूलाई स्वतन्त्रता र आत्म सम्मानको वकालत गर्न लगाइन्। त्यसैले त उनका नायिकाहरू आत्मविश्वास र स्वतन्त्रताको उज्यालोले चम्किन्छन्, अझै प्रासंगिक र प्रेरणादायी छन्।

अस्टेनको अत्यधिक रुचाइएको प्राइड एन्ड प्रेजुडिसको शुरूमै थाहा हुन्छ– पाँच छोरीहरूको पिता मिस्टर बेनेटको घरजग्गा र सम्पत्तिको हकदार उनको मृत्युपश्चात् उनको टाढाको पुरुष नातेदार विलियम कोलिन्स हुनेछन्। श्रीमानलाई केही भइहाले आफू र छोरीहरू अलपत्र पर्ने चिन्ताले उनकी श्रीमती सधैँ चिन्तित छिन्। मिसेज बेनेटको सारा ध्यान छोरीहरूको लागि गतिलो र सम्पन्न केटो कहाँ खोज्ने र तिनलाई आफ्नी छोरीहरूतर्फ कसरी आकर्षित गराउने भन्नेमा केन्द्रित हुन्छ। आफ्नै पिता भूपति हुँदा पनि पितृसत्तामा आधारित कानूनका कारण ती महिला पात्रहरू सम्पत्ति उत्तराधिकारबाट वञ्चित हुनुपर्ने र बिहे नगरे घरबारविहीन हुनुपर्ने अवस्थामा छन्। कस्तो विडम्बना! 

अझ त्यो भन्दा हास्यास्पद परिस्थिति तब आउँछ, जब विलियम कोलिन्सले एलिजाबेथ बेनेटलाई विवाहको प्रस्ताव राख्छन्। बोलीचाली र व्यवहारमा असभ्य, अशिष्ट र संस्कारहीन कोलिन्सको प्रस्तावलाई एलिजाबेथले अस्वीकार गर्छिन्। आफूसँगको बिहेले एलिजाबेथको आर्थिक सुरक्षा र सामाजिक प्रतिष्ठा कायम हुने हुँदा उनी कृतज्ञ हुन्छिन् भन्ने सोच बनाएका मिस्टर कोलिन्स एलिजाबेथको अस्वीकृतिले आश्चर्यचकित हुन्छन्। पुरुष प्रधान समाजमा केही सम्पत्ति र आय आर्जनको नियमित स्रोत भएको भरमा आफूलाई श्रेष्ठ ठान्ने र पुरुष भएकै भरमा दम्भी उनले एलिजाबेथ आफूभन्दा कति सक्षम, शिक्षित, सुसंस्कृत र बौद्धिक रूपमा माथि छिन् भन्ने चेत कोलिन्समा हुँदैन।

आफ्ना पितालाई केही भए आफूहरू अलपत्र पर्ने अवस्थाको ज्ञान हुँदाहुँदै र आफ्नी आमाको निरन्तर दबाबलाई पनि अवज्ञा गर्दै मिस्टर कोलिन्सको विवाहको प्रस्ताव अस्वीकार गरेर एलिजाबेथले ठूलो हिम्मत देखाइन्। त्यस्तो युगमा पनि विवाह केवल आर्थिक सुरक्षाको माध्यम मात्र नभएर दुई व्यक्तिबीचको भावनात्मक सहयात्रा हो र त्यसमा कुनै सम्झौता गर्नु हुँदैन भन्ने मान्यतामा अडिग रहेर उनले नारीवादी चेतनाको बलियो उदाहरण प्रस्तुत गरिन्।

त्यसको ठीक विपरीत एलिजाबेथको अत्यन्त नजिककी साथी सार्लोटले तुरुन्तै मिस्टर कोलिन्ससँग बिहे गर्ने निर्णय गर्छिन्। सार्लोट पनि बुद्धिमान तर उत्तिकै व्यावहारिक। बढ्दो उमेर र साधारण रूपरंगको कारण आफ्नो विवाह हुने सम्भावना न्यून भएको चेतनावोधले गर्दा उनले मिस्टर कोलिन्सको प्रस्तावलाई स्वीकार गर्छिन्। आफूहरूबीच बौद्धिक र वैचारिक मेल छैन भन्ने थाहा भएरै पनि मिस्टर कोलिन्ससँग विवाह गर्ने सार्लोटको निर्णय सुरक्षित र सुनिश्चित भविष्यको लागि गरिएको व्यावहारिक र यथार्थवादी सम्झौता हो। बौद्धिक रूपमा कमजोर र अभद्र मिस्टर कोलिन्ससँगको यस सम्बन्धबाट सार्लोटले कुनै अपेक्षा राखेकी हुन्नन्। सार्लोटको त्यो निर्णय त्यस युगका महिलाहरूले भोग्नुपर्ने नियतिको मार्मिक उदाहरण हो।

सार्लोट र मिस्टर कोलिन्सले विवाह गर्ने निर्णय गरेपछिको दृश्यमा अस्टेन लेख्छिन्: सार्लोट स्वयम् केही हदसम्म संयमित थिइन्। उनले आफ्नो उद्देश्य हासिल गरिसकेकी थिइन् र त्यसबारे सोच्ने समय पनि पाएकी थिइन्। उनको चिन्तन सामान्यतः सन्तोषजनक थियो। मिस्टर कोलिन्स न त विवेकी थिए, न नम्र। खासमा उनको निकटता दिक्क लाग्ने खालको थियो। सार्लोटप्रतिको उनको आकर्षण सम्भवतः काल्पनिक थियो। तर पनि उनी सार्लोटका पति हुनेवाला थिए। पुरुष र विवाहप्रति खासै सम्मान र लगाव नभए पनि विवाह गर्नु सार्लोटको लक्ष्य थियो। सीमित सम्पत्ति भएकी शिक्षित युवतीहरूका लागि विवाह मात्र सुरक्षाको व्यवस्था थियो र विवाहले खुसी दिने कुरामा निश्चितता नभए पनि गरिबी र दु:खबाट बच्ने यो नै सबैभन्दा उत्तम र सामाजिक रूपमा स्वीकार्य व्यवस्था थियो। कहिल्यै सुन्दरीमा नगनिए पनि सत्ताइस वर्षको उमेरमा अब उनले त्यो सुरक्षा प्राप्त गरेकी थिइन् र यसलाई उनले आफ्नो राम्रो भाग्यका रूपमा लिइन्। 

बेनेट परिवारका छोरीहरूको आर्थिक अस्थिरता र मिस्टर कोलिन्सजस्ता अभद्र, अहंकारी र मूर्खसँगको वैवाहिक सम्बन्धलाई पनि राम्रो भाग्य ठान्नुपर्ने सार्लोटको बाध्यता पितृसत्तात्मक कानूनी व्यवस्थाले ल्याएका परिणामहरू हुन्। यस्ता बाध्यतालाई पाठकसामु पेस गरेर अस्टेनले पितृसत्ताको विडम्बना र पुरुषप्रधान सामाजिक संरचनाको वैधतामाथि गहिरो प्रहार गरिन्। बिना कुनै शाब्दिक उक्साहट, परिस्थितिको चित्रण र संवादमार्फत समाजमा व्याप्त वर्ग र लैंगिक विभेद, पितृसत्ता र रुढीवादी परम्परालाई यसरी उजागर गर्छिन् कि पाठकले ती अन्यायलाई स्वयं अनुभूति गर्न थाल्छन्—प्रश्न उठाउन थाल्छन् र परिवर्तनको आवश्यकतालाई गहिरो रूपमा महसुस गर्छन्। 

सार्लोटजस्तो सम्झौता नगरेकी, आजीवन अविवाहित रहेकी अस्टेनको हरेक उपन्यासमा विवाह दुई व्यक्तिबीच आपसी सम्मान र प्रेममा आधारित हुनुपर्ने, केवल आर्थिक सुविधा सुरक्षित गर्न मात्र  हुन नहुने अन्तर्निहित सन्देश भेटिन्छन्। उनकी भदैले उनीसँग एक पत्रमार्फत एउटा पुरुषसँगको सम्बन्ध र विवाहबारे सल्लाह माग्दा उनले पत्रैमार्फत जवाफ पठाइन् : म तिमीसँग विनम्र अनुरोध गर्छु कि यदि तिमी साँच्चै नै उनलाई धेरै मन पराउँदैनौ भने (सम्बन्धमा) अगाडि नबढ। मायाबिनाको विवाह गर्नुभन्दा जुनसुकै विकल्प बढी स्वीकार्य वा सहनयोग्य हुन्छ।

हाम्रो समाजमा अहिलेसम्म पनि अविवाहित महिलाले 'बुढी कन्या'जस्ता व्यंग्य्य सुन्नुपर्छ। आमाबुवा र परिवारको करकापकै कारण नचिनेको या मन नपरेको व्यक्तिसँग बिहे गर्नुपर्छ। परिवारको इज्जत जोगाउने नाममा पतिको हिंसा र यातना सहनुपर्छ। तर झन्डै अढाई सय वर्षअगाडि अस्टेनमा यस्तो क्रान्तिकारी सोच थियो।

सरल र सजिला छैनन् अस्टेनका कहानीका प्रेम। उनी विवाहको आधार प्रेम हुनुपर्छ भन्ने वकालत गर्छिन्, तर यस्तो प्रेम जहाँ समर्पण मात्र होइन, महिला र पुरुषबीच समान आदरभाव र समझदारी छ। उनी प्रेम र सम्बन्धमा महिला र पुरुषबीच समानता खोज्छिन्। पुरुषमा आर्थिक सम्पन्नता होइन, शिक्षा र संस्कार खोज्छिन्। उनका प्रेमकथाहरू रोमान्सभन्दा बढी वर्ग, लैंगिक असमानता, नैतिकता र स्वाभिमानजस्ता विषयमा केन्द्रित छन्। झट्टै हेर्दा समाजका परम्परागत मूल्यमान्यतालाई पछ्याएको देखिए तापनि उनका उपन्यासहरूले वास्तवमा इंग्ल्यान्डको वर्ग संरचना, पाखण्डीपन र विवाहको लेनदेनमूलक (ट्रान्ज्याक्सनल) प्रवृत्तिमाथि व्यंग्य्य गर्छन्।

प्राइड एन्ड प्रेजुडिसको नायक फिट्जविलियम डार्सी सम्भ्रान्त छन्। आकर्षक व्यक्तित्वका धनी उनी शिक्षित र सुसंस्कृत छन्। उपन्यासको सुरुमा उनमा हैसियतको अभिमान देखिन्छ। मिस्टर डार्सीको विचारमा विवाह समान हैसियत भएका व्यक्तिहरूबीच हुनुपर्छ। उनको र एलिजाबेथको पारिवारिक हैसियतबीच ठूलो खाडल छ। कुलीन र सौम्य मिस्टर डार्सीलाई एलिजाबेथको परिवार असभ्य र अशिष्ट लाग्छ। त्यसैले उनले आफ्नो अभिन्न मित्रलाई एलिजाबेथकी दिदी जेनसँग विवाह गर्नबाट निरुत्साहित गर्छन्। तर बिस्तारै एलिजाबेथको तीक्ष्ण र तर्कशील बुद्धि र स्वाभिमानबाट प्रभावित भएर उनी आफ्नै मान्यताविपरीत एलिजाबेथको प्रेममा पर्छन् र धेरै प्रयासपछि पनि उनलाई भुल्न नसके पछि हार खाएर विवाहको प्रस्ताव राख्छन्।

तर एलिजाबेथ उनको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिन्छिन्। उनको नजरमा मिस्टर डार्सी एक अभिमानी र असह्य व्यक्ति हुन्, जो उनलाई आफ्नै बराबरको रूपमा स्वीकार गर्न अक्षम छन्। अन्त्यमा उनीहरूको विवाह तब सम्भव हुन्छ, जब मिस्टर डार्सी भावनात्मक र नैतिक रूपले रूपान्तरण हुन्छन्। एलिजाबेथको बौद्धिकता र नैतिक श्रेष्ठताबाट प्रेरित भएर मिस्टर डार्सीले आफ्ना कमजोरीहरू स्विकार्न, घमन्ड त्यागेर संवेदनशील बन्न र एलिजाबेथलाई आफ्नो बराबरको रूपमा सम्मान गर्न सिक्छन् भने एलिजाबेथले पनि आफ्ना पूर्वाग्रह र पूर्व धारणा त्यागेर मिस्टर डार्सीको इमानदारिता, उदारता र भावनात्मक संवेदनशीलतालाई चिन्न थाल्छिन्। प्रेमको लागि वर्गभन्दा आपसी सम्मान र चरित्र महत्त्वपूर्ण हुन्छ भन्ने गहिरो सन्देश दिन्छिन्।

अस्टेन स्वयंले त्यस्तो जीवन बाँचिरहेकी या नजिकबाट नियाली रहेकी हुनाले अस्टेनका पात्रहरू जीवन्त छन्। उनको प्रथम प्रकाशित पुस्तक 'सेन्स एन्ड सेंसिबिलिटी' हो जुन पहिलो पटक छापिँदा लेखकको नाम थिएन बरु 'बाइ अ लेडी' (कुनै महिलाद्वारा लिखित) उल्लेख थियो।

पहिलो उपन्यासको सफलतापछि अस्टेनका अन्य उपन्यासहरू 'सेन्स एन्ड सेंसिबिलिटी'की लेखकद्वारा लिखित भनेर प्रकाशित भए। तर त्यहाँ पनि उनको नाम उल्लेख थिएन। आफ्नो जीवनकालमा उनले पुस्तकमा आफ्नो नाम छापिएको देख्न पाइनन्, तर अस्टेन स्वयंले त्यो निर्णय लिएकी थिइन्। त्यस बेलाको सामाजिक परिस्थिति र उपन्यासप्रतिको हेय दृष्टिको कारण पनि शायद उनले आफ्नो नाम खुलाउन चाहिनन्। वास्तविक जीवनमा महिलाहरूले खुलेर बोल्न नपाउने भएर होला, उनका महिला पात्रहरू वाक्पटुतामा अव्वल छन्। उनका नारी पात्रका संवादमा तीखा व्यंग्य र मार्मिक सार हुन्छन्।

उनका सबै उपन्यासहरू एउटा विशेष ऐतिहासिक कालखण्डमा र सीमित सामाजिक दायरामा आधारित छन्। उनका उपन्यासहरूको संसार साना छन्, तर उनी बितेको २०० वर्षपछि पनि यी कथा संसारको जुनसुकै देशमा अझै सान्दर्भिक छन्।

अझै पनि कुनै देशको, कुनै घरको, कुनै कोठाको, कुनै कुनामा एउटी सानी नानीले पहिलो पटक अस्टेनका कुनै पनि पुस्तकका पाना पल्टाउँदा आफूमा एलिजाबेथ, एलिनोर, एम्मा, एन र फेनी भेट्टाउनेछिन्। त्यही कुनामा उनले आफ्नो जीवनको निर्णय गर्ने स्वायत्तता आफैंमा रहेको चाल पाउँछिन्।

पत्रकार एवं लेखक कविता शेरचनको 'भूपी: छोरीको स्मृतिमा' पुस्तक प्रकाशित छ।